काठमाडौं ।
नेपालको राजनीतिमा गंगालाल श्रेष्ठ र उनका माइला भाइ पुष्पलाल श्रेष्ठको ठूलो भूमिका छ । राणा शासनविरुद्धको अभियानका क्रममा तत्कालिन राणा शासकले हत्या गरेका मध्येका एक शहीद गंगालाल हुन् भने उनका माइला भाइ पुष्पलालले नेपालमा कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए ।
उनै पुष्पलाललाई आदर्शमान्ने कम्युनिष्ट पार्टीहरुले यतिबेला देशको शासन सत्ता चलाई रहेका छन् । विसं १९७५ सालमा रामेछापको भंगेरिमा जन्मिएका गंगालाल र पुष्पलालमा राजनीतिक चेत थियो जसले गर्दा देशको परिवर्तनको लागि उनीहरुले महत्त्वपूर्ण योगदान दिए ।
000
गंगालाल राजनीतिमा सक्रिय भएपनि उनका छोरा शशिलाल श्रेष्ठ प्रत्यक्षरुपमा राजनीतिमा संलग्न भएनन् । चिनियाँ भाषाको अनुवादकका रुपमा सक्रिय शशिलालको एक महिना अघि प्यारालाइसि पछि ब्रेन ह्यामरेज भएर निधन भएको छ ।
नेपाली राजनीतिमा परिवारका सदस्य वा पिता पूर्खाले गरेको राजनीति र खेलेको भूमिका कारण शक्तिशाली पदमा पुग्ने सन्तानको संख्या उल्लेख्य नै छ । तर देश परिवर्तनका लागि लागेका गंगालाल–पुष्पलाल परिवारका सदस्यले भने त्यो पदचापलाई पछ्याएका छैनन् ।
गंगालालका छोरा शशिलाल राजनीतिमा लागेनन् । शशिलालका छोराछोरीपनि राजनीति भन्दा टाढै छन् ।
गंगालालकी नातिनी(शशिलाल) कि छोरी पावना श्रेष्ठ यतिवेला एतिहाद एयरवेजको कन्ट्रि म्यानेजर पदमा कार्यरत छिन् । तीन दशको उमेरमा हिँडिरेहकी पावना युवा उमेरमै महत्वपूर्ण जिम्मेवारी सम्हाल्न सफल भएकी हुन् । युवा पुस्ताबाट महत्वपूर्ण भूमिकामा रहेकी एक जना प्रतिनिधि, राजनीतिक घरानाकी सदस्य पावनासँग हामीले पारिवारिक पृष्ठभूमि, उनले सम्हालिरहेको जिम्मेवारी, देशको परिस्थितिबारे युवा पुस्तोको सोचलगायतका विषयमा कुराकानी गरेका थियौं । आधुनिक पुस्ताकी प्रतिनिधि भएर होला सायद् उनको लवजमा अंग्रेजी भाषाको ठूलो प्रभाव थियो ।
शुरुमा हामीले पावनालाई उनको परिवार बारे प्रश्न राख्यौं । परिवारको संख्या र काम बारे पावनाले यसरी व्याख्या गरिन् ।
मेरो बुवाको नाम शशिलाल हो । उहाँ शहीद गंगालालको छोरा हुनुहुन्छ । पुष्पलाल मेरो बुवाको काका हुनुहुन्छ । मेरो बुवाको एकमहिना अघि निधन भएको हो । उहाँ प्यारालाइसिस पछि ब्रेन ह्यामरेज भएर वित्नुभएको हो ।
आमा सिनियर नर्स भएका कारण प्यारालाइसिस भएपछि आमाले नै बुवाको हेरचाह घरमा नै गर्नु भएको थियो । आमालाई पनि डाइवेटिज छ । तर उहाँ ठिक हुनुहुन्छ । मेरो एक जना भाइ हो उ अहिले आफ्नै काममा लागेको छ, पहिला उ पनि एयरलाइन्समा काम गर्थ्यो । दिदी चाहिँ कम्प्युटर डेटा साइन्टिस हो । अध्ययनका लागि दिदी अमेरिका जानुभएको थियो । विवाहपछि उहाँपनि अहिले नेपाल आउनुभएको छ । अहिले यतै बस्नुहुन्छ ।
