बढ्दैछ आगलागीको त्रास : वार्षिक २ अर्बको क्षति, १ सय बढीको मृत्यु

आगो निभाउने प्रविधि र जनशक्तिको अभाव

रातोघर

 २० बैशाख २०७६, शुक्रबार ०८:२४  मा प्रकाशित
२२९ पाठक संख्या



काठमाडौं ।

नेपालमा एकपछि अर्को प्राकृतिक विपद्का घटना बढिरहेका छन् । भूकम्पले पुर्‍याएको क्षतिलाई बिर्सन नपाउँदै, बाढि पहिरो, हावाहुरी पनि ठूलो प्रकोपका रुपमा देखा परेका छन् । चट्याङले पनि वर्षेनी नेपालमा धेरै जनधनको क्षति गराउने गरेको छ । यस्तै प्रकोपका रुपमा आगलागी पनि देखा परेको छ । आगलागीबाट प्रत्येक वर्ष नेपालले २ अर्ब भन्दा बढीको नोक्सानी खेपिरहेको छ भने, वर्षेनी सयभन्दा बढी मानिसलाई गुमाउनुपरेको तीतो वास्तविकता छ ।

सुख्खा मौसम शुरु भएसँगै आगलागीका घटना पनि बढ्न थालेका छन् । सामान्य हेलचेक्र्याई र असावधानीका कारण आगलागीका घटना बढी घट्ने गर्दछन् । सानो कुरामा सतर्कता नअपनाउँदा क्षण भरमै ठूलो जनधन क्षति हुने गरेको छ । आगलागीबाट हुने क्षति कम गर्न सरोकारवाल निकायले पूर्वतयारी अपनाएपनि परेको बेलामा तयार राखिएका प्रविधि र जनशक्तिले काम गर्न नसक्दा धेरै क्षति हुने गरेको छ ।

३ वर्षमा १९७ को मृत्यु, ९३२ घाइते

पछिल्लो ३ वर्षको तथ्यांक हेर्दा आगलागीमा परी १९७ जनाको मृत्यु भएको छ । ९३२ जना घाइते भएका छन् । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार यी तीन वर्षमा ४ हजार १२ वटा घर जलेर नष्ट बने ।

गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रको तथ्याङ्क अनुसार, यो वर्ष पनि वैशाख यता मात्र दुई साताको अवधिमा देशभर १ सय ५८ वटा आगलागीका घटना भए । ती घटनामा परी ४ जनाको मृत्यु भएको छ । १० जना घाइते बने । केन्द्रका शाखा अधिकृत शुसीलकुमार भण्डारीका अनुसार, यो अवधिमा झण्डै ७ करोड रुपैयाँ बराबरको धनसम्पत्ति क्षति भएको छ ।

आगलागीबाट भएको ३ वर्षको क्षति विवरण

स्रोतः प्रहरी प्रधान कार्यालय

२ अर्बबढीको नोक्सान

गत बर्ष मात्र देशभर दुइ हजार २ सय दुई वटा आगलागीका घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार, ती घटनामा २ अर्व २६ करोड १९ लाख ८४ हजार रुपैयाँ भन्दाबढीको धनमाल नष्ट भयो ।

२०७४ सालमा पनि २ अर्व ३४ करोड बढी रुपैयाँ बराबरको क्षति भएको थियो । यो अवधिमा ५ हजार ६ सय ६९ वटा आगलागीका घटना भएका थिए । प्रवक्ता सुवेदी भन्छन्–‘पछिल्लो ५ बर्ष यताको तथ्याङ्क विश्लेषण गर्ने हो भने आगलागीबाट मात्रै वार्षिक दुई अर्ब भन्दा बढीको क्षति हुने गरेको छ ।

आगलागीको कारण विद्युत ?

गत वैशाख १२ गते रसुवाको नौकुन्ड गाउँपालिका –१ थाङदोरमा विद्युत सर्ट भएर आगलागी हुँदा पाँच घर जलेर नष्ट भए । आगलागी पछि स्थानीयले प्रहरीलाई सूचना दिएपनि प्रहरी समयमै घटनास्थलमा पुग्न नसक्दा घरहरु जलेर नष्ट भएका हुन् । वैशाख १० गते, नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोलस्थित एक इलेक्ट्रोनिक्स पसल आगलागी हुँदा एक करोड बराबरको क्षति भयो । स्थानीयबासीका अनुसार, यहाँ पनि विद्युत सर्ट भएर आगलागी भएको थियो ।

वैशाख ४ गते सप्तरीको राजविराजको बजारमा भएको आगलागीबाट ५० लाख बराबरको क्षति भयो । आगलागीबाट पसलका कपडा, फ्रिज, मोबाइल, घडी, भाँडाकुँडा नष्ट भएको थियो । आगो नियन्त्रणमा लिन एउटा दमकललाई तीन घण्टा लागेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजेन्द्र विष्टका अनुसार, शुरुमा विद्युत सर्ट भएर आगलागी भएको थियो ।

