बाराका मकै किसान खुशी

चैत्र महिनामा मकै आयात ३० प्रतिशतले घट्यो

पुष्पराज खतिवडा

 १६ बैशाख २०७६, सोमबार १०:४१  मा प्रकाशित
३१३ पाठक संख्या



बारा । जीतपुरसिमरा उपमहानगरपालिका १८ बडहर्वाका जयबहादुर पुलामीले ७ कठ्ठामा उत्पादित मकै विक्रि गर्दा ८४ हजार आम्दानी गरे । अघिल्लो बर्ष मकै फलेपनी दाम नपाएर निरास पुलामी यसबर्ष मकै खेतीबाट सन्तुष्ट छन् ।

गएको बर्ष मकैको मुल्य प्रति केजी २०÷२२ रुपैँया मात्रै थियो । यो बर्ष मुल्य बढेर प्रती केजी ३५ रुपैँयामा बेच्न पाएपछी पुलामीले ७ कठ्ठामा फलेको २४ क्विन्टल मकैबाट झन्ठै लाख कमाएपछी उनी खुशी छन् ।

स्थानिय किसान हस्त बहादुर आले पनी यसबर्ष मकैले मनग्य आम्दानी दिएको बताउँछन । यसबर्ष प्रतिकठ्ठा ४ देखी ५ क्ण्टिल सम्म मकै फलेको आलेको अड्कल छ ।

केही समय अघिसम्म मकै खेती निकै झन्झटीलो खेतीका रुपमा लिने गरिन्थ्यो । तर आजकाल बोक्रा सहितको मकै छोडाउने थ्रेसर मेसिनका कारण पनी मकै खेतीमा आम्दानी बढ्न थालेको किसानको भनाई छ ।

स्थानिय किसानले उत्पादन गरेको मकै खरिद गर्न ब्यापारी घरमै आएर उठाउने हुँदा मकै खेतीबाट सिधै नगद लिन सकिने फाईदा त छँदै छ, यसका साथै मकैको ढोड, लपात र खोस्टाबाट किसानलाई पशुपालन गर्न पनी सहज भएको किसान बताउँछन् ।

नगदमा लगानी गरेर उधारोमामा विक्रि गर्नुपर्ने उखुखेती भन्दा मकै खेती निकै उत्तम रहेको अर्का मकै किसान गणेश बहादुर खड्का बताउँछन् ।
‘बढीमा चार महिनामा नै मकै खेतीबाट मनग्य आम्दानी लिन सकिन्छ । उखु खेतीमा जस्तो उत्पादन लिन १ बर्ष र भूक्तानी लिन पुनः १ बर्ष कुर्न‘ पर्दैन’, खड्का सुनाउँछन् , ‘धेरैले यो बर्ष उखु मासेर मकै लगाए, आम्दानी राम्रै भयो ।’

भारतमा चुनाव जारी रहेकाले उताबाट मकै आयात कमी भएपछी नेपाली मकै किसानले आफ्नो उत्पादनको मुल्य अनुमान गरिएको भन्दा बढी पाएका हुन् ।
गत चैत्र पहिलो साताबाट मुल्य उकालो लागेको मकैको थोक कारोबारीहरु बताउँछन् । अहिले प्लेटदाना तथा चिउरा बनाउने कम्पनीले किसानका घरघरबाट विचौलियाहरु मार्फत मकै खरिद गर्दै आएका छन् ।

बारामा १४ हजार २२० हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको कृषि बिज्ञान केन्द्र बाराले जनाएको छ । बार्षिक ८७ हजार ३५ मेटिक टन मकै उत्पादन समेत हुने गरेको छ । यहाँका किसानले हिउँदे, बर्षे र बसन्ते गरी तीन मौसममा बाली लगाउँदै आएका कृषि ज्ञान केन्द्र बाराका कृषि विज्ञ गेनाला प्रसाद मण्डल बताउँछन् ।

चैत्र महिनामा मकै आयात ३० प्रतिशतले घट्यो

यस आर्थीक बर्षको चैत्र महिनामा मकै आयात ३० प्रतिशतले घटेको विरजगं भन्सार कार्यालयले जनाएको छ । कार्यालयका सुचना अधिकारी मनिस महत्तोका अनुसार गत आर्थीकबर्षको तुलनामा यसबर्षको चैत्र महिनामा मात्रै ३० प्रतिशतले मकैको आयात घटेको हो ।

बार्षिक रुपमा भने गतबर्षको तुलनामा चैत्र सम्म १९ वृद्धि प्रतिशतले मकैको आयात बढेको महत्तोले जानकारी दिए ।

भारतमा गत फागुन अन्तिम साताबाट लोकसभाको निर्वाचन जारी छ । गत ११ अप्रिल देखी १९ मे सम्म सात चरणमा भैरहेको १७ औं लोकसभा पनी एउटा कारण हुनसक्ने कतिपयको बुझाई छ ।

सरकारी विकास खर्चको अवस्था कमजोर हुँदा ब्यपारिहरुसँग पैसा नभएको र बाहिरी देशबाट खरिद भई आउने धेरै सामानको आयात घटेको महत्तोको बुझाई छ ।

Write your Comment