स्वयम्भू क्षेत्रमा पनि सम्पदा विनाश

रातोघर

 ३१ बैशाख २०७६, मंगलवार १८:२४  मा प्रकाशित
१२४ पाठक संख्या



सम्पदा क्षेत्रमा जारी विनाशलीला विश्व सम्पदा सूचीकृत स्वयम्भूसम्म पुगेको छ।

यही जेठ ४ गते बुद्ध जयन्तीको दिन तपाईं स्वयम्भू जानुभयो भने याद गर्नुहोला, सम्पदा क्षेत्रको मापदण्ड मिचेर स्वयम्भू जाने पूर्वी भर्याङदेखि महाचैत्य वरिपरि नै आधुनिक शैलीका संरचना धमाधम निर्माण भइरहेका छन्।

‘भगवान पाउ’ बाट सुरू हुने पूर्वी भर्याङको प्रवेशद्वार आधुनिक शैलीमा निर्माण गर्न लागिएको छ। सिँढीमा रहेका सिंहका मूर्तिमा हाँसउठ्दो पारामा हरियो रङ पोतिएको छ भने चैत्य एवं बुद्धका मूर्तिका मौलिक रंग बिगारिएका छन्।

‘हेर्दा राम्रोजस्तो देखिए पनि यो हाम्रो मौलिकताभन्दा पर छ,’ सम्पदा संरक्षण अभियन्ता तथा कानुनका विद्यार्थी सञ्जय अधिकारीले भने, ‘त्यस्तै हो भने युनेस्कोले स्वयम्भूलाई विश्व सम्पदाबाटै हटाउन बेर छैन।’

२०३२ सालमा निर्माण गरिएको उक्त प्रवेशद्वार २०७२ को भुइँचालोमा भत्किएको थियो। त्यसैलाई पुनर्निर्माण गर्दा ‘मापदण्डविपरीत’ भन्दै केही दिनअघि पुरातत्वले पत्र काटेको छ। यसबारे छलफल भइरहेको काठमाडौं-१५ का वडा सदस्य आनन्द गौतमले जानकारी दिए।

सिंहको मूर्तिमा रङरोगन। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी
‘भगवान पाउ’ बाट सुरू हुने स्वयम्भु जाने पूर्वी बाटो। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी

‘यो गेटले स्यम्भूमाथिको भाग छेक्छ। हामी त यो गेट बनाउनुपर्दैन भन्ने पक्षमा हो,’ वडा सदस्य गौतमले भने, ‘त्यहाँको पिलर झिक्ने र खाल्डो पुर्ने काम हामी बुद्ध पूर्णिमाअघि नै गर्नेछौं।’

सिंह लगायतका संरचनालाई पनि भक्तजनहरूले मौलिक रङमै रहन दिए अझै राम्रो हुने उनले बताए।

यति मात्र होइन, स्वयम्भू महाचैत्य वरिपरि २०७२ को भुइँचालोमा भत्किएका घर निर्माण पनि जारी छ। यस्तो संवेदनशील क्षेत्रमा भइरहेको निर्माण मापदण्डअनुरूप छ कि छैन भन्नेमा कसैको ध्यान पुगेको छैन।

‘स्वयम्भू संरक्षण एवं निर्माण मापदण्ड २०६४’ का अनुसार स्वयम्भू डाँडामा अवस्थित महाचैत्य वरिपरिका घरले अधिकतम उचाइ २४ फिट कायम गर्नुपर्छ।

स्वयम्भूस्थित वडा कार्यालय भने त्यहाँको निर्माण कार्य कसले गर्यो भन्नेमै अनभिज्ञ छ।

‘यहाँको संरचना कसले निर्माण गर्यो भन्ने नै थाहा भएन,’ वडा सदस्य गौतमले भने, ‘हामी धेरैलाई सम्पदा र संस्कृति के हो भन्ने नै अलमल छ। यहाँ पनि त्यही भएको हो।’

कुनै पनि सम्पदाको पुनर्निर्माण गर्दा पुरातत्वको स्वीकृति चाहिँन्छ। स्वयम्भूमा भइरहेको निर्माण पुरातत्वको मापदण्डविपरीत छन्। निर्माण कार्यमा जुटेका व्यक्तिले पुरातत्व र महासमितिको स्वीकृतिमै निर्माण भइरहेको बताउँदै काम अघि बढाएको गौतम बताउँछन्।

