फोटो नखिच्नुस् भाइरल होला !

रातोघर

 १९ बैशाख २०७६, बिहीबार २०:४८  मा प्रकाशित
२६४ पाठक संख्या



काठमाडौं ।

राष्ट्रपतिको चीन भ्रमणबारे जानकारी दिन परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन थियो । ३ बजेका लागि तोकिएको पत्रकार सम्मेलनमा धेरैजसो पत्रकार समयमै पुगे ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयको तेस्रो तलामा आयोजना हुने पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपतिको चीन भ्रमणको ब्रिफ गर्ने कार्यक्रम थियो ।

३ बजेर केही मिनेट जाँदा पत्रकार सम्मेलन कक्षमा मन्त्री ज्ञवाली आइपुगेपछि सञ्चारकर्मीले क्यामरा, नोटबुक, अडियो रेकर्डर तयार गरे ।
‘एक छिन है फोटो नखिचौं,’ मन्त्री ज्ञवालीले कुर्सीमा बस्दै भने ।

मन्त्रीले नै फोटो नखिच्न भनेपछि क्यामरा हातमा लिएर तम्तयार पत्रकार अन्योलमा परे । मन्त्री ज्ञवालीले कोटको खल्तीमा हात हाले र झिके, लिप गार्ड । लिप गार्ड समाउँदै ज्ञवालीले भने ‘ओठ फुट्यो, लिप गार्ड लगाउँछु ।’

लिप गार्ड ओठमा दल्दै ज्ञवालीले भन्न थाले, ‘फेरि फोटो भाइरल होला ।’

कक्ष हाँसोले भरियो । ‘नाम हो या बदनाम गुमनाम न हो भन्छन,’ मन्त्री ज्ञवाली भन्न थाले, ‘तर, यस्ता कुराले लाइट लाइटमै ल्याउँछ ।’  राष्ट्रपति विद्यादेवी भण्डारीसँगै चीनको राजकीय भ्रमणमा गएका थिए ज्ञवाली । चीनको साक्षी प्रान्त हुँदै बेइजिङदेखि ल्हासासम्मको यात्रा गरेका ज्ञवालीका ओठ चीनको चिसोले फुटाएको थियो । चिसोले ज्ञवालीको ओठ फुटे पनि राष्ट्रपतिको चीन भ्रमणबाट नेपालले भने न्यानो नै महसुस गर्यो ।

नेपालमा गणतन्त्र आएपछि पहिलोपटक चीनको राजकीय भ्रमणमा नेपाली राष्ट्रपति गएकी थिइन् । नेपाल र चीनबीच भएका सातवटा सम्झौताले त नेपाल चीन सम्बन्धलाई झन् नजिक तुल्याएको बताए ज्ञवालीले । चीनको राजकीय भ्रमणबाट राष्ट्रपति १८ वैशाखमा नेपाल फर्किएकी हुन् ।

अनि यसरी सुनाए चीन भ्रमणका उपलब्धि

सम्माननीय राष्ट्रपतिज्यूले २६ अप्रिलमा आयोजित अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एनड रोड फोरमको उद्घाटन समारोहमा भाग लिनुभयो । उद्घाटन समारोह पश्चात् आयोजित ‘अझ उज्ज्वल साझा भविष्यका लागि बेल्ट एन्ड रोड फोरम विषयक उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नुभयो ।

सम्बोधनका क्रममा सम्माननीय राष्ट्रपतिज्यूले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सहकार्य, सहयोग तथा कनेक्टिभिटीका लागि महत्त्वपूर्ण मञ्च रहेको उल्लेख गर्दै यस ऐतिहासिक पहलकदमीले अर्थतन्त्रलाई एकीकृत गर्न, बजारलाई जोड्न तथा पूर्वाधारमा लगानी गर्न प्रोत्साहित गर्ने एवं विश्वव्यापी रुपमा स्रोत साधनको ठूलो अभाव रहेको परिप्रेक्ष्यमा दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पृथ्वीको सुन्दर तथा अझ उज्ज्वल भविष्यका लागि कनेक्टिभिटीमा अभिवृद्धि तथा हरित विकासमा जोड दिनुभयो ।

सम्माननीय राष्ट्रपतिज्यूले २७ अप्रिलमा Leaders Roundtable मा ‘संयुक्त राष्ट्रसंघको सन् २०३० कार्यसूची कार्यान्वयनका लागि हरित तथा दिगो विकास अभिवृद्धि Promoting Green and Sustainable Development to Implement the UN 2030 Agenda विषयक तेस्रो सत्रलाई सम्बोधन गर्नुभयो ।

