सरकारलाई ‘कानून सिकाउने’ले नै कानून मिचेपछि ५ सय जरिवाना !

रातोघर

 १ जेष्ठ २०७६, बुधबार ०७:३६  मा प्रकाशित
२०९ पाठक संख्या



काठमाडौं ।

महान्यायाधिवक्ताको कार्यालय सिंहदरबारले संघीय सरकारलाई आवश्यक पर्दा कानून सिकाउने गर्छ । सरकारलाई कानूनी सुझाव दिन र सरकारको प्रतिनिधि भएर वकालत गर्ने काम महान्यायाधिवक्ताको हो ।

कार्यालयका कर्मचारी विशेष कानूनबारे समेत जानकार हुन्छन् । तर सामान्य नागरिकलाई थाहा हुनुपर्ने कानून मिच्दा कार्यालयका सहन्यायाधिवक्ताले ५ सय रुपैयाँ जरिवाना तिर्नुपरेको छ ।

सडकमा पार्किङ निषेध गरेको ठाउँमा गाडी राखेर कानून मिच्दा महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता खेमराज ज्ञवालीको कारवाहीमा परेका छन् ।

ललितपुरको पाटन अस्पताल अगाडि पार्किङ निषेधित क्षेत्रमा ज्ञवाली चढ्ने बा२झ २७२१ नम्बरको सरकारी गाडीलाई सातदोबाटो ट्राफिक प्रहरीले कारवाही गरेको ट्राफिक प्रहरी जवान नरेश महतोले बताए । उनलाई ५ सय रुपैयाँ जरिवाना गरिएको सातदोबाटो ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

बा२झ २७२१ नम्बरको गाडी सहन्यायाधिवक्ता ज्ञवालीले चढ्दै आएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सहन्यायाधिवक्ता संजीवराज रेग्मीले बताए ।

सरकारलाई कानून सिकाउने निकायकै कर्मचारीले किन कानून मिच्नुभयो भन्ने लोकान्तरको प्रश्नमा ज्ञवालीले निषेधित क्षेत्रमा पार्किङ गरेको स्वीकारेका छन् । ‘हाम्रो कुरा मिलिसक्यो, अरु केही छैन,’ उनले भने ।

Write your Comment