धनुषा ।
प्रदेश नं २ सरकार गठन भएदेखि कर्मचारी अभावमा कामकाज प्रभावित भइरहेको बताउँदै आइरहेको अवस्थामा अहिले प्रदेश नं २ मा समायोजन भएर आएका कर्मचारीको एक महिना बित्न लाग्दासमेत पदस्थापन हुन सकेको छैन ।
प्रदेश सरकारले पदस्थापन गर्न नसक्दा विगत एक महिनादेखि सयौं कर्मचारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै हाजिर गरी तलब पकाइरहेका छन् । सामान्य प्रशासन मन्त्रालयबाट प्रदेश नं २ मा पदस्थापनको लागि दुई हजार ४२२ कर्मचारी नामावलीसहितको पत्र मुख्यमन्त्री कार्यालयमा चैत महीनाको मध्यतिर पठाइसकेको छ । जसमध्ये हालसम्म लेखाअधिकृत, शाखा अधिकृत, सहलेखापाल जस्ता कर्मचारीलाई मात्रै पदस्थापन भएको छ ।
नायब सुब्बा, सहायक वन अधिकृत, खरिदार, प्राविधक तर्फको कर्मचारी, कम्प्युटर अपरेटर, सहायक कम्प्युटर अपरेटर, कार्यालय सहयोगी जस्ता सयौं कर्मचारीको पदस्थापन भएको छैन । जसका कारण ती कर्मचारी अहिले मुख्यमन्त्री कार्यालयमै हाजिर गरेर कामै नगरी तलब खाइरहेका छन् ।
मुख्यमन्त्री कार्यालयमै हाजिरी गर्न आएका एक कर्मचारीले भने, ‘हामीलाई कतै पदस्थापन नगरेसम्म त यसरी नै मुख्यमन्त्री कार्यालयमा आएर हाजिर गरी तलब खाने हो । यो हाम्रो रहर होइन । प्रदेश सरकारले चाँडै पदस्थापन गरोस् । हामी काममा खट्छौं ।’
अन्य सबै प्रदेशमा कर्मचारी पदस्थापनको काम दुई साताअघि नै भइसकेको छ । प्रदेश नं २ मा कर्मचारी पदस्थापन नहुँदा विभिन्न कार्यालयमा कर्मचारी अभावका कारण दैनिक कार्यसम्पादनमा समस्या भइरहेको छ । विकासको काम पनि कर्मचारी अभावले गति लिनसकेको छैन ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका निमित प्रमुख सचिव कोमल खत्रीले कर्मचारी पदस्थापनका लागि मापदण्ड तयार गर्ने काम भइरहेकाले चाँडै पदस्थापन हुने बताए ।
-ratopati
Write your Comment