सिमरा ।
गत पुस ६ गतेदेखी १६ गतेसम्म सिमरामा आयोजना भएको दोस्रो सिमरा औद्योगिक ब्यापार मेला तथा खेलकुद महोत्सवबाट करीब साढे पाँच लाख रुपैयाँ बचत भएको आयोजकले जनाएको छ ।
मेला आयोजना गरेको सिमरा फाउण्डेसनले आज सिमरामा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै मेला आयोजक सिमरा फाउण्डेशनका अध्यक्ष आरिफ हुसेनले कुल पाँच लाख ४८ हजार रुपयाँ बचत भएको जानकारी दिए ।
औद्योगिक शान्ति नेपालको सहकार्यमा सम्पन्न भएको मेलामा सो संस्थालाई स्थान उपलब्ध गराए वापत पाएको ८ लाख, टिकट बिक्री बापतको ६० हजार र बिभिन्न सहयोगी दाताहरुबाट संकलित ९८ हजार रुपयाँ गरी कुल ९ लाख ५८ हजार रुपयाँ आम्दानी भएको र सो रकमबाट मेला ब्यवस्थापन सम्बन्धी बिभिन्न शिर्षकमा गरी कुल ३ लाख ८५ हजार रुपयाँ खर्च भएको हुसेनले बताए ।
त्यसैगरी गत चैत १७ गते बारा पर्सामा आएको बिनासकारी हुरीबाट प्रभाबितलाई सहयोगार्थ सोहि बचत रकमध्ये २५ हजार रुपयाँ सिमरा फाउण्डेसनले खर्च गरेको आयोजक समितीका महासचिब त्रिलोक साह ठकुरीले बताए ।
फाउण्डेसनको अगुवाईमा सो २५ हजारसहित सिमरा क्षेत्रबाट संकलन गरिएको करिब २ लाख रुपयाँ हुरी पिडितलाई सहयोग गरिएको उनले जानकारी दिए ।
त्यसबाहेक मेलाका लागी स्थानिय बिभिन्न दाताहरुको कबोल गरेको चार लाख १५ हजार रुपयाँ उठ्न बाँकी रहेको पनी पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
मेलाबाट बचत रहेको रकम सामाजिक कार्यमा खर्चिने आयोजकले जनाएको छ । यसैबिच मेलाबाट बचत रकम सिमरामा रहेको एक मात्र सामुदायिक कलेज सिमरा कलेजको स्तर उन्नतीका लागी रकम हस्तान्तरण गर्न वडा नम्बर २ का वडा अध्यक्ष तिलक श्रेष्ठले आग्रह गरेका छन् ।
यता आयोजकले भने सो रकम कहाँ खर्च गर्ने भन्ने बिषयमा आयोजक बिच छलफग गरी छिट्टै सार्वजनिक गरिने जानकारी दिएको छ ।
Write your Comment