गर्भवती छोरीसहित ज्वाइँलाई पनि जिउँदै जलाउने यो परिवार

रातोघर

 २०७६ बैशाख २४, मंगलबार  मा प्रकाशित
७७० पाठक संख्या


मुम्बई।

एक परिवारले आफूहरुको सहमति विपरीत विवाह गरेको भन्दै छोरीसहित उनका पतिलाई जिउँदै जलाइदिएको छ ।

छोरीले अन्तरजातीय विवाह गरेको निहुँमा परिवारले यस्तो अपराध गरेको हो । यो घटना भारतीय राज्य महाराष्ट्रअन्तर्गत पर्ने अहमदनगरको हो ।

इन्डियन एक्सप्रेसको समाचारका अनुसार जिउमा आगो लगाइएकी १९ वर्षीया रुक्मिणी रणसिंहको मृत्यु भएको छ । उनका पति मंगेश रणसिंहको भने पुनेको ससून अस्पतालमा उपचार भइरहेको छ ।

युवती लोहार समुदायबाट थिइन् भने उनका पति पासी समुदायका थिए । समाचारका अनुसार जिउमा आगो लगाएर मृत्यु भएकी रुक्मिणी २ महिनाकी गर्भवती थिइन् ।

पति–पत्नीलाई जिउँदै जलाउने रुक्मिणीका दुई काका सुरेन्द्र भारतीय र घनश्याम सरोजलाई प्रहरीले गिरफ्तार गरिसकेको जनाइएको छ । रुक्मिणीका पिता राम भारतीय भने फरार छन् ।

प्रहरीका अनुसार यो घटना १ मे परनार इलाकाको निधोइ गाउँमा भएको थियो । रुक्मिणीले अघिल्लो वर्षको अक्टुबर महिनामा विवाह गरेकी थिइन् ।

Write your Comment