सफल खेलाडीको अधुरो सपना, राष्ट्रिय टोलीमा पर्न अनुले गरेको संघर्ष

रातोघर

 २८ बैशाख २०७६, शनिबार १८:२७  मा प्रकाशित
४७० पाठक संख्या



काठमाडौं ।

खेलमा रुचि राख्ने जो कोहीले राष्ट्रिय खेलाडी बन्ने र देशका लागि खेल्ने सपना बोकेको हुन्छ । तर, यो सपना पूरा गर्ने अवसर सबैलाई प्राप्त हुँदैन । त्यसका लागि खेलप्रतिको लगाव, क्षमताको निखारपना आवश्यक छ ।

महिला खेलाडी, त्यसमा पनि फुटबल खेल्ने भन्ने बित्तिकै समाजमा एक प्रकारको विद्राह गर्नुपर्छ । खेलका लागि गर्ने अभ्यास फरक पाटो भयो । समाजको प्रश्नलाई आफ्नो क्षमताले जवाफ दिँदै देशकै लागि खेल्ने एक महिला खेलाडी अहिले आम महिला फुटबलरका लागि प्रेरणाको स्रोत हुन् । मकवानपुरमा जन्मिएर रौतहटमा बसेर खेल जीवनलाई अघि बढाउने नेपाली फुटबल खेलाडी र फुटबल प्रेमीले रुचाएकी अनु लामाले खबरहबसँग मज्जाले खुलेर आफ्नो खेल जीवन, भोगेका समस्या र महिला खेलाडीले सामना गर्नुपर्ने चुनौती उजागर गरेकी छन् ।

नेपालमा राष्ट्रिय पुरुष फुटबल र त्यसका खेलाडीको जति चर्चा छ, महिला फुटबलर त्यति नै ओझेलमा परेका छन् । तर, केही खेलाडी यस्ता छन् उनीहरुको मेहनत तथा नियमित सुधारउन्मुख प्रदर्शनले चर्चामा आउने गरेका छन् । यसैगरी सबैले चिन्ने नेपाली महिला फुटबलर बन्ने खेलाडी हुन अनु लामा ।

महिला फुटबलमा १० नम्बर जर्सी निकै चर्चित र स्टार खेलाडीले लगाउँने गर्छन । यही जर्सी लगाएर नेपाली खेलाडीकी आइकन बनेकी खेलाडी हुन अनु ।

केही समय अगाडिसम्म नेपाली राष्ट्रिय महिला टोलीमा आफ्नो स्थान खोज्दै गरेकी उनी अहिले बर्तमान भन्दा पनि भुतमा समेटिइसकेकी छन् । त्यो दिन बन्यो, बैशाख २२ गते आयोजित एन्फा ‘डे’ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो दिवस मनाइरहँदा अनुसहित विभिन्न खेलाडी तथा प्रशिक्षक सम्मानित भएका थिए ।

त्यहीँ समानरोहका बीच अनुले राष्ट्रिय टोलीमा आफु कहिलै नर्फकने औपचारीक घोषणा गरिन् । जति कठिन उनलाई यो घोषणा गर्न भयो त्यो भन्दा कयौं कठिनाईका पहाडहरु उछिन्दै आफुलाई सफल फरवार्डका रुपमा स्थापित गरिन् ।

एन्फाले नेपाली महिला फुटबलमा उनले दिएको योगदानको कदर स्वरुप १५ लाख नगद पुरस्कार राशीसहित सम्मान गरेको थियो । सम्मान प्राप्त गरिरहँदा उनले आफ्नो प्रतिभा र योगदानको कदर भएको महसुस गरेकि थिइन् । ‘दुखको फल प्राप्त गर्दा जुन खुसी मिल्छ । त्यस्तै खुसी यतिबेला मैले महसुस गरिरहेकी छु । हामी खेलाडीका लागि यो भन्दा ठूलो खुसी के हुनसक्छ र ? यो नै मेरो खुसीको क्षण हो,’ उनले भनिन्, ‘मेरो खुसीमा घर–परिवार, मेरा प्रशिक्षक, टिम मेट, जिल्लाका कोच मलाई यहाँसम्म पुग्न सहयोग गर्नु हुने सबैलाई सम्झिरहेकी छु ।’

