बाराको पसाहा खोला तटबन्धको शिलान्यास

पुष्पराज खतिवडा

 २६ बैशाख २०७६, बिहीबार १४:३०  मा प्रकाशित
२६५ पाठक संख्या


बारा ।

संघिय सरकार अन्तरगत उर्जा मन्त्रालयको आर्थीक सहयोगमा जीतपुरसिमरा उपमहानगरपालिका १८ को कुस्माडी नजिकै पसाहा खोलाको पश्चिम तटमा तटबन्धको निर्माण कार्य सुरु भएको छ ।

सरकारको १ करोड ९० रुपैयाँ लागतमा ४ सय ८५ मिटर खोला किनार गरिने तटबन्धको सरकारका तर्फबाट पूर्व राज्यमन्त्री एवं प्रदेश २ विधायक ज्वाला कुमारी साहले शिलान्यास गर्नु भएको छ ।
माटो थुपार्ने कार्य सम्पन्न भई तारजालीको कार्य प्रारम्भको गरिएको हो । आगामी ४५ दिन भित्र सकिने गरि थालिएको कामका लागि स्थानिय शिव बहादुर पौडेल तथा भरत लोप्चनको नेतृत्वमा उपभोक्ता समिति गठन भएको स्थानिय वडा प्रतिनीधि कुमार लामाले जानकारी दिए ।

खोलाको ६ मिटर मुनीबाट ६ मिटर माथी सम्म ढुङ्गा भरेर तारजालीको सहयोगमा ५ दशमलव ५ मिटर चौडाको तटबन्ध कार्य गरिने छ ।
यस अघी २०७३ सालमा जल उत्पन्न प्रकोप बाराले समेत ठुलो लगानीमा २ हजार १०० मिटर क्षेत्रमा बालुवाको ड्याम निर्माण गरेको थियो । यद्यपी काम सम्पन्न नहूँदै खोलामा आएको बाढीले आधा भन्दाबढी क्षेत्र भत्काउँदा बालुवा बगेर सयौं हेक्टर जमिन पुरेको थियो ।

पछिल्लो समय बारामा निर्माणधिन अन्तराष्टिय विमान स्थल परियोजनाले खोलाको पूर्वी किनारमा ब्यवस्थीत रुपमा तटबन्ध गरिरहेको छ । पश्चिमी किनारमा तटबन्ध नहुँदा बर्षेनी अधिकाँस गाउँबस्ती तथा कृषि योग्य जमिनमा बाढी बस्न थालेको उपमहानगरपालिका मेयर डा. कृष्ण पौडेलले बताए । २५ सय मिटर करिब क्षेत्रमा विमान स्थलले तटबन्ध गर्दा पश्चिम किनार थोरैमात्रै कामका लागि थालनी भएको छ ।

विहिबार विहान पसाहा टोल नजिकै खोला किनारमा आयोजित शिलान्यास कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख डा. कृष्ण पौडेल, कार्यकारी प्रमुख शिवराज खेडाई, वडा अध्यक्ष अर्जुन प्रसाद दाहाद लगायतको सहभागिता रहेको थियो ।

Write your Comment