जनकपुरधाम ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ सरकारले सुरु गरेको ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियानको खुलेर प्रशंसा गरेकी छन् ।
राष्ट्रपति भण्डारीले सीता नवमीको अवसरमा प्रदेश २ को राजधानी पुगेकी छन् । जानकी मन्दिर प्राङ्णमा आयोजना गरेको कार्यक्रममा उनले अभियान सही ढँगले अगाडि बढिरहेकाले आँफुले प्रशंसा गर्न चाहेको बताईन् । उनले यो अभियानलाई सामाजिक चेतना र जागरणको महत्वपूर्ण पाटोको संज्ञा समेत दिइन् ।
उनले कतिपय सामाजिक विकृति र विसंगति विद्यमान रहेको भन्दैे चिन्ता व्यक्त गरिन् । यसको अन्त्यका लागि सबै कृयाशील व्यक्तिहरु अगाडि आउनु जरुरी रहेको बताईन् ।
तराई मधेस कृषि क्षेत्र भएपनि उत्पादन र उत्पादकत्वमा कमी आउनु दुःखद भएको उनले बताइन् । राष्ट्रपति भण्डारीले चुरे क्षेत्रको वातावरण संरक्षणमा ध्यान दिई पर्यावरण सन्तुलन कायम र स्थानीय श्रोत र साधनको भरपूर उपयोग गरेर आर्थिक समृद्विमा लाग्न सबैसँग आग्रह गरिन् ।
कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी नवमीलाई संघीय सरकारले राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्ने धारणा राखे ।
प्रदेश सरकारले प्रादेशिक रुपमा मनाउँदै सोमबार विदासमेत दिएको छ । जानकी मन्दिरलाई संघीय सरकारले आफ्नो नजरबाट टाढा राखेको उनको गुनासो छ ।
Write your Comment