एजेन्सी ।
उत्तर कोरिया पछिल्ला ३७ वर्षयताकै सबैभन्दा ठूलो खडेरीको मारमा परेको छ । उसले खडेरीका कारण खेती नराम्ररी प्रभावित भएको र सुक्खाविरुद्ध जनताले युद्ध लडिरहेको उल्लेख गरेको छ ।
संयुक्त राष्ट्रसंघले १ करोड उत्तर कोरियालीलाई तत्काल खाद्यान्न आवश्यक रहेको बताएलगत्तै उत्तर कोरियाको पछिल्लो भनाइ बाहिर आएको हो ।
संयुक्त राष्ट्रसंघको रिपोर्टमा उत्तर कोरियालीहरु हरेक दिन तीन सय ग्राम खाद्यान्नका भरमा बाँच्नु परिरहेको उल्लेख छ । सन् १९९० मा उत्तर कोरियामा भोकमरीका कारण हजारौंले ज्यान गुमाएका थिए ।
यो खडेरीबाट देशमा कति क्षति भयो भन्ने स्पष्ट भएको छैन । तर, देशैभर किसानले लगाएको खेती नष्ट भएको छ । त्यसैले उत्तर कोरियाले कम्तीमा पनि १५ लाख टन खाद्यान्न आयात गर्नुपर्नेछ ।
उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएका अनुसार यस वर्षको पहिलो ५ महिनामा ५४ दशमलव ४ मिलिमिटर मात्रै वर्षा भएको छ । यो सन् १९८२ पछिकै सबैभन्दा कम पानी परेको रेकर्ड हो ।
गत महिना विश्व खाद्य कार्यक्रम र खाद्य तथा कृषि संगठनले संयुक्त रुपमा जारी गरेको रिपोर्टमा सन् २०१८ मा उत्तर कोरियामा सन् २००८ पछिकै सबैभन्दा कम खाद्यान्न उत्पादन भएको उल्लेख गरिएको छ ।
यसअनुसार करिब १ करोड अर्थात् करिब ४० प्रतिशत जनतालाई तत्काल खाद्य सहयोग आवश्यक पर्नेछ ।
उत्तर कोरियामाथि अमेरिकाले लामो समयदेखि प्रतिबन्ध लगाए पनि मानवीय सहायताका सामग्री र खाद्यान्न आयातमा भने रोक लगाएको छैन । सन् २०१७ मा पनि उत्तर कोरिया खडेरीका कारण नराम्ररी प्रभावित भएको थियो ।
Write your Comment