जे खाएपनि जे लगाएपनि सामाजिक सञ्जालमा राख्नुपर्ने जस्तो खालको ट्रेनलाई कन्ट्रोल गर्नुपर्छ । युवाले अनप्रोडक्टिभ काममा समय विताइ रहेका छन् । त्यसैले अब प्रोडक्टिभ काममा लाग्नुपर्छ
त्यसपछि हामीले पावनासँग राजनीतिबारे कुरा गर्यौं । राजनीतिमा सक्रिय नभएपनि राजनीतिक चेतना भने उनसँगको कुराकानीमा प्रस्ट देखिन्थ्यो । नेपाली राजनीतिमा परिवारवाद हावी देखिन्छ । तर गंगालाल–पुष्पलालका परिवारका सदस्यहरु भने राजनीतिमा सक्रिय छैनन् ।
तपाईहरुलाई राजनीतिमा लाग्नपर्यो भने सहज पनि छ, परिवारको नामका कारण सहज छ, यसबारे कहिलेकाहिँ परिवारमा छलफल हुने गरेको छ ? भनेर हामीले प्रश्न गर्दा पावनाले हाँस्दै जवाफ दिइन्–राजनीतिका बारेमा बेलाबेलामा परिवारमा कुरा हुन्छ । कहिलेकाही हामी पनि राजनीतिमा आउनुपर्छ कि के हो भन्ने कुरा हुन्छ । तर त्यसरी लाग्ने कुरा छैन । हामीले राजनीतिमा देश बनाउने भन्दा पनि आफ्नो आफ्नो क्षेत्रबाट नै देशको विकासमा सपोर्ट गर्ने हो । त्यो हाम्रो परिवारले आ–आफ्नो ठाउँबाट गरिरहेको छ ।
किन राजनीतिमा लाग्न मन लागेन ?
राजनीतिक चेतना सबैमा हुनुपर्छ । सचेत नागरिकका हिसावमा राजनीतिक चेतना हुनुपर्छ । तर सवै जना लाग्नुपर्छ भन्ने होइन । के कस्तो पेशा व्यवसायमा लाग्ने भन्ने व्यक्तिगत चाहना हो । देशको लागि केही गर्नुपर्छ भन्ने भावना छ । तर राजनीतिमा नलागेर पनि आफू जुन क्षेत्रमा भइन्छ त्यसबाट पनि त हामीले योगदान गरिरहेको हुन्छ नि ! सरकारलाई गर्नुपर्ने सहयोग गरिरहेका हुन्छौं । चुनावमा भाग लिएर भोट गरेर पनि त सहयोग गरेका हुन्छौं । युवाले आफ्नो सक्रियता आधुनिक रुपमा प्रयोग गरिरहेका हुन्छन् । उनीहरुले आफ्नो विचार भावनालाई सामाजिक सञ्जालहरुको माध्यमबाट राखिरहेको हुन्छ । युथहरुले सरकारलाई वाच गरिरहेको हुन्छ ।
म पनि पेशासँगै सामाजिक कार्यमा सक्रिय छु । हामीले महिला स्वास्थ्य लगायतमा काम गर्नका लागि एउटा संस्था पनि बनाएका छौं । कतैबाट सहयोग ल्याएर भन्दा पनि हामीहरु आफैंले केही उठाएर काम गरिरहेका छौं । सानो मात्रामा भएपनि हामीले महिलाको स्वास्थ्य, महिला शिक्षा लगायका काम गरिरहेका छौं ।
त्यसपछि हामीले पावनसँग वर्तमान सरकारबारे धारण बुझ्ने प्रयास गर्यौं । अहिले दुई तिहाइको सरकार रहेको छ, स्थिर सरकार बनेको छ यसबाट केही परिवर्तन भएको छ भन्ने लाग्छ तपाईलाई ?
