ठेगाना पत्ता लगाउने एप सार्वजनिक

रातोघर

 १७ बैशाख २०७६, मंगलवार १०:२२  मा प्रकाशित
२७६ पाठक संख्या



आफूलाई आवश्यक ठेगाना सजिलै पत्ता लगाउन मिल्ने मोवाइल एप सार्वजनिक भएको छ । ठेगाना सर्भिसेजले सार्वजनिक गरेको एप ‘ठेगाना’ मार्फत देशभरिको ठेगाना पत्ता लगाउन सकिन्छ ।

सर्भिसेजका प्रमुख कार्यकारी अधिकृत विशाल केसी यो एप व्यक्तिगत तथा व्यावसायिक प्रयोजनमा प्रयोग गर्न सकिने बताउँछन् । डेलिभरी सेवा प्राप्त गर्न, आपतकालीन सुविधा लिन, बैंक खातामा ठेगाना दर्ता गर्न, पैदल वा सवारी साधनबाट एक ठाउँबाट अर्को स्थानमा पुग्न सहज डिजिटल सुविधा प्राप्त हुने उनको भनाइ छ । केसी भन्छन्, ‘प्राकृतिक प्रकोपको बेला सजिलै राहत पुर्‍याउन पनि यो एप उपयोगी हुनसक्छ ।

कसरी गर्छ काम

ठेगाना एप ‘रि–इन्जिनियरिङ’ गरिएको यस्तो ठेगाना प्रणाली हो जसमा नेपालका विभिन्न स्थानलाई ८५ करोड इकाईमा विभाजन गरिएको हुन्छ । र, हरेक इकाई पहिचान गर्न विशिष्ट कोड दिइएको हुन्छ ।

ठेगानाको कोडमा ९ वटा अंक वा अक्षर दिइएको हुन्छ । पहिलो तीन डिजिटले सम्बन्धित जिल्ला जनाउँदछ भने बाँकी ६ डिजिटले तोकिएको स्थान । उदाहरणका लागि, गोश्वारा हुलाक सुन्धारा, काठमाडौंको ठेगाना बुझाउन ‘ठेगाना एप’ ले KTM-P82746  देखाउँदछ । यसमा KTM ले काठमाण्डौ जिल्ला र बाँकीले गोश्वारा हुलाकको विद्युतीय ठेगाना भन्ने जनाउँदछ ।

ठेगाना एपमा दर्ता गरिएपछि पछिल्ला ६ वटा नम्बर आफ्नो रुचिबमोजिम पनि राख्न सकिन्छ । यो डिजिटल एपमार्फत आफ्नो ठेगाना सम्झन र वितरण गर्न मोबाइल नम्बर याद गरे जत्तिकै सहज हुने सञ्चालकको दाबी छ ।

‘ठेगाना’ एप निःशुल्क डाउनलोड गर्न सकिन्छ । तत्काललाई एन्ड्रोइड अपरेटिङ् सिस्टममा चलाउन सकिन्छ । आइओएस प्रयोगकर्ताका लागि पनि केही हप्ताभित्रै यो सुविधा उपलब्ध हुने सञ्चालकले जानकारी दिएको छ ।

-onlinekhabar

Write your Comment