एसईईपछिको अध्ययन : के पढ्ने, कस्तो विषय छान्ने ?

शुभराज पोखरेल

 १६ बैशाख २०७६, सोमबार ११:३२  मा प्रकाशित
३४८ पाठक संख्या


हरेक अभिभावकले आफ्ना सन्तानको सुन्दर भविष्यको कल्पना गरेका हुन्छन् । तिनै बालबच्चाका लागि उनीहरू दिनरात सपना बुनिहरेका हुन्छन् । अभिभावकहरू आफ्ना बच्चाका लागि आधारभूत आवश्यकता पूरा गर्दै उनीहरूलाई समाजसँग घुल्न सक्ने बनाउन पनि तल्लिन हुन्छन् । शारीरिक वृद्धिसँगै मानसिक र भावनात्मक विकासमा पनि उनीहरूले जोड दिन्छन् । त्यसैले हरेक अभिभावकले आफ्ना छोराछोरीको विषयमा आफ्नै सपना बनाउनु सामान्य नै हो ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेकाहरूको ध्यान यतिबेला अर्को चरणको अध्ययनमै केन्द्रीत भइरहेको छ । रिजल्ट कस्तो आउने हो र यसपछि कुन विषय लिएर कुन स्कुलमा भर्ना हुने होला । पक्कै पनि विषय र स्कुल छनोट निकै कठिन कार्य हो । यसमा सही निर्णय लिन सकिएन भने यसको असर जीवनभर परिरहन्छ । विद्यार्थीको भविष्य कक्षा ११ मा लिइने विषयले निर्धारण गर्दछ । भविष्यमा जागिरे, राजनीतिज्ञ, समाजशास्त्री, साहित्यकार, शिक्षक, अधिवक्ता, उद्यमी वा व्यवसायी, इन्जिनीयर वा चिकित्सक वा कुन पेशा अंगाल्ने र के बन्ने भन्ने तय माध्यमिक तह अर्थात् कक्षा ११ र १२ मा बढी निर्भर हुने गर्दछ ।

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला भन्छन्, ‘पढ्नु पर्ने त विद्यार्थीले हो । अभिभावकले तिम्रो नतिजा यस्तो आएको छ, त्यसैले यो विषय पढ्न सक्छौ तर निर्णय चाहाँ तिमीले नै गर्नुपर्दछ भनेर सल्लाह दिनुपर्दछ । विद्यार्थीले पनि अभिभावकलाई तपाईंले सुझाव दिनुभएको विषय ठिक छ, तर मेरो रुचि र क्षमता फलानो विषयमा भएकाले तपाईंले भनेको नपढी मेरो चाहनाको विषय पढ्छु भन्न सक्नु पर्छ । त्यसो भएमा अभिभावक पनि खुशी हुन्छन् र विद्यार्थीले पनि इच्छाएको विषयमा अध्ययन गरी भविष्य उज्जवल बनाउन सक्छन् ।’

विषय छनोट विद्यार्थीको रुचिका आधारमा गर्नुपर्छ । विज्ञान विषय पढ्दैमा उच्च भइने र अन्य विषय पढेमा तल्लो तहको विद्यार्थी हुने भन्ने सोच सरासर गलत हो । सबै विषय राम्रा छन् । विषय छनोटमा अभिभावकले विद्यार्थीलाई स्वतन्त्रता दिनुपर्छ ।

हिसानका अध्यक्ष रमेश सिलवाल भन्छन्, ‘विद्यार्थीलाई जबरजस्ती विषय छनोट गर्न लगाउँदा उसमा डिप्रेसन आउँछ । विद्यार्थीबाट आशानुरुप परिणाम आउँदैन । उ आफ्नो निम्ति पढ्दैन, अर्काको निम्ति पढिदिएको छु भन्छ । बाबु आमाका लागि पढिदिएकै छु, भर्ना भइदिएकै छु, स्कुल गइदिएकै छु, जाँच दिएकै छु भन्ने खालको हुन्छ । अर्काको निम्ति होइन आफ्ना निम्ति पढ्ने स्थिति बनाउनुपर्दछ ।’

प्रा. डा. चन्द्रमणि पौडेल भन्छन्, ‘किशोर किशोरीहरूले पनि कसैको लहैलहैमा लागेर फलानो साथीले यो छान्यो अथवा फलानोले यो छानेन भन्ने आधारमा आफूले विषय छान्नु हुँदैन । अभिभावकले पनि बच्चाहरूलाई यो विषयमा भविष्य छ त्यसैले यो नै विषय लिनुपर्दछ भनेर भन्नु हुँदैन । विद्यार्थीको रुचि नै छैन त्यो विषयमा भने जबरजस्ती थोपर्दा झन् बिग्रने अवस्था आउँछ । पढ्न नसक्ने अवस्था आउँछ । उसले त्यसबाट आफ्नो करिअर विकास गर्न नसक्ने अवस्था आउँछ । त्यसैले सबैभन्दा पहिलो त बालबालिकाको रुचिलाई ख्याल राख्नुपर्छ ।’

