बुटवल ।
स्थापना भएको वर्षौंसम्म उद्योग संचालन हुन नसकेको नेपालककै पहिलो भनिएको भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) मा पहिलो उद्योगका रुपमा शक्ति मिनरल्स उद्योग संचालनमा आएको छ ।
४० करोड लगानीमा स्थापना गरिएको उद्योगले उद्योग स्थापनाको पहिलो अनुमति (लाइसेन्स) प्राप्त गरेको हो ।
यो उद्योग नेपालमा खनिज पदार्थ प्रशोधन गर्ने पहिलो उद्योगका रूपमा रहने र यसले स्वदेशी कच्चा पदार्थबाट स्टिल्सका लागि आवश्यक पर्ने फ्लक्स उत्पादन गरी भारत तथा अन्य विदेशी मुलुकमा निर्यात गर्ने छ ।
उद्योगमा १५५ जनाले प्रत्यक्ष र ५०० जनाले अप्रत्यक्ष रोजगारी पाएको प्रा.लि.का अध्यक्ष विनोदकुमार श्रेष्ठले जानकारी दिए ।
उद्योगको संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका प्रसाद यादवले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै उनले ढोका थुनेर विदेशी लगानी भित्र्याउन नसकिने बताए ।
उद्योग दर्ताका लागि मन्त्रालयमा एकद्धार प्रणालीको सुरुवात गर्न लागेको जानकारी दिए । ‘अब उद्योग दर्ताको लागि विभिन्न मन्त्रालय धाउनुपर्दैन, सबै कागजपत्र लिएर एकै ठाउँमा दर्ता हुने व्यवस्था गर्दैछौं, उनले भने ।
निर्यातमुखी उद्योग स्थापना गर्नुपर्ने आवश्यकता रहेको मन्त्री यादवले बताए । उनले आयात ९४ प्रतिशत र निर्यात ६ प्रतिशत मात्र रहेकोले उत्पादनमा बढी जोड दिनुपर्ने बताए ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव याम कुमारी खतिवडाले उद्योग स्थापना मार्फत मुलुकमै रोजगारी सिर्जना गर्ने मन्त्रालयको लक्ष्य रहेको बताइन् ।
उनले विशेष आर्थिक क्षेत्र (सेज)मा अन्य उद्योग पनि छिट्टै सञ्चालनमा आउने विश्वास व्यक्त गरिन ।
प्रदेश नम्बर ५ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद के.सी.ले प्रदेश सरकारले उद्योगहरुलाई व्यवस्थित गर्नुपर्छ भन्नेतर्फ लागेको बताए ।
विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले विशेष आर्थिक क्षेत्र -सेज)ले देशको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।
५२ विगाहमा फैलिएको विशेष आर्थिक क्षेत्र (सेज) मा ६९ वटा प्लट रहेको छन् । सेजमा स्थापना हुने उद्योगले आˆनो उत्पादनको ७५ प्रतिशत विदेश निकासी गर्नैपर्ने प्रावधान छ । यस्ता उद्योगहरूलाई सरकारले १५ वर्ष कर छुट सुविधा दिएको छ ।
सिमरा सेज कहिले ?
बाराको सिमरामा निर्माणाधिन विशेष आर्थिक क्षेत्र (सेज) मा अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले लगानी गर्ने भएको छ । सिमरा सेजलाई सार्वजनिक नीजि साझेदारी (पीपीपी) मोडेलमा निर्माण गर्न लगानी बोर्ड, सिमरा सेज र आईएफसीबीच सम्झौता (एमओयू) भएको हो । बाराको जीतपुर–सिमरा उपमहानगरपालिकाको ४, १४ र १५ गरि तीन वडामा कुल ८ सय ३३ विघा क्षेत्रफलमा ५ वटा व्लकमा सेज निर्माण गर्ने योजना छ ।
सिमरा सेजको निर्माण कार्य एक दशक अघि आर्थिक वर्ष ०६४/६५ मा शुरु भएको थियो । तर, यसको निर्माण अपेक्षितरूपमा अघि बढ्न सकेकाे छैन । उद्योग तथा कलकारखानालाई आवश्यक सुविधाहरू एकैथलोमा उपलब्ध गराएर निर्यातजन्य उद्योगलाई प्रोत्साहित गर्न सेज निर्माणको अवधारणा ल्याईएको हो ।
सेज कुल आठ सय ३३ बिघा क्षेत्रफलमा बन्नेछ । यहाँ साना, मझौला र ठूला गरी १२ सय उद्योग स्थापना गर्ने लक्ष्य छ । आगामी दुई वर्षभित्र ब्लक ए बनाएर उद्योग स्थापनाका लागि आह्वान गर्ने योजना रहेको सेज निर्माण विकास समितिले जनाएको छ । सो ब्लकमा तयारी पोसाक उत्पादन गर्ने उद्योग राखिनेछ । त्यहाँ स्पेसल गार्मेन्ट प्रोसेसिङ जोन निर्माण गर्ने सरकारको लक्ष्य छ ।
Write your Comment