पछिल्लो दुई साता यता देखिएका यी घटना त केही प्रतिनिधी मुलक उदाहरण मात्र हुन् । प्रहरी प्रवक्ता सुवेदीका अनुसार, नेपालमा हुने अधिकांश आगलागीका घटना विद्युत सर्टका कारण भएका छन् । सुवेदी भन्छन् -‘विद्युत सर्ट पछि हुरी बतास चल्ने समयमा तराई वा पहाडमा फुसको छाना भएको घर वा जंगलमा आगो लाग्ने समस्या बढी देखिन्छ । त्यस्तै ग्याँस सिलिण्डर पड्केर वा लिक भएर पनि आगलागीका घटना हुने गरेका छन् ।’

आगो निभाउने प्रविधि र जनशक्तिको अभाव

कौशलटारमा राति लागेको आगो नियन्त्रणमा लिँदै । फाइल तस्वीर

आगो निभाउने प्रविधि र दक्ष जनशक्तिको अभावमा आगलागी नियन्त्रण चुनौतिपूर्ण बन्दै गइरहेको छ । अव्यवस्थित शहरीकरणका कारण गल्लीमा दमकल पस्न नसक्ने बाटो, बनेका संरचना पनि कमजोर, आगलागी नियन्त्रण गर्ने दमकलले सही समयमा काम नगर्दा पनि बढी क्षति हुने गरेको छ ।

घरधनीले विद्युतीय उपकरण प्रयोग गर्दा सावधानी नपनाउने गर्नाले पनि दोहोरिएर आगलागीका घटना घट्ने गरेका छन् । प्रहरी प्रवक्ता सुवेदी भन्छन्–‘सचेतनाको कमिले पनि आगलागीका घटना दोहोरिरहेका छन् । विद्युतका लागि गुणस्तरहीन तारको प्रयोग गर्नु, ग्यास सिलिण्डर प्रयोगमा साबधानी नअपनाउनु पनि अर्को समस्या हो।’

गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रको तथ्याङ्क अनुसार, अहिले काठमाडौंमा त्रिभुवन अन्र्तराष्ट्रिय विभानस्थलका ८ वटासहित २० वटा मात्र दमकल छन् । जुद्ध वारुण यन्त्र, काठमाडौंका कार्यालय प्रमुख लिलाराज गाँछामगरका अनुसार काठमाडौं उपत्यकाको जनघनत्व र बस्ती तुलना गर्दा काठमाडौंमा भएका दमकलको संख्या कम हो। अझ साँघुरा सडक र अव्यवस्थित बस्तीका कारण धेरै स्थानमा दमकल नै पुग्दैन । काठमाडौंको न्यूरोड, असनलगायतका क्षेत्रलाई लक्षित गर्दै काठमाडौं महानगरले केही समय अघि दुई पांग्रे दमकल सञ्चालन गरेपनि प्रभावकारी भएको थिएन ।

उपत्यका बाहेक देशभर जम्मा १३० वटा दमकल चालु अवस्थामा छन् । राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका शाखा अधिकृत भण्डारी अनुसार, यो संख्या एकदमै कमी हो । उनले भने, ‘यसै पनि दमकलको संख्या कम छ, त्यसमाथि भएका दमलक पनि थोत्रा र काम नलाग्ने भइसकेका छन् । यो अवस्थामा एकैपटक धेरै स्थानमा आगलागी भयो भने नियन्त्रण गर्न ठूलो चुनौति छ ।’

एउटा बारुण्ँयन्त्र कार्यालयका लागि कम्तीमा १२ जना कर्मचारी आवश्यक पर्छ । तर, अहिले देशभरी जम्मा २ सय जनामात्र दÔ अग्नि नियन्त्रक छन् । १ सय ५० वटा दमकलका लागि २ सय अग्नि नियन्त्रक संख्या पनि निक्कै कम रहेको भण्डारीले बताए ।

बच्न के गर्ने ?

आगलागीबाट बच्ने सबैभन्दा ठूलो उपाय भनेको व्यक्तिगत सावधानी नै हो । आगलागीको जोखिमबाट बच्न विद्युतीय उपकरण चलाउँदा तथा आगोसँग काम गर्दा सर्तकता अपनाउनुपर्छ । हुरी बतास चल्ने समयमा बढी आगलागी हुने भएकाले त्यो बेला विशेष सावधानी अपनाउनुपर्ने विज्ञहरु बताउँछन् ।

आगो फैलिएपछि नियन्त्रण लिन कठिन हुने भएकाले आगो लाग्न नदिने उपाय सबैले अबलम्बन गर्नुपर्छ । हावाहुरी भएका बेला बाहिर आयो बाल्नुहुँदैन भने विद्युत सर्ट भएको अवस्थामा पनि जोगिनुपर्छ ,

आगो फैलिएमा बस्तीमा रहेको जनसंख्याको विश्लेषण गर्दै आगलागीका घटना न्युनिकरण गर्ने उपाय सोचिनु आवश्यक छ । वारुण यन्त्र लगायत अन्य अग्नि नियन्त्रणहरु, ‘अर्लि वारनिङ सिस्टम’ वा ठुला घरहरुमा समेत आगलागि नियन्त्रकका उपायहरु अपनाइनु पर्छ ।

‘भवितव्य बाजा बजाएर आउँदैन, त्यसैले सावधानी आफैं अपनाउनुपर्छ’ भन्ने भनाईलाई आत्मसाथ गर्दै सम्भावित घटनाको पूर्वतयारीप्रति आफू सचेत र जिम्मेवार हुनुपर्छ ।

-khabarhub

Write your Comment