डाक्टर वा इन्जिनीयर नै बन्नु पर्दछ भन्ने, गर्न सक्नेले जुनसुकै क्षेत्रमा पनि आफ्नो करियर विकास गर्न सक्छ । अरूले समान्य भनेका क्षेत्रमा पनि विकास हुन सक्छ । त्यसैले आफूलाई रुचि नभएका विषयमा मानिसहरूले पढ्न त पढे तर पास नै गर्न नसकेको धेरै घटनाहरू छन् । पढ्ने भनेको आफूले हो र आफ्ना लागि हो । विद्यालयको वातावरणले पठनपाठनलाई सहयोग गर्छ । महंगो, हाइफाइ स्कूलमा मात्र धेरै कुरा सिक्न पाइन्छ भन्ने होइन । त्यस्तो कुराले बालबालिका र अभिभावक पनि अस्वभाविक रुपमा आकर्षित गर्छ ।

विद्यालय छनोट गर्दा विद्यालय सफा, स्वच्छ, खुल्ला र शान्त वातावरणको छ छैन ? खेल मैदान, खेल सामग्री, अतिरिक्त क्रियाकलाप छ कि छैन ? बालबालिकालाई प्राथमिकता दिने तथा उनीहरूलाई सुन्ने वातावरण, सामाजिक क्लबहरू छ छैन ? खुल्ला हावा सहजै जाने उज्यालो कोठा छ छैन ?  विद्यालयका शिक्षक कस्ता छन् । बर्सेनि शिक्षक फेरिरहने समस्या छ कि ? एउटा कक्षामा ४० जनाभन्दा बढी राखेर पढाउने गरिएको छ कि ?  प्रयोगशाला छ/छैन ? प्रयोगशालामा आवश्यक सामग्री उपलब्ध छ कि छैन र त्यसको प्रयोग कस्तो छ ? पुस्तकालयमा कस्ता पुस्तक राखिएका छन् ? यी र यस्ता सामग्रीको अभिभावक र बालबालिकाले हेरेर मात्र विद्यालयको छनोट गर्नुपर्छ ।

विषय छनोट विद्यार्थीको रुचिका आधारमा गर्नुपर्छ । विज्ञान विषय पढ्दैमा उच्च भइने र अन्य विषय पढेमा तल्लो तहको विद्यार्थी हुने भन्ने सोच सरासर गलत हो । सबै विषय राम्रा छन् । विषय छनोटमा अभिभावकले विद्यार्थीलाई स्वतन्त्रता दिनुपर्छ । परीक्षाको नतिजाका आधारमा विद्यार्थीलाई अभिभावकले सल्लाहसम्म दिन सक्छन् । निर्णय गर्ने अधिकार विद्यार्थीमा नै निहित हुने भएकाले आफूले लिएको निर्णय गलत त होइन भन्नेमा विद्यार्थी निकै होशियार हुनुपर्छ ।

हाम्रा अभिभावकहरू एसईई वा + २ को परीक्षाको नतिजा राम्रो ल्याउन महंगो विद्यालयको छनोट गर्नुहुन्छ र त्यसमा भर्ना गरिदिनु हुन्छ । महंगो विद्यालयमा भर्ना गरेको एक हप्ता देखिनै मैले तिम्रो लागि धेरै पैसा तिरेको छु राम्रो रिजल्ट चाहियो भन्दै दबाब दिन थाल्नु हुन्छ ।

कक्षा ११ मा अध्ययन गर्दा गर्दै राम्रो गर्न नसक्दा पुनः कक्षा दोहोर्‍याएर अर्को विषयमा प्रवेश गर्ने गरेका उदाहरणहरु पनि प्रशस्तै छन् । त्यसो हुनुमा विषय छनोट गर्दा विचार नपुर्‍याएकै परिणाम हो । त्यस्ता विद्यार्थीले अर्का वर्ष नयाँ विषय लिएर अध्ययनलाई पुनः निरन्तरता त दिन्छन् तर एक वर्ष समय खेर गइसकेको हुन्छ । कतिपय विद्यार्थीहरूले यसै कारण पढाइलाई यतिमै सीमित गरेका थुप्रै उदाहरणहरू छन् ।

यस किशोरावस्थामा अभिभावक तथा साथीहरूको दबाब र लहैलहैमा लागेर आफ्नो क्षमता र चाहना तिलाञ्जली दिएर अभिभावक वा साथीको सहमतमा पढ्न खोज्दा असफल हुन पुग्दा निराश हुँदै शिक्षाको मूलधार र परिवारबाट टाँढिदै चुरोट, रक्सीदेखि लागूपदार्थको कुलतमा फसेर जीवनको मोड नै फरक पर्ने अवस्थाप्रति पनि सचेत हुन आवश्यक छ । यति मात्र होइन, असफलताका कारण साथी परिवार सबैबाट टाढा हुँदै कोठाबाट बाहिरै नआउने, आफन्त साथीसँगबाट टाढा हुने हुँदै अति निराश भएर आत्महत्याको अवस्थासम्म पुग्न सक्ने अवस्था पनि त्यतिकै रहने मनोविमर्शकर्ता जमुना श्रेष्ठ बताउँछिन् ।

