काठमाडौं ।
नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले शताव्दी पुरुष सत्यमोहन जोशीलाई चिनियाँ नागरिकले कहिल्यै पनि नबिर्सने बताएकी छन् ।
१०० बसन्त पूरा गरेका जोशीलाई शुक्रबार उनकै निवास ललितपुरमा भेटेर राजदूत हउले सो कुरा बताएकी हुन् ।
राजदूत हउले नेपाल–चीन सम्बन्धलाई चिरस्थायी बनाइ राख्नका लागि जोशीकोे पदचाप पछ्याउन नयाँ पुस्तालाई आह्वान पनि गरिन् ।
राजदूतसँगको भेटवार्तामा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन पनि थिए ।
सन् १९६० मा सत्यमोहन जोशी नेपाली भाषा पढाउन पेकिंग ब्रोडकास्टिङ इन्सटिच्युटमा गएका थिए । उनले सन् १९७० मा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोमा नेपाली विशेषज्ञको रुपमा कामसमेत गरेका थिए । चीन बसाइको क्रममा उनले नेपाली कलाकार अरनिको बारेमा अनुसन्धान गरेका थिए । अरनिको सम्बन्धी ऐतिहासिक तथ्यमा आधारित रहेर अरनिको ह्वाइट प्यागोडा ग्यालरी काठमाडौंको कीर्तिपुरमा पनि स्थापना गरेका छन् ।
कलाकार अरनिकोका विषयमा आम नेपालीलाई जानकारी दिने पहिलो व्यक्ति सत्यमोहन जोशी नै हुन् । सत्यमोहन जोशीले चीनमा बस्दा अरनिकोले बनाएका सम्पूर्ण सम्पदाको अध्ययन अनुसन्धान गरेर ‘कलाकार अरनिको’ पुस्तक सार्वजनिक गरेका थिए ।
जोशी गत वैशाख ३० गते एक सय वर्ष पूरा भएका छन् । सो दिन ललितपुर महानगरपालिकाले उनलाई नगरपरिक्रमा सहित सम्मान गरेको थियो भने एक दिन सार्वजनिक विदासमेत दिएको थियो ।
onlinekhabar
Write your Comment