धार्मिक पर्यटन प्रवर्द्धन तथा विश्व शान्तिको कामना गर्दै मुस्ताङको बारागुङ मुक्तिक्षेत्र १ मुक्तिनाथ रानीपौवामा सोमबारदेखि वृहत् बज्रगुरु धुङ्ग्युर पुजा हुने भएको छ। मुक्तिनाथ पुराङ रानीपौवा गाउँ समाजले आयोजना गर्ने उक्त पुजामा ११ करोड म्हाने पुजा जप गर्ने कार्यक्रम छ ।
मुक्तिनाथको पुराङ रानीपौवा बजारको पूर्वतर्फको थुम्कोमा ४ वर्षअघि निर्माण भएको गुरु रिन्र्पोछे बुद्धमुर्ति पदस्थापनको अवसरमा पुजाको आयोजना गर्न लागिएको गाउँ मुखिया छिरिङ वाङ्वो गुरुङले जानकारी दिए । उनले धुङ्ग्युर पुजाको तैयारी अन्तिम चरणमा पुगेको बताए ।
पुजाको तयारीका लागि भारतीय दूतावासले निर्माण गरेको प्रयोग विहिन अवस्थामा रहेको जीर्ण धर्मशालाको स्थानीयले स्तरोन्नति गरेका छन् । धर्मशालामा गाउँपालिका र स्थानीय प्रशासनको अनुमतिमा बिजुली, खानेपानी तथा अत्यावश्यक सामग्री जुटाइएको गाउँ प्रतिनिधि सुरज गुरुङले जानकारी दिए । धर्मशाला ५ वर्षदेखि प्रयोगविहिन छ ।
पुजामा आउने धर्मालम्बीहरुको आवासका लागि रानीपौवा खेल मैदानमा १५ जना अटाउने १४ थान पालको व्यवस्था गरिएको गुरुङले बताए । उनका अनुसार पुजाका लागि स्वागत गेट निर्माण, रिन्र्पोछेको तस्बिरसहितको पोष्टर टाँस्ने र गाउँ सरसफाईको काम सम्पन्न भएको छ ।
पुजामा करिव १ हजार बढि बौद्ध धर्मालम्वीहरु मुक्तिनाथ आउने आयोजकको अनुमान छ । काठमाडौंबाट ३ सय ५०, पोखराबाट सय, मनाङबाट सय जना, बारागुङ मुक्तिक्षेत्रबाट ३ सय ५०, जोमसोमदेखि तलबाट १ सय ५० जना बौद्ध धर्मावलम्बी आउने आयोजकको दावी छ । धुङ्ग्युर पुजामा आउने आगन्तुकहरुका लागि यातायात, आवास र भोजनको निःशुल्क व्यवस्था गरिएको छ । आयोजक पुराङबासीका अनुसार पुजामा करिव ५० लाख बढी खर्च हुने जनाएको छ ।
बज्र गुरु धुङ्ग्युर पुजाका लागि व्यक्तिगत र विभिन्न संघसंस्था र प्रवासी नेपालीहरुले आर्थिक सहयोग गरेको गाउँ मुखिया छिरिङ वाङ्वो गुरुङले जनाए । पुजामा सहभागि हुनेहरुले जम्ने सरदर म्हानेलाई औसतमा गणना गरेर ११ करोड म्हाने जप पुर्याउने छ । जति धेरै म्हाने जप्ने तिर्थालु सहभागी हुन्छन्, पुजा पनि सोही अनुसार कम दिन लाग्ने जनाइएको छ । कार्यक्रम १५ दिन देखि १ महिनासम्म लम्बिने आयोजकको भनाई छ ।
Write your Comment