प्रविधि भित्र्याउँदै सहकारी

रातोघर

 २२ बैशाख २०७६, आईतवार १२:४०  मा प्रकाशित
३६१ पाठक संख्या



काठमाडौं ।

म्यानुअलमै सीमित सहकारीले पछिल्लो समयमा प्रविधि आत्मसात गर्न थालेका छन्। पछिल्लो समय एटीएम, मोबाइल बैंकिङ, ट्याबलेट बैंकिङ, एकाउन्ट नोटिफिकेसन, ब्रान्चलेस बैंकिङ, युटिलिटी पेमेन्ट, क्यूआर कोडलगायत प्रविधि प्रयोगमा सहकारीको ध्यान जान थालेको हो।

सहकारी विभागका अनुसार देशभर ३४ हजार पाँच सय १२ सहकारी छन्। म्यानुअलमा सञ्चालनमा आएका सहकारीले सफ्टवेयर प्रयोगमा जोड दिन थालेका छन्। विभागका उपरजिस्ट्रार नारायणप्रसाद अर्यालले पछिल्लो केही वर्षयता सहकारीमा प्रविधिको प्रयोग बढ्दै गएको बताए। ‘सहकारीले प्रविधि आत्मसात गर्नैपर्छ’, उनले भने, ‘परिवर्तित समयलाई पछ्याउन सहकारीले सक्नुपर्छ।’

विभागले गरिबी निवारण तथा सहकारी सूचना प्रणाली (कोपोमिस) कार्यान्वयनमा ल्याएको छ। हालै मात्र पारित भएको सहकारी नियमावलीले बचत सहकारीलाई एक वर्षभित्र र अन्य सहकारीलाई तीन वर्षभित्रै प्रणालीमा सामेल गर्न बाध्यकारी व्यवस्था लागू गरेको छ। इन्फो डेपलोपर प्रालिका बजार व्यवस्थापक सुरेश कंसाकारका अनुसार १५ सहकारीले एटीएम सञ्चालन गरिसकेका छन्। एटीएमका लागि २५ वटा सहकारी प्रक्रियामा छन्। ‘सहमति जनाएका ३५ मध्ये बाँकी सहकारीले पनि छिट्टै एटीएम चलाउनेछन्’, उनले भने,‘प्रक्रिया अन्तिम चरणमा पुगेको छ।’

इन्फो डेपलोफरले १६ वर्षदेखि सहकारीका लागि सफ्टवेयर बिक्री गर्दै आएको छ। कंसाकारका अनुसार पहिला डेक्सटप सफ्टवेयर चलाउने सहकारी अहिले सेन्ट्ररलाइजेसन कोर बैंकिङ सिस्टम प्रयोग गर्न थालेका छन्। एसटी नेटवर्क र हिमालय बैंकको सहकार्यमा इन्फो डेपलोपरले सहकारीका लागि एटीएम बनाउन थालेको हो। प्रालिले सहकारीका लागि बैंकिङ सिस्टम बनाइदिने काम गर्छ। प्रालिबाट मोबाइल बैंकिङ कारोबार गर्ने एक सय ५० र ट्याबलेट बैंकिङ कारोबार गर्ने आठ सय सहकारी छन्।

नवलपरासीको गैंडाकोटस्थित विकू बचत तथा ऋण सहकारी संस्थाले हालैमात्र क्यूआर कोड पेमेन्ट सिस्टम सुरु गरेको छ। सहकारी क्षेत्रमा यो प्रविधि नयाँ हो। संस्थाका प्रमुख कार्यकारी अधिकृत माधव पौडेलले नयाँ प्रविधिको प्रयोगपछि विकूमा सदस्य रहेका व्यावसायिक तथा प्रतिष्ठानहरूबाट वस्तु तथा सेवा खरिद गर्दा सम्बन्धित व्यक्तिको खातामा रकम जम्मा हुन्छ। नयाँ प्रविधि प्रयोगसँगै विकुका सदस्यलाई अब पैसा बोकेर किनमेल गर्न जानु नपर्ने भएको छ।

