जनकपुर ।
प्रदेश २ को नाम र राजधानी टुंगो लगाउन गठित संवाद तथा सुझाव आयोगले प्रदेश सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।
बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोगका संयोजक हरिवंश झाले मुख्यमन्त्री लालबाबु राउतलाई प्रतिवेदन बुझाएका हुन् ।
आयोगले आठै जिल्लामा पुगेर राजनीतिक दल, नागरिक समाज, संघसंस्था प्रतिनिधिसँग छलफल तथा संवाद गरी प्रतिवेदन तयार गरेको हो । प्रतिवेदन तयार पार्न आयोगले आठ सय बढी प्रतिनिधिसँग छलफल गरेको जनाएको छ ।
६ महिनाको लामो अध्ययनपछि तयार पारिएको प्रतिवेदन प्रदेश २ का मुख्यमन्त्री लालबावु राउतलाई बुझाएको आयोगले जनाएको छ । आयोग गठन भएको ४५ दिनभित्र प्रतिवेदन प्रदेश सरकारलाई बुझाउन समय सीमा दिइए पनि ४५ दिनमा काम नसकिएपछि आयोगले थपिएको समयमा प्रतिवेदन तयार पारेको थियो ।
हस्तान्तरण गरिएको प्रतिवेदन सार्वजनिक नगरिए पनि प्रतिवेदनमा प्रदेशको नाम मधेश, मिथिला, मिथिला–भोजपुरा, मध्यमधेश, जानकी प्रदेश मध्येबाट एउटा राख्न सुझाव आएको नीति आयोगको उपाध्यक्ष समेत रहेका संयोजक झाले जानकारी दिए ।
त्यस्तै राजधानीको सवालमा जनकपुर, वीरगन्ज, बर्दिवास, लहान, राजविराज, गौर, लालबन्दीलागयतका नाम सुझावको रूपमा आएको उनले बताए ।
प्रदेशको नाम, राजधानी र भाषा टुंगो लगाउन २०७५ साल कात्तिक ११ गते प्रदेश २ को मन्त्रिपरिषद बैठकले झाको संयोजकत्वमा तीन सदस्यीय संवाद तथा सुझाव आयोग गठन गरेको थियो ।
यसैबीच, मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नाम र राजधानीबारे प्रदेश बैठकमा विधेयक पेस गर्ने बताएका छन् । त्यसका लागि चाँडै प्रकृया अघि बढाइने उनले बताए । ‘प्रदेशसभामा दुई तिहाईको मतले नै प्रदेश र राजधानीको नाम टुंगो लाग्नेछ । दुई तिहाई मतले जे चाहन्छ, त्यहि हुन्छ’ मुख्यमन्त्री राउतले भने ।
संवाद तथा सुझाव आयोगको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री राउतले आयोगले बुझाएको प्रतिवेदनको अध्ययन गरेर मन्त्रिपरिषद बैठकबाट प्रदेशसभाको समितिमा पठाइने बताए ।
६ महिना लगाएर तयार पारिएको प्रतिवेदन ६४ पृष्ठको छ । तर, प्रतिवेदनमा उल्लेखित बुँदाहरु खुलाइएको छैन् । आयोगलाई प्रतिवेदन तयार गर्न ३० लाख रुपैयाँ प्रदेश सरकारले छुट्याएको थियो । सोमध्ये १७ लाख ५० हजाररुपैयाँ खर्चेर ६४ पृष्ठको प्रतिवेदन तयार पारिएको आयोगले जनाएको छ ।
-shilapatra
Write your Comment