फोहोर किन्ने ‘डोको’

रातोघर

 १५ बैशाख २०७६, आईतवार १०:०४  मा प्रकाशित
१८६ पाठक संख्या



प्लास्टिका सामान, डब्बाहरू, शिशाका बोतल, कामै नलाग्ने दराज, कुर्सी। पुराना कापीकिताब, बिग्रिएका टिभी, फ्रिज, कम्प्युटर लगायत विद्युतीय सामान।

हाम्रो घरमा त्यस्ता सामान भए के गर्छौं? फुत्त फोहोर लिन आउने गाडीमा फ्याँकिदिन्छौं, वा कतै खुला ठाउँ भेटे त्यतै मिल्काइदिन्छौं। काम नलाग्ने भएका सामान ‘पुनः प्रयोग’ गर्ने भन्ने हत्तपत्त हाम्रो व्यवहारमा आउँदैन।

सानोठिमीस्थित ‘डोको रिसाइक्लर्स’ ले भने हामीले फ्याँक्ने अधिकांश सामान पुनः प्रयोग गर्दै र गर्न मिल्ने बताउँदै आएको छ।

पुनः प्रयोग दुई तरिकाबाट गर्न सकिन्छ- सामान जस्ताको तस्तै अर्को कुनै काममा प्रयोग गर्ने। र, सामानलाई अर्कै स्वरूपमा ढालेर नौलो रूपमा प्रयोग गर्ने।

एउटा भनाइ छ– पुनः प्रयोगले एउटा कुरालाई अर्कै बनाइदिन्छ। र, यो काम ‘जादु’भन्दा कम होइन।

दुवै किसिमका पुनः प्रयोगको जादु ‘डोको’ ले गर्दै आएको छ। हामी सानोठिमीस्थित डोकोको ‘रिसाइकल’ कारखाना पुग्दा त्यस्तै जादु देखियो। पुराना सामानलाई जस्ताको तस्तै नौलो रूप दिएर होस् वा काटकुट पारेर, सिँगारेर, रंगाएर नयाँ सामान बनाएर, डोकोले ती सामान फेरि प्रयोग गर्न मिल्ने बनाउँदै आएको छ।

यसकै उदाहरण हो, वाइन बोतलबाट बनेका ल्याम्प र गिलास।

एउटा आकर्षक काठको आकृतिमा अड्याइएर राखिएको बोतलभित्र स-साना चीम छन्। प्लगमा जोडेपछि झिलीमिली बल्छ।

त्यस्तै वाइन बोतल काटेर तलको भागलाई सुन्दर गिलासको स्वरूप दिइएको छ।

डोकोले विभिन्न सामानको प्रकृतिअनुसार तिनलाई पुनः प्रयोग गर्दै आएको कम्पनीका बिजनेस डेभलपमेन्ट एसोसिएट अर्पन आचार्यले बताए।

अपर्नका अनुसार यी ‘अपसाइकल’ गरिएका सामान हुन्। डोकोमा विभिन्न सामानहरू हेर्ने विभिन्न टोली छन्। यिनैमध्ये ‘तत्व’ नामक टोलीले यी बत्तीहरू बनाएका हुन्। यो टोलीले ग्यासजन्य र रिसाइकल र ‘रिबोटलिङ’ गर्न नसकिने फोहोर काटकुट पारेर अर्कै सामान बनाउँछ।

‘हामीसँग विभिन्न ब्रान्डका बोतल छन्। यिनलाई रिसाइकल गरेर सकिँदैन। त्यस्ता सामानबाट हामी सजावटका विभिन्न सामान बनाउछौं। यो त्यसैको उदाहरण हो,’ आकर्षक टेबल ल्याम्पहरू देखाउँदै अर्पनले भने, ‘हाम्रोमा विभिन्न शैक्षिक संस्थाबाट विद्यार्थी अध्ययनका लागि पनि आउँछन्। उनीहरूलाई नै लक्षित गरेर यो बनाएको हौं।’

डोकोले उपत्यकामा अनलाइनमार्फत् फोहोर किन्दै आएको छ। घरै बसेर काम नलाग्ने सामानबाट फाइदा लिन सकियोस् भनेर यो सुविधा राखिएको अर्पनले बताए।

