विराटनगर ।
सुनसरीको सदरमुकाम इनरुवाका व्यापारी छगनलाल शर्माले नेपाल र भारतको दोहोरो नागरिकता लिएको पाइएको छ । इनरुवा बजारमा सुरज फेन्सी स्टोर कपडा पसल सञ्चालन गरेर बसेका उनले ३४ वर्षको उमेरमा २०३४ सालमा नेपालमा वंशजको नागरिकता लिएका थिए । नेपालको नागरिकता नम्बर ६२५६/२७१९ रहेका उनले भारतको नागरिकता पनि त्यागेका छैनन् ।
भारतीय मतदाता परिचयपत्र नम्बर आईएक्सक्यू/०३३०५१९ रहेको उनको भारतको राजस्थानस्थित बेकानेर जिल्ला वडा २७ मा (नारायण निवास घर नम्बर २७६ के) दुईतले घर छ। उक्त घर उनकी दिवंगत श्रीमती सुशीलादेवीका नाममा छ। सुशीलादेवीले पनि नेपालको नागरिकता लिएको देखिन्छ।
२०००००८१०६८६ नम्बरको रासनकार्ड लिएका छगनलालले २०२९४ नम्बरको मगनलाल रामावतको पसलबाट भारत सरकारले दिने रासन लिने गरेको देखिएको छ। छगनलालले २०१७ मा राजस्थानको बिकानेर जिल्लामा विधानसभा निर्वाचन क्षेत्र नम्बर १३ मा मतदान गरेको समेत भारतीय निर्वाचन आयोगको वेबसाइटमा देखिन्छ।
उनले नेपालमा पनि मतदान गरेको देखिन्छ। १६७१९७१ नम्बर मतदाता परिचयपत्र लिएका उनले इनरुवाको भगवती माविमा रहेको निर्वाचन केन्द्रबाट मतदान गरेका हुन्। उनले नेपालमा वृद्धभत्तासमेत लिइरहेका छन्।
उनका तीनजना छोरा र उनीहरूका श्रीमतीको समेत दोहोरो नागरिकता देखिएको छ। छगनलालका छोराहरूले पनि नेपालमा वंशजको नागरिकता लिएका छन्। उनका जेठा छोरा रमेशकुमारले पनि भारतीय रासनकार्ड र नागरिकता लिएका छन्।
२०००००८५३८५ नम्बरको रासनकार्ड लिएका उनले पनि मगनलाल रामावतको पसल नम्बर २०२९४ बाट रासन लिने गरेको देखिएको छ। १५४४६८७ नम्बरको नेपालको मतदाता परिचयपत्र लिएका रमेशले इनरुवाको भगवती माविमा रहेको निर्वाचन केन्द्रबाट मतदान गरेको देखिन्छ। ०३३०५३७ नम्बरका भारतीय मतदाता उनले भारतको निर्वाचनमा समेत भाग लिएको देखिन्छ।
छगनलालका अर्का छोरा सुरेशको पनि २०००००१०८३५८ नम्बरको रासन कार्ड छ। उनले भने २०२९५ नम्बरको चेतनदास आचार्यको पसलबाट रासन लिने गरेको देखिन्छ। निर्वाचन आयोग नेपालको वेबसाइटमा उनको मतदाता परिचयपत्र १५४४६८८ नम्बरमा देखिन्छ। भारतीय निर्वाचन आयोगको वेबसाइटमा ०३३०५५५ नम्बरमा उनको नाम देखिन्छ।

छगनलाल शर्माको भारतीय राशन कार्ड।उनका कान्छा छोरा आशिषको पनि दोहोरो नागरिकता छ। ०३३०५७३ नम्बरको भारतीय मतदाता परिचयपत्र लिएका आशिषको १६७१९६७ नम्बरको नेपाली मतदाता परिचयपत्र छ। वैवाहिक अंगीकृत नागरिकता लिएका सुरेश र रमेशका श्रीमती वीणादेवी र गायत्रीदेवीले पनि भारतको नागरिकता त्यागेको देखिँदैन।
छगनलाल इनरुवाका प्रतिष्ठित व्यापारी हुन्। रेडक्रस सुनसरी, इनरुवा सत्यनारायण मन्दिरलगायत विभिन्न सामाजिक संस्थामा आबद्ध भएर काम गरेका उनले भर्खरै भारतको राजधानी दिल्लीमा नयाँ फल्याट खरिद गरेको स्रोतले बतायो। रेडक्रस सुनसरीमा रहँदा उनले २०६४ मा आएको कोसी बाढीपीडितको राहत घोटाला गरेको आरोपमा अख्तियारमा मुद्दासमेत चलेको थियो। धेरैजसो समय दिल्लीमै बस्ने गरेका उनी वृद्धभत्ता थाप्न मात्रै नेपाल आउने गरेको स्रोतले बतायो।
-kantipur
Write your Comment