काठमाडौं ।
राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले वैकल्पिक शक्ति निर्माण हुन नसक्नु दुःखद रहेको प्रतिक्रिया दिएका छन्।
राजपा–फोरम र नयाँ शक्तिबीचमा नै एकता गर्ने प्रयास भए पनि दुई पार्टीले वैकल्पिक शक्ति निर्माणलाई पर धकेलेको बताए।
‘बाबुरामजीले वैकल्पिक शक्ति निर्माण गरौं भनेर नै हामी तयार भएको हो। तर केही समय पर्खिन मान्नु भएन,’ महतोले सेतोपाटीसँग भने,‘उहाँहरूले किस्ताबन्दीमा एकता गर्नुभयो। अब हामीले भन्ने ठाउँ रहेन।’
शनिबार नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यालयमा पार्टी संयोजक बाबुराम भट्टराई फोरम अध्यक्ष उपेन्द्र यादव,राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरू राजेन्द्र महतो र शरतसिंह भण्डारीबीच छलफल भएको थियो।
राजपा नेताहरूले तीन पार्टीको एकतासँगै गर्न र त्यसका लागि केही समय पर्खिन आग्रह गरेका थिए। राजपा नेताहरू निस्किएपछि बसेको नयाँ शक्ति फोरमको बैठकले पार्टी एकताका लाग अन्तिम सहमति गरेको हो।
फोरम र नयाँशक्तिबीच सोमबार एकता घोषणा हुँदैछ। नयाँ पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ।
-setopati
Write your Comment