‘वास्तवमा फोहोर भन्ने चिज नै हुँदैन। फोहोर त हाम्रो मानसिकतामा छ। जसलाई हामी फोहोर भनिरहेका छौं, त्यो त मूल्यवान वस्तु बन्न पर्खिरहेको छ,’ अर्पनले भने, ‘हामी यस्ता वस्तुलाई मूल्यहिन मानेर फाल्छौं। तर व्यवस्थापन गर्न सकियो भने राम्रो आम्दानीको स्रोत हो।’

यो काम सार्थक बनाउन तीन साथीहरू कुशल हर्जानी, राघवेन्द्र महतो र रुनित सरियाको मुख्य भूमिका रहेको अर्पनले जानकारी दिए। अर्पनका अनुसार तीन भिन्न देशमा पढेका उनीहरूको सोच समान थियो– सहरको फोहोर कम गराउनु।

सुरुमा उनीहरूले फोहोर व्यवस्थापनको एउटा खाका तयार गरे। अनि हाम्रो मौलिक सामग्री ‘डोको’ लाई कम्पनीको नाम दिए।

डोको फोहोर उठाएर लैजाने मात्र होइन, एक ‘रिसाइकल’ कम्पनी हो।

अर्पनका अनुसार डोकोले मुख्यतया किनेका सामान मुख्यतया पाँच भागमा वर्गीकरण गर्छ।

कागज अन्तर्गत पत्रिका, किताबकापी, अण्डा राख्ने कागजको क्रेट, कागजका झोला, ट्वाइलेट पेपरभित्रको गोलो कागज, जुत्ता र अन्य कार्टुन, मञ्जनको खोल, बिहे-ब्रतबन्धका कार्ड, लगायत पर्छन्।

प्लास्टिकका सामानमा पानीका जार, चिसोका बोतल, फेसवास, क्रिम र स्याम्पुका डब्बा, पोलिथिन झोला, बाल्टिन, कुर्सी, ग्यासको रेगुलेटरदेखि दूधका प्याकेटसम्म पर्छन्।

त्यस्तै, धातुमा आलुमिनियमका सामान, फलाम, पेय तथा खाद्य पदार्थका क्यान, स्टिलका भाँडा, रडदेखि बडी स्प्रेका बट्टासम्म पर्छन्।

तेल, बियर र अन्य मदिराका बोतल, जाम तथा अचारका डब्बासँगै विद्युतीय सामग्री उनीहरूले किन्छन्। ‘इ-वेस्ट’ अन्तर्गत कम्प्युटर, प्रिन्टर, टिभी, मोबाइलदेखि तार लगायत खत्र्याकखुत्रुक विद्युतीय सामान सबै पर्छन्।

डोकोले घर, होटल, कार्यालय, कलकारखाना लगायत ठाउँबाट निस्कने फोहोर किन्छ। १५ किलोभन्दा माथि भए घरैमा गाडी लिएर पुग्ने अर्पनले जानकारी दिए।

‘यस्ता फोहोर हामी घरै गएर किन्छौं। पैसा पनि दिन्छौं,’ अर्पनले भने, ‘घरै बसेर फोहर मोहोर बनेको अनुभव पाउनुहुनेछ। कुन फोहोरबाट कति पैसा पाइन्छ भन्ने पनि डोकोकै वेबसाइटमा राखिएको छ।’

वेबसाइटबाटै आफ्नो ठेगाना दिएर डोकोको गाडी मगाउन सकिन्छ। मोबाइल एप्स पनि छ। त्यसबाट कारोबार सहज हुने अर्पन बताउँछन्। उनका अनुसार डोकोसँग अहिले ९५ वटा व्यवसायिक ग्राहक छन्। यसमा एनजिओ, आइएनजिओ, होटल, दूतावास, स्कुल, कलेज लगायत पर्छन्।त्योबाहेक २ हजार घरधुरीसँग सहकार्यमा काम गरिरहेको छ।

यसरी संकलन गरिएका सामानहरू डोको कार्यालयका र्‍याकभरि राखिएका छन्। र्‍याकमा पेपर, प्लास्टिक, मेटल, इ-वेस्ट, ग्लास लगायत स्टिकर टाँसिएको छ।

एउटा र्‍याकमा टनाटन पुराना किताब छन्। हेर्दा कुनै पुस्तकालय जस्तो देखिने। केही विज्ञान, केही व्यवसाय त केही उपन्यासका किताब।

यी किताब के गरिन्छन् भन्ने हाम्रो जिज्ञासा मेटाउँदै अर्पनले भने, ‘हामी सकेसम्म काम लाग्ने अवस्थाका किताब सेकेन्ड ह्यान्डमा बेच्ने प्रयास गर्छौं। कामै नलाग्नेहरू भने रिसाइकल हुन्छन्।’