मैले बुझेसम्म अहिलेको सरकारको मुख्य लक्ष्य भनेको विकास हो । नेपाल विकसित देशमा गनियोस् भन्ने सरकारले लक्ष्य लिएको छ यो राम्रो हो । त्यहि अनुसारका प्रोजेक्ट पनि सरकारबाट आइरहेका छन् ।
जे सुकै भएपनि सरकार देशमा ‘स्टेबल’ हुनुपर्छ । सरकार जनताप्रति उत्तरदायी र जवाफदेही हुन जरुरी छ । राजनीति गर्नेहरु देश र जनताप्रति ‘ रेस्पोन्सिबल र एकाउन्टेबल’ भएन भने पदमा बस्नुको कुनै अर्थ छैन ।
तपाईले सकारात्मक सोच्नु भयो भने कामहरु पनि सकारात्मक दिशा तिर अघि बढ्छ । केही पनि छैन भन्दै नकारात्मक सोच्दा सम्भावना पनि नकारात्मक हुन्छन् । ओपन र पोजेटिभ सोच्नुपर्छ
नेपालमा पद ओगट्ने प्रवृत्ति छ । नेपालमा कर्मचारीतन्त्र र राजनीतिमा पद ओगट्ने प्रवृत्ति छ जुन गलत हो । उनीहरुलाई तालिम दिन पर्ने हो कि के हो चाहिँ मलाई थाहा भएन तर यो प्रवृत्ति हटाउनु पर्छ । उनीहरुको सोचाइ कस्तो हुने गरेको पाएको छु भने, म यो पदमा छु त्यसकारण मलाई सबैले आदर गरुन् वा मानुन् भन्ने राजनीति गर्ने र व्यूरोक्रायटहरुले सोच्छन् ।
पद त आज छ भोलि छैन भन्ने उनीहरुले बुझ्न खोज्दैनन् । पद भन्दा पनि देशको लागि के योगदान गरेको छ भन्ने महत्वपूर्ण हो । जसरी कुलमान घिसिङलाई पदका कारण भन्दा पनि उनको कामका कारण मानिसहरुले मानिरहेका छन् । भन्नुको मतलव पोजिशन(पद)मा भएर राम्रो काम गर्यो भने सबैले मान्छन् ।
अहिलेको युवाले चाँहि नेता र नेतृत्वबाट केही राम्रो काम अपेक्षा गरेका छन्, जसका कारण उनीहरु स्वयं नै नेताहरुलाई पछ्याउन सक्छन् । जबरजस्ती हामीलाई भोट देउ वा पछि लाग भन्नु पर्दैन । नेपाली राजनीतिमा क्वान्टिटी भयो र क्वालिटी भएन, त्यसलाई नेताहरुले सुधार गर्नुपर्छ ।
सरकारको काम कारवाही हेर्दा कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
यसो हेर्दा प्रगति नकारात्मक बाटोमा गएको छ भन्न मिल्दैन । चुनौतीहरु पनि हुन्छ कतिपय अवस्थामा । प्रतिपक्षी पनि छन् । अझ राम्रो कामका लागि सरकार खट्नुपर्ने देखिन्छ । काममा ढिलासुस्त गर्न भएन । मानिसहरुको चुनावअघि गरेको अपेक्षा अनुसार काम भएको छैन तर पनि नकारात्मक बाटोमा भने गएको छैन ।
केहीबेरको पारिवारिक र राजनीतिक कुराकानीपछि हामीले पावनासँग व्यवसायीक र पर्यटनका विषयमा कुरा गर्यौं । तीन दशकको उमेरमै पावनाले पाएको महत्वपूर्ण भूमिका बारे हामीले प्रश्न राख्यौं त्यसका लागि पावना इत्थेहादको कन्ट्रि मेनेजरको अवस्थासम्म आइपुग्नु अघि उड्डयन क्षेत्रमा प्रवेशबारे हामीले प्रश्न गर्यौं । जसलाई पावनाले यसरी सुनाइन्–मलाई पहिलादेखि नै पर्यटनमा रुची थियो । एसएसलसी सकिएपछिको खाली समयमा शिक्षण पेशामा लागे । त्यस क्रममा भाउजुले गल्फ एयरको कस्टमर सर्भिसमा खाली रहेको र रुची भए आवेदन दिन सुझाव दिनुभयो । आवेदन दिएँ । उहाँले नै मलाई अभिप्रेरित गर्नु भएको थियो । उहाँ अहिले ओमान एयरको स्टेशन म्यानेजर हुनुहुन्छ ।
उहाँको माध्यमबाट म उड्डयन क्षेत्रमा आए । रुची पनि थियो अनि त्यसमा वातावरण पनि बन्यो । कस्टमर सर्भिसमा बढी फोकस भएँ । पढाइ र करियरलाई अघि बढाउँदै लगे ।
हिन्दू कल्चर सबै धर्मको ओरिजिन हो । तर यसलाई मानिसले आफू अनुकुल व्याख्या गरे । त्यसमा अल्झिए । लिमिटेशन धेरै भयो, त्यसमा अल्झिनु भन्दा अगाडि बढ्न जरुरी थियो र छ
शिक्षा र पेशा मेल खाने प्रकृतिको थियो त ?
