काठमाडौं ।
केही महिनाअघि म माल्टामा थिएँ। त्यहाँ एक साथीले भन्नुभयो, ‘यो मिटू मुभमेन्टले गलत बाटो लियो। महिलाहरूले यसलाई नकारात्मक रुपमा प्रयोग गर्न थाले। यसकारण, अचेल पुरुषहरू महिलासँग बोल्न पनि डराउँछन्।’
उहाँको कुरा अप्रिय थियो, तर आश्चर्यपूर्ण थिएन। किनकि, मैले त्यसअघि पनि धेरैको मुखबाट यस्ता विचार सुनिसकेकी थिएँ। अरु त अरु, मेरै श्रीमानले पनि एकपटक मसँग भन्नुभयो, ‘वर्षौंअघि भएको यौन दुर्व्यवहारबारे अहिले बोलेर हुन्छ? जुन बेला हिंसा हुन्छ, त्यही बेला पो बोल्नुपर्छ।’
श्रीमान कुराले मलाई अतीतमा पुर्यायो। मैले ती दिनहरू सम्झिएँ, जुनबेला मैले यौन हिंसा भोगेकी थिएँ। आफ्नै परिवारभित्र, चिनेजानेकाहरूबाटै।
म त्यस्तै ११–१२ वर्षकी थिएँ। त्यस बेला मलाई यौन हिंसा के हो भन्ने थाहा थिएन। यौन हिंसा गर्ने पुरुषको प्रतिकार गर्ने हिम्मत पनि आइसकेको थिएन।
पारिवारिक सदस्य, घरमा आवतजावत गरिरहने नातेदारबाटै त्यस्तो हुँदा त प्रतिकार गर्न झन् गाह्रो हुने रहेछ। उनीहरू मलाई छुन्थे। मलाई अप्ठेरो लाग्थ्यो।
नमज्जा महशुस हुन्थ्यो। तर, केही गर्न सकिनँ। त्यो बेला म आफैं डराएँ। त्यो बेला म आफैं भागेँ।
परिवारमा कसैलाई भन्नसक्ने अवस्था थिएन। लाज–शरम र आफैंलाई दोष लाग्ने डरले मैले कसैलाई यो कुरा भन्न सकिनँ।
मलाई लाग्छ, ८०–९० प्रतिशत महिलाले कुनै न कुनै समयमा कुनै न कुनै खाले यौन हिंसा भोगेकै हुन्छन्। यौन हिंसाको गम्भीरतामात्रै घटीबढी होला, तर अधिकांशले यौन हिंसा भोगेकै हुन्छन्। तर, म आफूलाई कुन अर्थमा भाग्यमानी ठान्छु भने मैले भोगेको यौन हिंसा अन्य कतिपय महिलाले भोगेका झैं डरलाग्दो थिएन। यहाँ त अहिले ६ महिनादेखि ९० वर्ष सम्मका महिलाहरू बलात्कारको शिकार भइरहेका छन्।
त्यो हिंसाले मेरो भावनामा चोट पुर्यायो, मानसिकतामा असर गर्यो, तर मेरो व्यावसायिक जीवन नै बर्बाद हुने गरी क्षति पुर्याएन। सानोमा भोग्ने हिंसाको मानसिक पीडाले कतिलाई त जिन्दगीभरि सताउँछ।
जेहोस्, त्यो कुरा मैले वर्षौंसम्म कसैलाई भन्न सकिनँ। तर, मिटू मुभमेन्टका तरङ्गहरू फैलिन थालेपछि भने मलाई बाल्यकालमा भोगेको हिंसा सार्वजनिक गर्ने साहस जुट्यो। सुरुमा यो कुरा मैले मेरै श्रीमानलाई भनेँ।
महिलाले जुन बेला यौन हिंसा भोगेका हुन्छन्, त्यो बेला त्यो कुरा भन्ने साहस, क्षमता र वातावरण नहुन सक्छ। जसरी मलाई त्यसबेला त्यो यौन हिंसा हो भन्ने चेतना थिएन, अरुलाई पनि नहुन सक्छ। आफूले भोगेको यौन हिंसाबारे जुन बेला साहस आउँछ, त्यही बेला भन्ने हो।
मैले मिडियामा लामो समय बिताएँ। टेलिभिजनमा काम गरेँ, जहाँ अधिकांश सहकर्मीहरू पुरुष हुन्थेँ। उनीहरू सहयोगी थिए। तर, कतिपयको सहयोगी भावनाको पछाडि अर्कै आशय लुकेको हुन्थ्यो। त्यो बेला ममा उनीहरूको आशय विश्लेषण गर्ने शक्ति थिएन।
कतिपय पुरुष सहकर्मीहरू मलाई नियाल्दै भन्थे – अहो, तिमी त आज कस्तो च्वाक देखिएकी रहेछौँ ! कोही भन्थे – हामी त मुर्च्छा पर्छौँ कि क्या हो !
