काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतको मानवशास्त्र केन्द्रीय विभागका अधिकारीहरुले युएसएआइडीबाट प्राप्त कोषको दुरुपयोग गरेको पाइएको छ। मानवशास्त्र केन्द्रीय विभागका नाममा १४ करोड रुपैयाँका दुई फरक परियोजनाको रकम दुरुपयोग भएको हो।
प्राडा अम्माराज जोशी, प्राडा निलमकुमार शर्मा, उपप्राध्यापक अवतार सुवेदी र राजेन्द्र खनाल सदस्य रहेको चारसदस्यीय छानबिन समितिले विभागमा सञ्चालन भएका परियोजनाका बारेमा हालै प्रतिवेदन बनाएर त्रिवि उपकुलपतिको कार्यालयलाई बुझाएको छ। त्रिवि कार्यकारी परिषद्को २४ नोभेम्बर २०१८ को निर्णयअनुसार गत नोभेम्बरमा छानबिन समिति गठन भएको थियो।
अझै सार्वजनिक नभएको रिपोर्टमा उल्लेख भएअनुसार विभागले २३ देखि २६ अप्रिल २०१७ मा १३ करोडबराबरको ‘नेपालमा सामाजिक समावेशिताको अवस्थाबारे एक अध्ययन (एसओएसआइएन)’ विषयक परियोजनाका लागि सम्झौतामा हस्ताक्षर गरेको थियो।
त्यस्तै १६ र १७ अप्रिल २०१८ मा विभागले ‘समावेशी लोकतन्त्र र नेपालमा कानुनी शासन’ नामक अर्को परियोजनामा हस्ताक्षर गरेको थियो। यसको लागत एक लाख १९ हजार ७ सय २ अमेरिकी डलर थियो। यो समाचार विष्णुप्रसाद अर्यालले लेखेका हुन् ।
सामाजिक समावेशिताको अवस्था विषयक परियोजनाका लागि युएसएआइडीले नेपाल बैंकमा खोलिएको खातामा सात करोड रुपैयाँ भुक्तानी गरिसकेको छ। उक्त बैंक खाता परियोजनामा हस्ताक्षर हुनुभन्दा पहिले खोलिएको थियो।
छानबिन समितिको प्रतिवेदनमा दुवै परियोजनाबारेमा विभागको बैठकमा छलफल नै नगरिएको र निर्णय पनि नभएको उल्लेख गरिएको छ। त्रिविको शैक्षिक प्रशासन विनियम २०५० को धारा ४५ को उपधारा १५४ मा कुनै पनि राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा बहुराष्ट्रिय संघसंगठनसँग सम्झौता गर्दा उपकुलपतिको कार्यालयबाट प्रमाणीकरण गराउनुपर्ने प्रावधान छ। तर कुनै पनि परियोजना प्रमाणीकरण गराइएको छैन।
आजको नागरिक दैनिकबाट
Write your Comment