अछाम।
अछामको मंगलसैन नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । नगरपालिकाको बा२ झ ३६९४ नम्बरकाे गाडीमा गए राति २ः१५ बजे आगजनी भएको प्रहरीले जनाएको छ ।
रातिको समयमा आगजनी भएकाले गाडी पूर्ण रुपमा ध्वस्त भएको छ । नगरपालिका परिसरमै पार्किङ गरी राखिएको गाडीमा आगजनी भएको खबर पाउनेबित्तिकै प्रहरी टोली परिचालन गरेर आगो नियन्त्रणमा लिइएको थियो । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीका अनुसार गाडीमा आगजनी गर्नेको खोजी भइरहेको छ ।
मंगललैन बजारका स्थानीयले गाडीमा आगजनी भएको प्रहरीलाई जानकारी गराएका थिए । रातिको समयमा आगजनी गरिएकाले अहिलेसम्म आगजनी कसले गरेको हो भन्ने कुरा पत्ता नलागेको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए ।
पार्किङ गरेर राखिएको गाडी योजनाबद्ध ढंगले आगजनी गरेको हुन सक्ने प्रमुख प्रशासकीय अधिकृत गणेश ढुंगानाले बताए । सोही ठाउँमा पार्किङमा राखिएको टिपरलगायत अन्य सरकारी गाडीलाई केही पनि नगरेको उनले बताए ।
नगरप्रमुख पदमबहादुर बोहरा चढ्ने उक्त गाडी नगरपालिकाले करिब एक वर्षअघि १ करोड २० लाख रूपैयाँमा खरिद गरेको थियो । गाडीमा विप्लव समूहले आगजनी गरेको हुन सक्ने आशंकामा प्रहरीले खोजीकार्य तीव्र पारेको छ ।
-shilapatra
Write your Comment