उपर्युक्त बैठकहरुपश्चात् सहभागी राष्ट्रका नेताहरुका तर्फबाट Belt and Road Forum for a Brighter Shared Future शीर्षकमा संयुक्त विज्ञप्ति जारी भएको छ । उक्त विज्ञप्तिमा नेपालका चासोका विषय पनि समेटिएका छन्, जसमा भू–परिवेष्ठित मुलूकलाई भू–जडित मुलुकमा रुपान्तरणका लागि पारवहन व्यवस्था तथा कनेक्टिभिटीसम्बन्धी पूर्वाधारलाई सुदृढ गर्ने, बहुपक्षीय व्यापार प्रणालीलाई नियममा आधारित बनाउने र नेपाल–चीन सीमा वारपार रेलवेलगायत हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी नेटवर्क (Nepal-China Trans-Himalayan Multi-Dimensional Connectivity Network including Nepal-China cross border railways) समावेश छन् ।

सम्माननीय राष्ट्रपतिज्यूले २८ अप्रिलमा आयोजित अन्तर्राष्ट्रिय बागवानी प्रदर्शनीको उद्घाटन समारोहमा सहभागी भई त्यहाँ रहेको नेपाली मण्डपको उद्घाटन गर्नुभयो । उक्त प्रदर्शनी ६ महिनासम्म सञ्चालन हुनेछ र यसबाट नेपाली कला संस्कृतिको प्रवर्द्धन गर्न एउटा उपयुक्त अवसर प्राप्त भएको छ ।

भ्रमणको अर्को महत्त्वपूर्ण पक्षका रुपमा बेइजिङमा सम्माननीय राष्ट्रपतिज्यूले आफ्ना समकक्षी चिनियाँ राष्ट्रपति महामहिम सी चिनफिङसँग प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता गर्नुभयो । उक्त अवसरमा नेपाल–चीन द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तथा मजबुत बनाउने विषयमा विचार आदानप्रदान भयो ।

सम्माननीय राष्ट्रपतिज्यूले बीआरआई फोरम भव्यतासाथ सम्पन्न भएकोमा चीनका महामहिम राष्ट्रपतिलाई बधाई दिँदै यस फोरमले बीआरआईलाई कनेक्टिभिटी तथा पूर्वाधार विकासको माध्यमबाट आर्थिक विकास हासिल गर्न सकिने माध्यमका रुपमा यसको महत्त्व स्थापित गरेको बताउनुभयो ।

महामहिम राष्ट्रपति सीले नेपाल–चीनबीच हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी नेटवर्कको बृहत्तर फ्रेमवर्कअन्तर्गत सीमापार रेलमार्गलगायत पूर्वाधार विकासमा चीनले सहयोग गर्ने बताउनुभयो । नेपालको राष्ट्रिय प्राथमिकताका आधारमा शिक्षा, निर्यात व्यापार प्रवर्द्धन र नाकाहरु खोल्नेलगायतका विषयमा सघाउन चीन तयार रहेको पनि उहाँले बताउनुभयो ।

साथै, नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय संकल्प पूरा गर्न तथा नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन चिनियाँ सहयोग रहने विश्वास दिलाउनुभयो । सम्माननीय राष्ट्रपतिज्यूले चीनका राष्ट्रपति महामहिम सीलाई नेपाल भ्रमणको निम्ता दिनुभएको छ र चीनका राष्ट्रपतिले आफूले सुन्दर देश नेपालको भ्रमणलाई ठूलो महत्त्व दिएको र उपयुक्त समयमा भ्रमण गर्ने बताउनुभएको छ ।

त्यसैगरी, सम्माननीय राष्ट्रपतिज्यूसँग चिनियाँ कम्युनिस्ट पार्टीका अनुशासन अनुगमन केन्द्रीय आयोगका सचिव महामहिम चाओ लजीले भेट गर्नुभयो । दुवै नेतृत्वका बीचमा आपसी हितका विभिन्न विषयमा महत्त्वपूर्ण छलफल भयो ।

बेइजिङ प्रस्थान गर्नुअघि सम्माननीय राष्ट्रपतिज्यूले चीनको सान्सी प्रान्तको ऐतिहासिक सहर सियानको भ्रमण गरी त्यहाँका गभर्नर महामहिम लिउ गुओजोङसँग भेट गर्नुभयो ।

बेइजिङको बसाइपश्चात् सम्माननीय राष्ट्रपतिज्यूले चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमण गरी चिनियाँ कम्युनिस्ट पार्टी तिब्बत स्वशासित क्षेत्र कमिटीका सचिव महामहिम वु इङजिएसँग नेपाल र चीनको तिब्बत स्वशासित क्षेत्रका साझा चासोका विभिन्न विषयमा छलफल गर्नुभयो ।
महामहिम वु इङजिएले दुवै देशबीच सम्पन्न भएका समझदारी तथा सम्झौता एवं सहमति कार्यान्वयनमा चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले सहयोग गर्ने बताउनुभयो ।

त्यसैगरी, नेपाल र चीनबीच सम्पन्न पारवहन यातायात सम्झौतामा हस्ताक्षर भएपश्चात् उक्त सम्झौताको कार्यान्वयनका लागि नेपाल र चीन सीमा वारपार सम्पर्क बढाउन थप नाकाहरु खोल्ने बारेमा पनि छलफल भयो ।

