राष्ट्रपति भण्डारी भोली जनकपुर आउँदै

रातोघर

 २९ बैशाख २०७६, आईतवार २०:१६  मा प्रकाशित
११३ पाठक संख्या



जनकपुर।

राष्ट्रपति विद्यादेवी भण्डारी सीता नवमीको अवसर पारेर भोली जनकपुरको जानकी मन्दिर आउने भएकी छिन् । सीता नवमीका अवसरमा जानकीमन्दिरमा हुने पूजाअर्चनामा राष्ट्रपति भण्डारी सरिक हुने भएकी हुन् । साथै भारतका विशिष्ट अतिथि र महन्थ तथा साधुसन्त समेत जनकपुर पुग्नेछन् ।

राष्ट्रपति लगायतको भ्रमण तालिका तय भएका बेला जनकपुर उपमहानगरका मेयर लालकिशोर साह भने तनाबमा देखिएका छन् । विशिष्ट पाहुनाहरुको स्वागतका लागि मन्दिर परिसर क्षेत्र सरसफाई गर्नुपर्ने समयमा सरसफाई कर्मचारीहरु आन्दोलित भएका कारण मेयर साह तनाबमा देखिएका हुन् ।

साढे चार महिनादेखि तलब नदिएको भन्दै ज्यालादारीमा कार्यरत ५६ सरसफाई कर्मचारीले आजदेखि आन्दोलन शुरु गर्दै उपमहानगर परिसरमा धर्नामा बसेका छन् । साढे चार महिनाको तलब र करार नियूक्ति नदिएसम्म काममा नफर्किने धर्ना बसेका राजिन्द्र मेस्तरले बताए ।

सरसफाई कर्मचारीको नेतृत्व गरिरहेका प्रमेश्वर मेस्तरले पकट पटक तलब उपलब्ध गराउन मेयर साहलाई ध्यानाकर्षण गराउँदा पनि वास्ता नगरेको गुनासो गरे । धर्ना स्थल पुगेर मेयरले कर्मचारीका माग पूरा हुने आश्वासन दिँदा पनि कर्मचारीले वेवास्ता गरेका छन् । उनीहरुले लिखित प्रतिबद्धता नजनाएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

Write your Comment