काठमाडौं ।
संसदीय समितिको बुधबारको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा पहिलोपटक देखिए। प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको सदस्यसमेत रहेका देउवा खानेपानी मन्त्रालयको आगामी वर्षको बजेट व्यवस्थापन तथा कार्यक्रमसम्बन्धमा भएको छलफल सकिएलगत्तै बैठकबाट बाहिरिए।
छलफलमा देउवाले आफ्नो भनाइ भने राखेनन्। बुधबार विकास समितिको ३५औं बैठक थियो। गत असारमा संसदीय समिति गठन भएपछि बैठक बस्न थालेको थियो। २५ वटा बैठकसम्म निरन्तर अनुपस्थित भएपछि एक महिनाअघि समिति सभापति कल्याणी खड्काले कांग्रेस संसदीय दलमार्फत देउवालाई उपस्थितिका लागि आग्रह गर्दै पत्र पठाएकी थिइन्।
प्रतिनिधिसभाको नियमावलीको नियम १८० मा लगातार पाँचवटा बैठकमा सभापतिको अनुमतिबिना अनुपस्थित रहने सदस्यलाई सभापतिको सिफारिसमा सभामुखले समितिबाट हटाउन सक्ने व्यवस्था छ। यो समाचार इश्वरी सुवेदीले लेखेका हुन् ।
सो समितिका अर्का सदस्य नेकपाका वरिष्ठ नेता झलनाथ खनाल भने प्रायः बैठकमा आउँछन्। उनले बैठकमा आफ्नो धारणा पनि राख्ने गरेका छन्। विकास समितिले हेलिकोप्टरबाट काठमाडौं–निजगढ ‘फास्ट ट्र्याक’ को अध्ययन गर्ने क्रममा पनि नेता खनाल सहभागी भएका थिए।
राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल समितिको सुरुआततिरका बैठकमा दुईपटक मात्रै उपस्थित भए पनि पछिका बैठकहरूमा उपस्थित देखिएका छैनन्। राज्य व्यवस्था समिति सभापति शशी श्रेष्ठले समितिको बैठकमा नेकपा अध्यक्ष दाहालले अनुपस्थित हुने भए आफूलाई जानकारी पठाउने गरेको बताइन्।
‘नेकपाका अध्यक्ष दाहालले नआउने दिन खबर पठाउनुहुन्छ,’ उनले भनिन्। समितिमा नआएको भनेर अध्यक्ष दाहाललाई अहिलेसम्म कुनै पत्र नपठाएको उनले स्पष्ट पारिन्।
आजको नागरिक दैनिकबाट
Write your Comment