‘धेरै जसो अभिभावकहरू विज्ञान विषय नै पढाएर डाक्टर, इन्जिनीयर, आईटी पढ्नको लागि दबाब दिनुहुन्छ जे पढेपनि राम्रो गर भन्ने अभिभावक धेरै थोरै मात्र हुन्छन्,’ मनोविमर्शकर्ता श्रेष्ठ भन्छिन्, ‘एक परिवारले आफ्नो छोरालाई जबरजस्ती आईटी पढाए, उ फिजिक्स पढ्न चाहन्थ्यो त्यस कारण उ अहिले डिप्रेशनमा छ उसको व्यवहार हिंस्रक छ । यतिसम्म कि उसले आफूले खाइरहेको खानाको स्वाद पनि थाहा पाउदिनँ भन्छ । उ आफ्नो कामबाट कत्तस पनि सन्तुष्ट छैन ।’ अब कल्पना गरौं जीवनमा उ खुसी हुनै सकेन भने उसको भविष्य के ?

हाम्रा अभिभावकहरू एसईई वा + २ को परीक्षाको नतिजा राम्रो ल्याउन महंगो विद्यालयको छनोट गर्नुहुन्छ र त्यसमा भर्ना गरिदिनु हुन्छ । महंगो विद्यालयमा भर्ना गरेको एक हप्ता देखिनै मैले तिम्रो लागि धेरै पैसा तिरेको छु राम्रो रिजल्ट चाहियो भन्दै दबाब दिन थाल्नु हुन्छ । यस्ता दबाबले बालबालिकाहरू थप निराश हुने, आफैंलाई कमजोर महसूस हुने आवस्था पनि हाम्रो समाजमा व्यापक छ । यस विषयमा हरेक अभिभावकहरू सचेत हुन जरुरी छ ।

छोराछोरीको सपना, लक्ष्य र योजनामा भन्दा पनि आफ्ना छोराछोरी कस्तो देख्ने भन्ने कुराले अझ अभिभावकहरूले बढि नै सपना देखेका हुन्छन् र सोही अनुसारको लक्ष्य निर्धारण गरेर बसेका हुन्छन् । अधिकांश अभिभावहरूले आफ्ना छोरा छोरीको सपना, चाहना, लक्ष्य र उनीहरूको क्षमतामा खासै ध्यान पुर्‍याएको पाइँदैन । वहाँहरू पूर्णरूपले आफ्नो लक्ष्य पूरा गराउनको लागि बालबालिकालाई त्यसमा समाहित हुन बाध्य पर्छन् ।

सपना देख्नु र त्यसैमा लाग्न छोराछोरीलाई प्रेरित गर्नु राम्रो पक्ष हो । तर छोराछोरीको चाहना, क्षमता र सपना नबुझी जबरजस्त उनीहरूलाई आफ्नो सपनामा घकेल्नु धेरै हिसाबले बालबालिकाको जीवनमा सकारात्मक प्रभाव पर्ने गरेका छन् । अधिकांश अभिभावकहरू आफ्नो निर्णयले छोराछोरीको भविष्य राम्रो भएकोमा गौरव गर्नु हुन्छ । छोराछोरीलाई सानैदेखि कुनै निश्चित विषयमा केन्द्रित गरी त्यसैप्रति झुकाव बढाउँदै बालबालिकाको सपना पनि त्यही बनाउन प्रेरित गरेर बालबालिकालाई त्यहाँ पुर्‍याएको अवस्था पनि हाम्रो बीचमा प्रशस्त छन् । यो आफैंमा सकारात्मक र सफल पक्ष हो । तर पनि केही बालबालिकाको चाहना र सपना अभिभावकले देखेको भन्दा पूर्णरूपमा फरक हुन्छ । त्यस अवस्थामा उनीहरूको क्षमता र चाहना विपरीत अभिभावकले जबरजस्ती कुनै कार्य वा विषयमा जान बाध्य पार्दा बालबालिकाको भविष्य जोखिमपूर्ण अवस्थामा पुगेका थुप्रै घटनाहरू छन् ।

हामी केही सफल घटनाहरूका आधारमा सबै सफल भएको मान्छौं । कुनै एक जना व्यक्ति(बालबालिका)को भविष्य अभिभावकको दबाबका कारण जीवनभरी उठ्नै नसक्ने गरी बिग्रयो भने ? कुनै बालबालिकामाथि यौन दुर्व्यवहार हुँदा जसरी उसको जीवन बर्बाद हुन सक्छ । के उसलाई हामीले एक जना भनेर बेवास्ता गर्नु सक्छौं ? हरेक व्यक्ति आफैंमा पूर्ण हो उसको भविष्य उसमा स्वतन्त्र अधिकार छ । एक जना बालबालिकाको भविष्यमाथिको हेलचेक्य्राइँ सामान्य विषय हुनै सक्तैन ।

-lokantar

Write your Comment