भ्रमणका अवसरमा नेपाल र चीन सरकारबीच ७ वटा दस्तावेजमा हस्ताक्षर सम्पन्न भएको छ । तीमध्ये नेपाल र चीनबीच सन् २०१६ मा सम्पन्न पारवहन यातायात सम्झौताको प्रोटोकल महत्त्वपूर्ण दस्तावेजका रुपमा रहेको छ ।

यस प्रोटोकलमा हस्ताक्षर भएसँगै पारवहन सम्झौता पूर्ण रुपमा कार्यान्वयनमा आउनेछ । यसबाट नेपालको तेस्रो मुलुकसँग व्यापारिक कारोबारका लागि चिनियाँ भूभाग भएर समुद्रसम्म पहुँच सुनिश्चित हुनेछ । यसले नेपालको पारवहन सुविधालाई विविधीकरण गरेको छ ।

द्विपक्षीय वार्तापश्चात् हस्ताक्षर सम्पन्न भएका सम्झौता र समझदारीका सूची

  • पारवहन यातायात सम्झौताको प्रोटोकल
  • विद्यमान चिनियाँ सहयोगअन्तर्गतका मर्मत तथा सम्भार परियोजनाहरुको हस्तान्तरण
  • भन्सारका विषयमा सहयोग एवं पारस्परिक प्रशासनिक सहायतासम्बन्धी सम्झौता
  • गुणस्तर मापनसम्बन्धी सहयोगका लागि समझदारीपत्र
  • आर्थिक तथा प्राविधिक सहायतासम्बन्धी सम्झौता
  • नेपालको उत्तरी भागमा जीविकोपार्जनको क्षेत्रमा सहयोगलाई सुदृढ गर्नेसम्बन्धी बैठकको मिनेट
  • सांस्कृतिक सम्पदाको चोरी, अदृश्य उत्खनन र गैरकानुनी पैठारी तथा निकासी रोकथामसम्बन्धी सम्झौता

आर्थिक तथा प्राविधिक सहायतासम्बन्धी सम्झौताअन्तर्गत चिनियाँ सरकारले नेपाललाई उपलब्ध गराउने १ अर्ब युआन अनुदान सहयोगलाई जनताको जीविकोपार्जनमा सुधार, भूकम्पपछिको पूनर्निर्माण तथा पूर्वाधार क्षेत्रका आपसी सहमतिमा तय भएका परियोजनामा खर्च गरिनेछ ।
भ्रमणका क्रममा सम्माननीय राष्ट्रपतिज्यूले बेइजिङस्थित नेपाली राजदूतावासको भ्रमण गरी नेपाली समुदायसँग अन्तरक्रिया गर्नुभयो ।

साथै, सम्माननीय राष्ट्रपतिज्यूले बेइजिङमा नेपाली राजदूतावास र Economic Joint Committee of China Commercial Stock Enterprises द्वारा संयुक्त रुपमा आयोजित Nepal-China Economic and Trade Forum लाई सम्बोधन गर्नुभयो ।

उहाँले बदलिँदो राजनीतिक परिवेशमा नेपाल लगानीका लागि उपयुक्त भएको बताउनुहुँदै चिनियाँ लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आव्हान गर्नुभयो । उक्त कार्यक्रममा मैले पनि सम्बोधन गरेको थिएँ ।

यस क्रममा सरकारको आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न नेपालमा वैदेशिक लगानी आवश्यक रहेको र सरकारले वैदेशिक लगानीका लागि उपयुक्त वातावरण सिर्जना गर्न विभिन्न नीतिगत तथा कानुनी सुधारहरु गरेको जानकारी दिँदै चिनियाँ लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागि आव्हान गरेको थिएँ । सो कार्यक्रममा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृतलगायत निजी क्षेत्रका प्रतिनिधिहरुले चिनियाँ लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न अनुरोध गर्नुभयो ।

गणतन्त्र नेपालको राष्ट्रपतिबाट सम्पन्न चीनको यो पहिलो राजकीय भ्रमण भएकोले यसको विशेष महत्व रहेको बेहोरा जानकारी गराउन चाहन्छु । यस भ्रमणलाई दुवै देशका सरकारले उच्च महत्त्व दिएका थिए ।

भ्रमणका अवसरमा चीनका राष्ट्रपति महामहिम सी चिनफिङलगायत उच्च राजनीतिक नेतृत्वसँग भएका सारगर्भित छलफलबाट दुई मुलुकबीच समझदारी, सहयोग तथा सहकार्यमा अभिवृद्धि भई द्विपक्षीय सम्बन्ध अझ सुदृढ हुने विश्वास गरिएको छ । नेपाल–चीनबीच हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी नेटवर्कको बृहत्तर फ्रेमवर्कलाई दुवै देश ठोस र योजनाबद्ध ढंगले अगाडि बढाउन सहमत भएका छन् ।

-shilapatra

Write your Comment