बाराका आँधी प्रभावित बालबालीकालाई यसरी गरिँदैछ मनोउपचार !

पुष्पराज खतिवडा

 ३० बैशाख २०७६, सोमबार २१:१७  मा प्रकाशित
३४५ पाठक संख्या



बारा। 
गत चैत्र १७ गते गएको आँधीबाट प्रभावित स्कुले बालबालिकामा रहेको त्रास हटाउन प्रभावित क्षेत्रका १० स्थानमा बालमैत्री स्थल बनाएर कक्षा संचालन भैरहेको छ ।
युनिसेफको सहयोगमा संरक्षण नेपाल बाराले संचालन गरेको कक्षामा बालबालिकाहरुलाई परामर्शसँगै खेलकुद, संगीत र मनोरञ्जनको माध्यमले उनीहरुमा रहेको डर हटाउने प्रयासको गरिएको हो ।

बालबालिकामा डर कायमै रहेकाले प्रभावित क्षेत्रका १० स्थानमा बालमैत्री स्थल बनाएर बालबाललिका आँधीको त्रास हटाउन प्रयास भैरहेको संरक्षण नेपालका अध्यक्ष बृजमोहन कुशवाहाले बताए ।

प्रभावित क्षेत्रका बालबालिकाहरुलाई जम्मा पारेर सम्झाउने ,प्रोजेक्टरका माध्यमबाट रमाईला कार्टुन, सन्देशमुलक भिडियो देखाउनुका साथै त्रास भुलाउने खालका कथा सुनाउँदै बालबालिकाको मनको डर त्रास हटाउने प्रयास भैरहेको कुशवाहले बताए ।
फेटा गाउँपालिकाको पुरैनिया, भलुही, भरबलीया, कलैया उपमहानगरपालिका १८ को मनगढवा, परवानीपुर गाउँपालिकाको ४ चैनपुरमा बालमैत्री कक्षा संचालन भैरहेका छन् । त्यस्तै प्रसौनी प्रसौनी गाउँपालिका ४ को खुटवाजब्दीमा, सुवर्ण गाउँपालिकाको ४ हदिर्या र प्रशुरामपुरमा समेत वालमैत्री कक्षा संचालनमा रहेको कुशवाहले जानकारी दिए ।

आगामी असार सम्मका लागि संचालित बालमैत्री स्थल (कक्षा) मा ६ वर्ष माथी १४ बर्ष मुनिका १ हजारबढी बालबालिका आउने गरेका छन् । २० जना महिला तथा पुरुष सहजकर्ता परिचालन गरी बालबालिकाहरुलाई ब्यवस्थापन गरिरहेको उनले बताए । प्रत्येक कक्षामा १ सयबढी बालबालिका कक्षामा आउने गरेका शंरक्षण नेपाल बाराका कार्यक्रम प्रमुख समेत रहेका कुशहवाले जानकारी दिए ।

मनोपरामर्श दिनुको साथै खेलकुद र मनोरञ्जनको माध्यमले मनको डर त्रास हटाउन कक्षा सञ्चालन भइरहेको संरक्षण नेपालका कुशवाहले सुनाए ।
आँधीपछी बालबालिकाहरु मानसिक समस्यमा छन् । बालमैत्री स्थलमा आएर खेल्ने, पढ्ने गर्न थालेपछी उनीमा परिवर्तन देखिएको प्रसौनी गाउँपालिका ४ की अभिभावक ललिता देविले बताइन् । आँधीमा ६ बालबालिकाले समेत ज्यान गुमाएका थिए । दर्जनौ बालबालिका घाइते भएका थिए । कतिपयले अभिभावक गुमाएका थिए  ।

Write your Comment