होचो कदकी पूर्व कप्तान अनु कार्यक्रममा उपस्थित भइरहँदा आफ्नो खेल जीवनको सबैभन्दा महत्वपूर्ण निर्णय गर्दै गर्दा उनका ओठहरु कापिरहेका थिए । उनले बोलिरहँदा पनि हल पुरै गुञ्जियमान बनेको थियो, त्यो उनको सम्मान थियो । त्यो नै उनले कमाएको सबैभन्दा ठूलो धन पनि । त्यसले उनलाई आगामी दिनमा कुनै व्याज दिने छैन्, नत उनको पेट नै भरिनेछ । तर, उनका लागि गौरवको विषय हो । जुन सबैका लागि जुर्दैन् ।

रौतहटको चन्दनपुर नगरपालिकामा बस्ने उनी मकवानपुरमा जन्मिएकी थिइन् । गाउँमा महिलाहरुले फुबटल खेल्न वातावरण थिएन् । अझै भनौं त्यतिबेला त महिला फुटबल खेलाडी भेट्नै मुस्किल । त्यस्तैमा पुरुष खेलाडीहरुसँगै भएर फुटबल खेलेको पनि अनुसँग राम्रो अनुभव छ ।

त्यसोत, उनका छर छिमेकीले उनीबारे शुरुवाती दिनहरुमा कुरा काट्ने गरेका थिए । अनुकै शब्दलाई साभार गर्नु पर्दा पछि अनुले सफलता हात पार्दै गर्दा उनीहरुले बधाई दिँदै खुसी मनाउने गरेका थिए ।

अनुलाई आमा–बुबाले सँधै साथ दिए । बच्चामा छोरीले फुटबल खेल्नु हुँदैन भन्ने परम्परा तोड्न सफल भएकी उनले फुटबललाई नै आफ्नो करियर बनाएपछि घर परिवारले पनि उनको योजनामा साथ दिए ।

आफ्नो खेल जीवनमा निकै संघर्ष गर्नु परेको अनुको अनुभव छ । जतिबेला फुटबलका सामाग्री किन्न पनि गोजीमा पैसा हुँदैन थ्यो । ‘मेरो करियरका लागि जुन संघर्ष गरे । त्यो निकै चुनौतिपूर्ण थियो । किट्सहरु किन्नेदेखि यताउता जान सहज थिएन,’ उनले अगाडि थपिन्, ‘हामी महिला खेलाडीप्रति समाजले हेर्न नजरपनि राम्रो थिएन । घर–परिवारभन्दा पनि वरपरका मानिसहरुले कुरा काट्दा समस्या हुन्थ्यो । तर, पनि त्यसलाई छिचोलियो ।’

१५ वर्षे खेलाडी जिवन उनलाई हिजो अस्ती जस्तो लाग्छ । भन्छिन्, ‘अस्ती भर्खर खेलेको जस्तो लाग्छ ।’

नेपालमा पुरुषभन्दा पछि रहेको फुटबलमा केही समययता प्रतियोगिता बढे पनि खेलाडीलाई ठूला प्रतियोगिता आउन वर्ष दिन कुर्नु पथ्यो । उनले पनि १५ वर्षको करियरमा मात्रै २९ खेलमात्रै खेलिन् ।

‘हाम्रो पालामा अहिलेको जस्तो प्रतियोगिता नै हुँदैन्थ्यो । तर, अन्तराष्ट्रिय खेलमा अन्य टिमहरुविरुद्ध धेरै गोल गर्न सके । स्टाइकर भएकाले गोलका लागि पाएको अवसर सदुपयोग गर्न सक्दा खुसी लाग्छ,’ अनुले भनिन् ।

नेपालकी सफल फरवार्ड अनु यस्ती खेलाडी हुन्, जो २ वर्ष भन्दा बढी समय मैदान बाहिर रहेर पनि उत्कृष्ट पुनरागम गरिन । पुनरागमन पश्चात उनले आफ्नो क्लबबाट मात्रै होइन राष्ट्रिय टोलीमै स्थान बनाइन् ।

२ वर्षपछिको उत्कृष्ट कमब्याक

अनुको घुडामा चोट लागेपछि कतिपयले भनेका थिए उनको करियर सकियो । तर, उनले त्यसलाई गलत सावित गरिन् । निकै मेहेनत पछि डेढ वर्षमा नै राष्ट्रिय टोलीमा स्थान बनाउँन सफल भइन् ।

उनलाई एकीन थाहा नभएपनि लाग्छ २०७२ साल भदौ १७ गते नै हो । जुन दिन उनको फुटबलका लागि कालो दिन बनेर आयो । जसले उनको करियरलाई नै चुनौति दियो ।