भगवान पाउको आकृति। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी

‘यो गेट मेरो बुबाले बनाउनु भएकाले म आफैं बनाउँछु भनेर पनि केही व्यक्ति जुटेका छन्। यहाँ मनाङ, मुस्ताङ लगायत ठाउँका विभिन्न समूह छन्। कहिले समिति त कहिले व्यक्तिले निर्माण गर्न लागेको भन्छन्। हामी आफैं अलमलमा छौं,’ उनले भने, ‘आधिकारिकता के हो भन्ने नै हामीलाई थाहा छैन।’

गौतमका अनुसार स्वयम्भू क्षेत्रमा सम्पदा मास्ने कार्य धेरै पहिलेदेखि हुँदै आएको हो।

पुरातत्वले स्वयम्भू परिक्रमा वरिपरि ‘माने’ नबनाउन कुनै समय पत्र काटेको रहेछ। त्यही पनि भक्तजनले पुरातत्वले नै स्वीकृति दिएको भन्दै बनाउन थाले।

बौद्ध धर्मावलम्बीहरू स्तुपमा रंगरोगन गर्नु, माने निर्माण गर्नु र दान–दक्षिणालाई धर्मका रूपमा लिन्छन्। यहाँ भइरहेको निर्माण पनि त्यसैअनुरुप भएको देखिन्छ।

सम्पदा निर्माणमा यस्तै अनियमितता भगवान पाउमै भएको देखिन्छ। गौतमका अनुसार भगवान पाउमा सडकछेवै ‘बुद्धका पाइला’ अंकित आकृति छ। त्यो अहिले भएको ठाउँभन्दा करिब १०–१५ पाइला माथि थियो। त्यो सँगै निर्माण भएका केही स्तुप पछि मात्रै बनेका हुन्।

‘यी सबै नयाँ संरचना हुन्। यसले सडकमा बिहान र बेलुकी ट्राफिक समस्या हुने गरेको छ,’ गौतमले भने, ‘उहाँहरूलाई भन्यो भने धर्ममाथि खेलवाड गर्यो भन्ने कुरा आउँछ। खासमा हामीले त भएकै पुरानो संरचना बचाउने हो, नयाँ अनि बेहुली जसरी सिँगारेर सम्पदा जोगाउन सकिन्न।’

स्वयम्भूमा भइरहेको सम्पदा विनाश क्रम औंल्याउँदै गौतमले आनन्द विहारतर्फ ध्यानाकर्षण गराए।

उनका अनुसार त्यहाँ कंक्रिट प्रयोग गरिएको छ। डिप बोरिङ खनिएको छ। यस्ता गतिविधि देख्दा कहाँ विरोध गर्ने, कसरी गर्ने भन्नेमै आफू अलमलिएको उनी बताउँछन्।

‘सडक विस्तार गर्ने भन्दा स्वयम्भू भासिन्छ भन्ने कुरा आएको थियो। डिप बोरिङ गर्दा सडक भासिन्न?’ उनले प्रश्न गरे, ‘पुरातत्वले राम्रो मापदण्ड निर्माण गर्ने हो भने त्यस्तो अनियमितता हुने थिएन।’

केही समयअघि मात्रै स्यम्भूलाई ‘पदयात्रा मार्ग’ बनाउने कुरा बाहिरिएको थियो। त्यसका लागि पहल गर्नुपर्ने उनी बताउँछन्।

गौतमका अनुसार छाउनी अस्पतालदेखि माथिसम्म ढुंगा छाप्ने योजना छ। स्वयम्भू बारुदखाना पनि भीमफेदी सार्ने तयारी चल्दैछ।

‘त्यो काम विस्तारै सुरू हुनेछ। त्यसका लागि स्केच तयार हुँदैछ। पुरातत्व विभागले पनि सम्पदा नमासिने गरी नक्सा तयार गर्यो भने स्वयम्भू साँच्चै पर्यटकका लागि पनि आकर्षणको केन्द्र बन्नेछ,’ उनले भने।

-setopati

Write your Comment