२०४८ सालमा २६ सदस्यले १३ रुपैयाँको पुँजीबाट सुरु गरेको विकूमा हाल चार अर्बको पुँजी छ। सहकारीका ५५ हजार सदस्य छन्। चारपटकसम्म एक्सेस ब्रान्ड पाएको विकुले जिल्लामा १२ सेवा केन्द्रमार्फत अत्याधुनिक प्रविधिको प्रयोग गर्दै वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गर्दै आएको छ। सहकारीमा एटीएम सुरु गर्ने विकु नै पहिलो हो। रोयल सहकारीले दुई महिनादेखि एटीएम सुरु गरेको छ।

रोयलका सचिव एवं कार्यकारी प्रमुख भीम गुरुङले सहकारी क्षेत्रमा धेरै संघर्षपछि एटीएम आएको बताए। ‘सबै कुरा सहकारीमा पाउँछ भन्ने सोच विकास भएको छ’, उनले भने, ‘यसले काउन्टरको भिडभाड पनि कम भएको छ।’ दुई महिनाको अवधिमा पाँच सयले प्रयोग गरेका छन्। सदस्यले एसटी नेटवर्कका जुनसुकै बैंकका एटीएमबाट पनि पैसा पैसा झिक्न पाउँछन्। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले सहकारी भरपर्दो प्रविधिको पर्खाइमा रहेको बताए।

‘सहकारी प्रविधिमा नगई सुखै छैन’, उनले भने, ‘युवालाई आकर्षित गर्न प्रविधि प्रयोग आवश्यक छ।’ उनले सहकारीमार्फत क्लियरिङको काम गर्ने तयारी रहेको बताए। नेफ्स्कुनले उत्पादन गरेको सफ्टवेयर चार सय सहकारीले प्रयोग गर्दै आएका छन्। सापकोटाका अनुसार पाँच हजारभन्दा बढी संस्थाले अझै एक्सलमै कारोबार गर्छन्।

‘सहकारीमा प्रविधि भित्रिनु विकास मान्नुपर्छ’, उनले भने। राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागार्इंले प्रविधि प्रयोगमा सहकारी आकर्षित भएको बताए। ‘धेरै सहकारी म्यानुअलबाट अटोमेटिकमा जाँदैछन्’, उनले भने। खासगरी सहरकेन्द्रीत सहकारी अटोमेटिक सिस्टममा सञ्चालन हुन थालेका छन्।

बैंकले एप बेस एटीएम सञ्चालन गर्ने तयारी गरेको छ। ‘यसबाट मेसिनमा एपबाट सेक्युरिटी फिगर हालेर कारोबार हुन्छ’, उनले भने। एप्लिकेसन टेक्नोलोजी सहकारीमार्फत बैंकले छुट्टै सुरु गर्ने उनले जानकारी दिए। बैंकले पेपरलेस बैंकिङ कारोबारमा जोड दिएको छ। यसबाट कर्जा, एचआर, अपरेसन, एकाउन्टिङ, सर्भिस दिने, भुक्तानी, सिडीएस सबै विषयमा पेपरलेस हटाउने तयारीमा बैंक छ।

सहकारीका लागि छुट्टै कर्जा सूचना केन्द्र सञ्चालनमा आउँदै छ। बैंकको कालोसूचीमा परेका व्यक्ति सहकारीबाट पनि पाउन नसक्ने व्यवस्था गर्न कनेक्टिङमा जोड दिनुपर्ने गुरागार्इंको भनाइ छ। अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल सदस्य एवं राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्लले भनिन्, ‘सानो सानो कारोबार गर्ने सहकारीले प्रविधि प्रयोग गर्न सक्दैनन्।’

-annapurna

Write your Comment