उनीहरूको कुराले मलाई अप्ठेरो महशुस हुन्थ्यो। मेरो अनुहार रातो हुन्थ्यो। पुरुष सहकर्मीहरूले मेरो रुप र शारीरिक बनोटबारे अनावश्यक टिप्पणी गर्दा प्रतिरोध गर्ने आत्मविश्वास ममा थिएन।
हुन त ती मौखिक टिप्पणीहरू मात्रै थिए। ती टिप्पणीले मलाई भौतिक असर पुर्याउँदैन थियो। तर, त्यसले पुर्याउने मानसिक असर पनि कम हुन्थेन।
म घरेलु हिंसा पीडित महिलालाई साथ र भरोसा दिने साथी संस्थाकी संस्थापक पनि हुँ। यो संस्था स्थापना गर्दा घरेलु हिंसा एउटा मुद्दाको रुपमा स्थापित भएकै थिएन। अधिकांशले यसलाई स्वाभाविक घटनाको रुपमा स्वीकार गरेका थिए। घरेलु हिंसाविरुद्ध काम गर्ने संस्थाहरू छँदै थिएनन्। त्यस्तो बेला घरेलु हिंसाबारे कुरा गर्दा हामीलाई धेरै गाली गरे। अर्काको घर भाड्ने खोजेको आरोप लगाए।
साथी संस्था स्थापना गर्नुको उद्देश्य घरेलु हिंसामा पर्ने महिलालाई साथ दिनु मात्रै थिएन, सबै महिलालाई यस्ता हिंसाविरुद्ध बोल्ने साहस र चेतना दिनु पनि थियो। त्यसबेला साथी संस्थाले घरेलु हिंसाविरुद्ध बोल्न महिलालाई साहस दिए झैं मिटूले अहिले हामीलाई यौन हिंसाका घटनाहरू बाहिर ल्याउन मनोबल दिएको छ।
मिटू सुरु भएपछि मात्रै मैले पनि सानो छँदा आफूले भोगेको यौन हिंसाको घटनाबारे रिफ्लेक्ट गरेँ। शिक्षित र उदारवादी परिवारमा जन्मिएकी, मिडियामा काम गरेकी, अधिकारको क्षेत्रमा तीन दशक बिताएकी र लैङ्गिक समानताका लागि राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै वकालत गरिरहेकी मजस्ती महिलालाई त आफ्नो अनुभव सुनाउन यति वर्ष लाग्यो भने अन्य नेपाली महिलाको के होला?
मिटूकै बलमा केही नेपाली महिलाले आफूले भोगेका यौन हिंसाबारे सार्वजनिक रुपमा बोलिसकेका छन्, जुन सकारात्मक छ। तर, यहाँ अझै यो आन्दोलन व्यापक र प्रभावकारी हुन सकेको छैन। किनकि, आफूले भोगेको यौन हिंसाबारे सार्वजनिक रुपमा बोलिसकेपछि पारिवारिक, सामाजिक र पेशागत सहयोग पाउँछु कि पाउँदिनँ भन्ने दुविधा नेपाली महिलालाई छ।
यसैले, सबैले अझै आफ्ना भोगाइहरू सार्वजनिक गर्न सकेका छैनन्। तर, जतिले सार्वजनिक गरे, त्यसले ल्याउनुपर्ने तरङ्ग ल्याएको छ। कतिपय संस्थाका प्रमुखहरू यसप्रति सचेत भएका छन्। यो मुद्दालाई सम्बोधन गर्ने आन्तरिक नीतिहरू बनाइरहेका छन्। व्यक्तिगत स्तरमा भने अधिकांश पुरुषहरू सचेत भएका छन्। विगतमा आफ्नो शक्तिको दुरुपयोग गर्दै आफूभन्दा शक्तिहीन महिलामाथि यौन हिंसा गर्ने पुरुषहरू अहिले झस्किएका छन्।
तर, मिटू भनेको महिलासँग डराएर हिँड्नुपर्ने अवस्था होइन। जो पुरुष आफ्नो शक्तिको दुरुपयोग गर्दैनन्, महिलामाथि यौन हिंसा गर्दैनन्, उसले यो आन्दोलनबारे नराम्रो धारणा बनाएकै छैन। किनभने, उसले आफ्नै लागि लक्ष्मणरेखा कोरेको हुन्छ। जसले विगतमा लक्ष्मणरेखा नाघेको छ, वा नाघ्ने प्रवृत्तिकाे छ, ऊ मात्रै मिटूसँग झस्किएको हो।
(महिलाविरुद्ध सबै प्रकारका भेदभाव उन्मूलन गर्ने संयुक्त राष्ट्रसंघीय महासन्धि (सिड) कमिटीकी उपाध्यक्ष वन्दना राणासँग कुराकानीमा आधारित)
समाचार स्रोत –kathmandupress.com
Write your Comment