चौथो प्रधानसेनापति कपको तयारीका दौरान अनुको खुट्टामा चोट लाग्यो । जुन चोटले उनको करियरको गतिलाई केहि हदसम्म कमजोर बनायो । एउटा गतिमा रहेको स्टार खेलाडीलाई चोटले थला पार्दा पनि अनुले आफुलाई त्यसबाट मुक्त गरिन् । जसको नतिजा उनी साढे एक वर्षमै फुटबलमा फर्किन सफल भइन् ।
तर, पुनरागमका लागि निकै मेहनत गरेकी उनी राष्ट्रिय टोलीमा कहिलै पहिलो रोजाईमा पर्न सकिनन् जबकी उनी क्लब फुटबलमा एपीएफको पहिलो रोजाईबाट खेल्दै आएकी थिइन् ।

अनुले जति मेहनत चोटबाट फर्किदा गर्नु पर्यो त्यो सायद त्यसअघि राष्ट्रिय टोलीमा स्थान बनाउन गर्नु परेको थिएन । ३ पटक महिला साफ च्याम्पियनसिप खेलेकी उनले तेस्रो साफ च्याम्पियनसिपमा कप्तानी गरेकी थिइन् भने चौथो र पाँचौ संस्करण दर्शक दिर्घाबाट नियाल्नु पर्यो ।

सुखद् करियरको अधुरो विदाई

सन् २००४ मा चीनमा सम्पन्न यु–१९ एसिया कप छनोट खेलिकी अनुले राष्ट्रिय टोलीमा डेब्यु भने २०१० मा गरेकी थिइन् । २०१० मा बंगलादेशको ढाकामा सम्पन्न ११ औं दक्षिण एसियाली खेलकुद (साग) मा राष्ट्रिय टोलीबाट डेब्यु गरेकी अनुले डेब्यु प्रतियोगितामै ५ गोल गरिन ।

निरन्तर राष्ट्रिय टोलीमा स्थान बनाएकी अनुले २४ औं अन्तराष्ट्रिय खेलमा ३५ गोल पुरा गरेकी हुन् । उनले राष्ट्रिय टोलीको अन्तिम जर्सी अन्तिम पटक केही महिना अगाडि भारतमा सम्पन्न हिरो महिला गोल्डकपका दौरान लगाउने अवसर पाएकी थिइन् ।

तर, अनुले विराटनगरमा आयोजना भएको ५ औं साफ च्याम्पियनसिप खेल्दै फुटबल करियरबाट बिदा लिने तयारी गरेकी थिइन् । अफसोस उनी साफ च्याम्पियनसिपका लागि छनोट गरिएको २० सदस्यीय टिममा अटाउन सकिनन् । जसका कारण एन्फा र मुख्य प्रशिक्षक हरि खड्काको आलोचना समेत भएको थियो । एउटा खेलाडीको खेल भावनाका लागि भएपनि उसलाई सुखद् विदाईको अवसर दिइनु पर्ने भन्दै आलोचना पनि भएको थियो । तर, यस विषयमा नत, एन्फाले कुनै प्रतिक्रिया दियो नत, प्रशिक्षक हरि खड्का नै बोले ।

तर, अनुले भने यो निर्णयमा असन्तुष्ट प्रकट गरिन् । जसमा उनको प्रतिक्रिया थियो,‘आफ्नो लय समात्ने कोसिस गरेकी थिए । जसका लागि धेरै मेहनत पनि गरेकी थिए । तर, प्रशिक्षकलाई मेरो प्रदर्शन अपुग लाग्यो । मैले टिममा स्थान पाइन् ।’ उनले साफ च्याम्पियनसिप खेलेर बिदाई लिने बताएपनि त्यो अवसर नपाउँदा आफ्नो सपना अधुरो रहेको बताउँदै आएकी छन् ।

फरक भूमिकामा आउँछु

राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेकी अनु घरेलु मैदानमा भने सशस्त्र प्रहरी बलको एपीएफ क्लबबाट खेल जारी राख्ने छिन् । अनुले राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरिरहँदा क्लब फुटबललाई भने केही वर्ष निरन्तरता दिने बताएकी छन् ।

त्योसँग अनुले त्यसपछि भने प्रशिक्षक तथा तालिममा लाग्ने बताएकी छन् । ‘केही वर्ष क्लबाट खेल्छु । त्यसपछि कोचिङ र ट्रेनिङमा सरिक हुन्छु,’ उनले भनिन् ।

-khabarhub

Write your Comment