डोको कार्यालयकै बगैंचामा शिशाका बोतलहरू पनि सजाएर राखेको देख्न सकिन्छ।

अर्पनलाई पछ्याउँदै हामी विद्युतीय सामान (इ–वेस्ट) को काम भइरहेको ठाउँ पुग्यौं। त्यहाँ विद्युतीय सामानका पाटपूर्जा छुट्याउनेदेखि जोड्नेसम्मको काम हुने उनले बताए।

‘यस्ता विद्युतीय फोहोर सुरुमा प्रयोगशालामा लगेर परीक्षण गरिन्छ। सामान बनाएर प्रयोग गर्न मिल्ने भए प्रयोगमा ल्याइन्छ। नमिल्ने भए पूरै खोलेर त्यसको प्लास्टिकलाई प्लास्टिकमै, शिशालाई शिशामै र चिप्सलाई चिप्समै अलग्याएर राखिन्छ,’ उनले भने, ‘यो काम गर्न इन्जिनियर र दुई सहयोगी राखिएको छ।’

त्यहाँबाट बाहिरिँदै गर्दा उनले हामीलाई चउरमा राखिएका तेलका डब्बामा केन्द्रित गरे।

अर्पनका अनुसार सबभन्दा धेरै खेर जाने सामग्रीमा तेल पर्छ। प्रयोग भइसकेको तेलले स्वास्थ्यमा हानी गर्ने चिकित्सकहरू बताउँछन्। पुनः प्रयोग गर्न नमिल्ने हुँदा होटल तथा रेष्टुरेन्टहरूले फाल्ने गरेको उनले बताए।

‘एकपटक प्रयोग भइसकेको तेल धेरैले फालेको हामीले पायौं। तर यसलाई पनि पुनः प्रयोग गर्न मिल्ने बनाउन सकिने रहेछ। अध्ययन गर्दा तेलबाट साबुन बनाउन मिल्ने थाहा पायौं। यसैले तेललाई हामी रिसाइकलका लागि पठाउछौं,’ उनले भने, ‘घरमा त्यस्तो तेल छ भने हामीलाई बेच्न सक्नुहुनेछ।’

अर्पनका अनुसार डोकोमार्फत हामीलाई काम नलाग्ने ९० प्रतिशत वस्तु उचित व्यवस्थापन गर्न सकिन्छ। राजधानीलाई फोहोरबाट जोगाउने विकल्प डोको भएको उनको दाबी छ।

पुनः प्रयोग गर्न नसकिने कुहिने वस्तुलाई कम्पोस्ट मल बनाउन अर्पन सुझाउँछन्। यसका लागि डोकोले कम्पोस्ट मल बनाउने भाँडोसमेत उपभोक्तालाई उपलब्ध गराउँछ।

डोकोले फोहोर संकलन अभियानसमेत गरेको छ। अभियानमार्फत फोहोर फ्याँकिने करिब ३ लाख ५९ हजार क्यूफिट क्षेत्र बचत भएको उनको भनाइ छ। त्यसैगरी, कापीकिताब रिसाइकल गरेर करिब १ हजार ८ सय रुख जोगिएको, २ लाख ३२ हजार लिटर तेल, ३१ लाख लिटर पानी, ३१ लाख किलोवाट बिजुली बचत भएको उनको दावी छ।

यो तथ्यांक डोकोले संकलन गरेको कच्चा पदार्थको हिसाब गरेर ‘रिसाइक्लिङ कन्भर्टर फर्मूला’ बाट निकालिएको अर्पनले बताए।

योबाहेक डोकोले फोहोर व्यवस्थापन गर्न जनचेतनाका विभिन्न कार्यक्रम गर्दै आएको छ। फोहोर किन छुट्याउने? कसरी छुट्याउने? यसका फाइदा के–के छन्? कसरी आम्दानी गर्न सकिन्छ? लगायत कुरा अझै पनि धेरै मान्छेलाई थाहा नभएकाले चेतनामूलक काम गर्दै आएको उनले बताए। फोहोर छुट्याएर पुनः प्रयोग गर्नुपर्छ भन्ने व्यवहारिक ज्ञान नभएका कारण काठमाडौंमा जथाभावी फोहोर बढेको अर्पनको ठहर छ।

-setopati

Write your Comment