‘जन्मँदा नै अभागी’ मेयरको हर्कत : भाडामा लिएको सरकारी गाडी, बिहेमा सवारी !

रातोघर

 १७ बैशाख २०७६, मंगलवार ०७:५४  मा प्रकाशित
३३७ पाठक संख्या


काठमाडौं ।

दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख (मेयर) अमरसिंह धामीको ९८५८७५०४८६ नम्बरको सरकारी मोबाइलमा फोन गर्दा ‘रिङ ब्याक टोन’ सुनिन्छ – ‘मै अभागी जन्मँदा नै भाग्य रहेछ खोटो !’

मेयरले नगरपालिकाले भाडामा लिएको गाडी दुरुपयोग गरेको सूचनाबारे बुझ्न फोन गर्दा ‘अभागी मेयर’को ‘रिङ ब्याक टोन’ सुनियो । सरकारी नम्बरमा उनले ‘जन्मँदा नै अभागी’ भन्ने भावको टोन राखेका छन् ।

नगरपालिकाले आवधिक रुपमा भाडामा लिएको निजी गाडी म१च ७२७ विवाहमा प्रयोग भएको पाइएको छ । भाडामा लिएर सरकारी प्रयोजनमा प्रयोग हुनुपर्ने गाडीमै ‘दिपेन्द्र परिणय मनिषा’ लेखिएको पाना टाँसिएको छ ।

गत शुक्रवार सम्पन्न विवाह समारोहमा मेयर धामीले नै विवाहको प्रयोजनमा सरकारी गाडी प्रयोग गरेको बताएका छन् । ‘एक–डेढ महिना भयो सरकारी गाडी किनिसकेका छौं,’ मेयर धामीले भने, ‘सरकारी गाडी किन्नुअघि कात्तिकमै ६ महिनाका लागि निजी गाडीलाई भाडामा लिने गरी सम्झौता भइसकेकाले मैले भाडामा लिएको गाडी नै प्रयोग गर्छु ।’

नगरपालिकाले किनेको सरकारी गाडी कार्यालयमा ‘हाकिम सा’प र इन्जिनियरले चढ्ने गरेको’ मेयर धामीले बताए । मेयरका लागि नगरपालिकाले भाडामा लिएको गाडीमा विवाहको पाना टाँस्नु ठीक नभएको स्वीकार्दै मेयर धामीले थाहा पाएपछि आफूले नै च्यातेको दाबी गरे । भाडामा लिएको गाडीको सम्झौता असारमा सकिने र मासिक १ लाख ८ हजार रुपैयाँ भाडा रकम दिने गरिएको उनले बताए ।

भाइको बिहेमा आफ्नै नगरपालिकाको ग्वानीबाट मालिकार्जुन गाउँपालिकास्थित बेहुलीको घरसम्म गएको मेयरले बताए । ‘स्थानीय प्रहरी कार्यालय नजिकै गाडी राखेको थिएँ, कसले फोटो खिचिदिएछ,’ उनले भने । नगरपालिकाको कार्यालय दार्चुला र बैतडीको सीमावर्ति क्षेत्र गोकुलेश्वर बजारमा रहेको छ ।

सरकारी गाडी किनेर मेयरले भाडाको सरकारी गाडीलाई भाडामै दिएर पैसा कमाउने गरेको आरोप समेत लगाउने गरेका छन् । स्थानीयले आरोप लगाउने गरेको पुष्टि गर्दै मेयर धामीले भने, ‘गाडी भाडामा दिएर ४–५ हजार रुपैयाँ खाने मान्छे होइन म ।’

-lokantar

Write your Comment