मेल त खाइहाल्छ शिक्षाले । व्यवस्थापन संकाय अध्ययन गरेको कारण सहयोगी भयो । अर्थशास्त्र, वाणिज्य सबै हुने भएका कारण सम्बन्धित बन्न गयो ।
त्यसपछि हामीले नेपाली समाजका बारेमा कुरा गर्यौं । पूर्वीय समाजमा महिलाले रोजगारी गर्ने, खुला खालको व्यहार गर्ने विषयलाई त्यति सहज रुपमा हेर्ने गरिएको छैन, त्यसले केही समस्या ल्याएको अनुभव गर्नुभएको छ भनेर हामीले प्रश्न गर्यौं ।
उनको जवाफ यस्तो थियो–पूर्वीय समाज पश्चिमको भन्दा फरक छ । महिलालाई हेर्न दृष्टिकोण फरक छ । तर मैले त्यो महसुस गरिन् । त्यस्तो भएको भए सायद यो पेशामा म हुँदैन थिएँ । म काममा नै फोकस थिएँ त्यसैले पनि यसबारे मैले खासै अनुभव गरिन ।
अहिले नेपाली समाजमा पनि परिवर्तन आएको छ । पश्चिमको प्रभावले कतिपयले नेपाली संस्कार, संस्कृति विर्सदै गएको जस्तो लागेको छैन तपाईंलाई ?
मलाई कस्तो लाग्छ भने परम्परा, संस्कार संस्कृतिलाई पनि साथसाथै लानुपर्छ । त्यो जीवनको एउटा पक्ष हो । तर आधुनिकतालाई पनि सोच्नुपर्छ । आधुनिक समयमा सामाजिक सञ्जाललगायत र विश्वपरिवेशलाई पनि पछ्याउनु पर्छ । आधुनिक भए भन्दैमा मौलिकतालाई विर्सनु हुँदैन । आफ्नो ओरिजिन विर्सनु हुन्न । मोर्डन पनि हुनुपर्छ तर आफ्नो संस्कार संस्कृति विर्सन हुन्न ।
हिन्दू कल्चर सबै धर्मको ओरिजिन हो । तर यसलाई मानिसले आफू अनुकुल व्याख्या गरे । त्यसमा अल्झिए । लिमिटेशन धेरै भयो, त्यसमा अल्झिनु भन्दा अगाडि बढ्न जरुरी थियो र छ । कल्चरलाई अंगालेर नयाँ सोचमा जानुभयो भने समस्या आउँदैन ।
उड्डयन क्षेत्रका बारेमा कुराकानी गरेपछि हामीले नेपालको पर्यटन क्षेत्रका बारेमा केहीबेर मन्थन गर्यौं । सरकारले ट्वान्टी/ट्वान्टीमा पर्यटक धेरै ल्याउने कल्पना गरेको छ । वार्षिक ११ लाखको सालाखाला अहिले पर्यटक आगामन छ तर सरकारले झण्डै दोव्वर बनाउने लक्ष्य राखेको छ, सम्भावना कत्तिको देख्नु हुन्छ ? भन्ने प्रश्नमा उनले पर्यटकको संख्या बृद्धि गर्ने सम्भावना रहेको बताइन् । उनले भनिन्–ह्युज पोटेन्सियल छ । नेपालको जस्तो प्राकृतिक वातावरण कतै पनि छैन । वातावरणका हिसावमा विश्वको अन्य देशमा छैन ।
इन्फास्टक्टरले मात्र पर्यटक ल्याउने भन्ने हुँदैन । हामीका भएको प्रकृति र स्वच्छता कायम गर्न सकियो भने पर्यटक आगमन बढाउन सकिन्छ ।
