दूरी छोट्याएर तयार भयो निजगढ-काठमाण्डौ द्रुतमार्गको डीपीआर

रातोघर

 ३१ बैशाख २०७६, मंगलवार १८:४१  मा प्रकाशित
९७ पाठक संख्या


निर्धारित ७६ दशमलव २ किलोमिटर (किमी)लाई ७२ दशमलव ५ किमीमा छोट्याएर काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को नयाँ विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । कोरियाली कम्पनी सुसुङ इन्जिनीयरिङ एन्ड कन्सल्टेन्सी लिमिटेडले तयार पारेको डीपीआरले साविकको दूरी छोट्याएको हो ।

नेपाली सेनाले गत असोजमा उक्त कम्पनीलाई डीपीआर बनाउने जिम्मा दिएको थियो । कम्पनीले डीपीआर तयार गरी सेनालाई गत फागुनमा हस्तान्तरण गरेको थियो । त्यसबारे गत फागुन १९ मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराइएको र चैत ५ मा रक्षा मन्त्रालयमा डीपीआरको नीतिगत स्वीकृतिका लागि पेश गरिएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । मन्त्रालयबाट नीतिगत स्वीकृित आएपछि डीपीआर अनुसारको निर्माणका लागि टेन्डर आ≈वान गरिने उनले बताए ।

नयाँ डीपीआर अनुसार फास्ट ट्र्याकमा तीनओटा सुरुङमार्ग र ८७ ओटा पुल निर्माण हुने भएका छन् । कुल ६ दशमलव ४१ किमीका तीन सुरुङमार्ग मकवानपुरका महादेव डाँडा (३ दशमलव ३५ किमी), भेद्रे खोला (१ दशमलव ६३ किमी) र लेन डाँडा (१ दशमलव ४३ किमी)मा बन्ने पाण्डेले जानकारी दिए । यसअघिको डीपीआरमा फास्ट ट्र्याकमा एउटा मात्रै सुरुङमार्ग बनाउन सकिने उल्लेख थियो ।

नयाँ डीपीआर अनुसार फास्ट ट्र्याक प्रयोग बापत उठाइने सडक दस्तुर खोकना, बुदुने र निजगढ गरी तीन स्थानबाट संकलन गरिने भएको छ । चार लेनको फास्ट ट्र्याक सडक एशियाली ‘हाई स्ट्यान्डर्ड’को हुनेछ । सैनिक प्रवक्ता पाण्डेका अनुसार डीपीआरमा लागत मूल्यसमेत संशोधन भई केही प्रतिशत बढेको छ । यसअघि उक्त आयोजना कुल रू. १ खर्ब १२ अर्बको लागत हुने प्रारम्भिक अनुमान गरिएको थियो । सेनाले नयाँ लागत सार्वजनिक गरेको छैन ।

पाण्डेका अनुसार ८७ ओटा पुल निर्माण गर्न ६ ओटा निर्माण कम्पनी छनोट गरिएको छ भने डीपीआर स्वीकृत भएपछि टेन्डर आह्वान गरिनेछ । आगामी आर्थिक वर्ष २०७६/७७ मा मात्रै सुरुङमार्ग र पुलको टेन्डर गरिने उनले जानकारी दिए ।

फास्ट ट्र्याकबाट प्रभावितमध्ये हालसम्म ९६ प्रतिशतले मुआब्जा पाइसकेको सेनाले बताएको छ । जंगीअड्डाका अनुुसार ललितपुरको खोकनाका प्रभावित बासिन्दालाई मात्र मुआब्जा दिन बाँकी छ ।

अहिले सेनाले फास्ट ट्र्याकको रूटमा १० स्थायी र एउटा अस्थायी क्याम्प खडा गरी निर्माण अगाडि बढाएको छ । फास्ट ट्र्याकमा अहिले ३१ ओटा निर्माण कम्पनीले पहाड काट्ने, सडक सम्याउने र पर्खाल बनाउने काम गरिरहेका छन् ।

Write your Comment