सिमरामा ग्रासरुट फुटबलको ‘क्रेज’

रातोघर

 २०७६ जेष्ठ १, बुधबार  मा प्रकाशित
४४१ पाठक संख्या


सिमरा।

नेपाली फूटवलको विकासका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुरु गरेको ‘ग्रासरुट’ फुटबलमा बालबालिकाको रुची बढ्न थालेको छ ।
जिल्ला फूटवल संघ बाराले सिमरामा सञ्चालन गरिरहेको अभ्यास चरणको दोस्रो हप्तामै विद्यालयका बालबालिकाले उत्साहजनक सहभागीता देखाएका छन् ।
सिमरा रंगशालामा शनिवार बिहान झण्डै दुई सय बालबालिका उपस्थित हुदा जिल्ला फूटवल संघका पदाधिकारी समेत उत्साहित देखिन्थे । रंगशालामा बालिबालिका मात्र नभई उनका अभिभावक समेत उपस्थित भए ।

आफ्ना सन्तानलाई लिएर रंगशाला पुगेका अभिभावकलले फूटबल अभ्यासमा बालबालिकाको हौसला बढाएको दृश्य हेर्न लायक थियो । सिमराका विरेन्द्र वाईवाले एन्फाको यो कार्यक्रमले फूटवलको बिकाससंगै साना बालबालिकालाई स्वस्थ र कुलतमुक्त राख्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
स्कुले बालबालिकालाई फूटवलमा सहभागी गराउने र दक्ष खेलाडी उत्पादन गर्ने एन्फाको चार वर्षे यो कार्यक्रममा बाराका १६ विद्यालयका झण्डै दुई सय बालबालिका सहभागी छन् । ग्रास रुट फूटवल कार्यक्रमका संयोजक एवम् जिल्ला फूटवल संघका बरिष्ठ उपाध्यक्ष रामचन्द्र लामाले सोचेभन्दा बढी बालबालिकाको सहभागीताले आफूहरु समेत उत्साहित भएको बताए ।

ग्रासरुट फूटवलको अभ्यासमा अहिले आठ बर्षदेखी १३ बर्षसम्मका बालबालिकालाई सहभागी गराइएको लामाले बताए । चार वर्षसम्म सञ्चालन हुने कार्यक्रमको अहिले अभ्यास भईरहेको र औपचारिक रुपमा उद्घाटन गर्न बाकी रहेको लामाको भनाई छ । लामाले ग्रासरुट फूटवलको औपचारिक उद्घाटनका लागि सहभागी बालबालिकालाई बिशेष अभ्यास गराईरहेको जानकारी दिए ।

ग्रासरुट फूटवलको प्रशिक्षणका लागि जिल्ला फूटवल संघले कृष्णमणी चौधरीलाई प्रशिक्षक तोकेको छ । चौधरीसहित जिल्ला फूटवल संघका १० जना भन्दा बढी प्रतिनिधिले अहिले अभ्यास गराईरहेका छन् । कार्यक्रमको औपचारिक सुरुवातपछि प्रत्येक विद्यालयमा ६ दिनसम्म प्रशिक्षक पुगेर प्रशिक्षण गराउने र सातौ दिन सिमरा रंगशालामा लिग सञ्चालन गर्ने योजना रहेको प्रशिक्षक चौधरीले बताए ।

एन्फाले यो कार्यक्रम सञ्चालन गर्नका लागि यस वर्ष पाच लाख बजेट उपलब्ध गराएको छ । एन्फाले पठाएको बजेटबाट सिमरा रंगशालामा दुई वटा चेन्जिङ रुम बनाएको लामाले बताए । चार बर्षे कार्यक्रम अघि बढाउन पूर्वाधार अति आवश्यक रहेको त्यसका लागि चेन्जिङ रुम बनाइएको लामाको भनाई छ ।
फूटवलको उर्वर भूमिको रुपमा रहेको जिल्लाको उत्तरी क्षेत्रमा टेक्नीकल सेन्टर अति आवश्यक रहेको भन्दै एन्फासंग पहल भईरहेको लामाले बताए ।

Write your Comment