पूर्वाधारबाहेकाका हामीसँग भएका स्रोतहरुलाई मार्केटिङ क्याम्पेनिङ गर्नुपर्छ । जाने क्षेत्रहरुलाई थप गर्नुपर्छ । मानिसहरुको रुचीलाई हेरेर विस्तार गर्नुपर्छ । युवापुस्ताको रुचीलाई हेरेर त्यस अनुसार विस्तार गर्न सकियो भने पर्यटक बढ्न सक्छन् ।
अहिले सरकार स्थिर छ । र टुरिजिमलाई महत्व पनि दिएको छ । यस अर्थमा पनि केही अपेक्षा गर्न सकिन्छ । हवाइ क्षेत्रका भएका कारण हाम्रो कन्सर्न विमानस्थलमा छ । एउटा मात्र अन्तर्राष्ट्रिय स्तरको विमानस्थल छ, निजगढको कुरा छ त्यसलाई पनि लग्न सकिन्छ । त्यो त दिर्घकालिन कुरा भयो अब कार्यक्रम घोषणा भइसकेपछि त अहिले भएकालाई कसरी प्रयोग गर्ने भन्ने महत्वपूर्ण हुन्छ । सबै क्षेत्रबीच समन्वय भयो भने यो सम्भव छ । टुरिजिमका स्टेकहोल्डरबीच छलफल भयो भने राम्रो हुन्छ ।
त्यसपछि उनीसँग उनको आगामी योजना बारे प्रश्न राख्यौं । उनले जीवनलाई कसरी सोच्छिन् भन्ने हामीले चासो राख्यौं । उनले भनिन्–
जे कुरा पनि सोचमा नै भर पर्छ । तपाईले सकारात्मक सोच्नु भयो भने तपाईले गर्ने कामहरु पनि सकारात्मक दिशा तिर अघि बढ्छ । केही पनि छैन भन्दै नकारात्मक रुपमा सोच्नु भयो भने सम्भावनाहरुलाई पनि नकारात्मक रुपमा लिनुहुन्छ । ओपन र पोजेटिभ सोच्नुपर्छ । सधै खुसी हुनुपर्छ । सबैलाई सपोर्ट गर्ने व्यवहार गर्नु भयो भने तपाई सुखी हुनुहुन्छ । एक दिन त मर्नै छ, तर अरुका लागि केही गर्न सकियो भने राम्रो हुन्छ ।
युवा पुस्तालाई केही सन्देश छ ?
समय निकै महत्वपूर्ण छ । युवापुस्तामा सामाजिक नेटवर्किङ साइटमा गएर मात्र समय व्यतित गर्ने प्रवृत्ति बढेको छ । त्यसलाई सदुपयोग गर्न आवश्यक छ ।
जे खाएपनि जे लगाएपनि सामाजिक सञ्जालमा राख्नुपर्ने जस्तो खालको ट्रेनलाई कन्ट्रोल गरेर अघि बढ्नुपर्छ । अनप्रोडक्टिभ काममा युवाले समय विताइ रहेका छन् । त्यसैले प्रोडक्टिभ काममा आफ्नो समय विताउनु पर्छ । अहिले प्रतिस्पर्धाको बेला छ त्यसैले अरुसँगैको प्रतिस्पर्धामा आफूलाई कसरी राम्रो बनाउने भन्ने तर्फ लाग्नु आवश्यक छ । आफूले आफ्नो लक्ष्य निर्धारण गरेर त्यस तर्फ लाग्न जरुरी छ ।
अरुले के भन्छ भन्दै नकारात्मक विचार तर्फ लाग्नु भन्दा आफूले के गर्ने भनेर निर्धारण गरेर त्यसको प्राप्तिको लाागि लाग्नुपर्छ । सकारात्मक सोचका साथ अघि बढ्दै गयो भने सबै कुरा मिल्दै आउँछ र नकारात्मक विषयलाई पनि सकारात्मक रुपमा सोच्ने बानीको विकास हुन्छ ।
-khabarhub
Write your Comment