पितृसत्तात्मक समाज र सोचमाथि खरो उत्रिने सीमा आभास कवि हुन् । ‘म स्त्री अर्थात आइमाई’ कविता संग्रहकी लेखिका आभाससँग पितृसत्तामा देखिएका चूनौती र समस्याका विषयमा गरिएको संवाद ।
विभिन्न कार्यक्रममा र आफ्ना लेखमा तपाई पुरुषको युग सकियो भन्ने गर्नुहुन्छ । के साँच्चिकै पुरुषको युग सकिएकै हो त ?
पुरुषको युग सकियो भन्ने भन्दा पनि समाज अब पुरुष प्रधान मात्रै रहेन भन्ने कुरा हो । पहिला श्रीमतीहरु श्रीमानको पाउमा पर्थे । उसको खुट्टाको पानी खान्थे । अब चैँ त्यो रहेन, अब विवाह भन्ने संस्था दुई जना पार्टनरको रुपमा विकास भएको छ ।
कुनै समय विवाह धार्मिक संस्था थियो । तर अब कानूनी संस्था भयो । कुनै समय एउटा महिलाले श्रीमान छाड्ने कल्पना पनि गर्दैन थिए । बहुलाएको श्रीमानलाई पनि सम्हालेर बस्थे । मरेको श्रीमानको नाममा श्राद्ध गरेर पानी चढाएर बालविधवा भएर पनि बस्थे । अब त श्रीमानसँग विमती रह्यो भनेपनि छोराछोरी भएका महिला पनि कानूनी बाटोबाट छोडपत्र गर्न सक्ने भए ।
थोरै मात्रामा भए पनि महिलाहरुमा शिक्षा र चेतनाका कारणले परिवर्तन आयो । श्रीमान भने अझै पुरातन मानसिकतामा छन् । बाहिर हेर्दा श्रीमानको भूमिका फरक देखिएपनि भित्री रुपमा भने तीनपुस्ता अगाडिका श्रीमान र आजको पुस्ताका श्रीमान उस्तै छ । श्रीमतीलाई सम्बोधन गर्ने कुरा देखि लिएर उसैले भात पकाईदेओस, चिया पकाईदेओस भन्ने धारणा अझै पनि आम श्रीमानको छ ।
तर श्रीमतीहरु बाहिर काम गर्ने भइसके । श्रीमानलाई भगवान भन्दा पनि जीवनसाथीको रुपमा मान्न थालिसके । त्यसो हुनाले यदि महिलाहरु परिवर्तन भएझैँ श्रीमानहरु परिवर्तन भएनन भने विवाहमाथि क्रमैसँग वितृष्णा बढ्ने, छोडपत्र बढ्ने भएकाले एकप्रकारको सामाजिक विचलन समाजमा स्थापित हुने क्रममा छ ।
महिला परिवर्तन हुने तर पुरुष परिवर्तन नुहने भयो भने त समस्या पनि सिर्जना होला हैन र ?
हो । एकातिर श्रीमतिहरु शिक्षित र चेतनशील भएर विद्रोह गर्ने अर्कोतिर चैँ श्रीमानहरु जहाँको त्यहीँ रह्यो भनेदेखि समाज धरमराउने अवस्थामा पुग्न सक्छ । महिलाहरु निरन्तर परिवर्तन र अग्रगामी हुँदै गएकाछन् । पहिले जस्तो छोरा नै चाहिने बाध्यता हटेको छ । दुई छोरी पाएर तीनैलाई सन्तान मान्ने अभिभावको संख्या पनि बढेको छ । यस्ता छोरीले अंश र शिक्षा दुवै पाईसकेपछि उनीहरु आत्मनिर्भर हुने भए ।
सम्पत्तिका हकदार हुने भए । अब यस्ता छोरीहरुले ‘मैले पुरुषसँग जति विवाह गरेको छु, उसले पनि मसँग त्यति नै विवाह गरेको छ ।’ भन्ने धारणा विकास गर्दैछन् । त्यो धारणालाई सहर्ष स्वीकार गर्ने मनोविज्ञान पुरुषहरुले तयार पारेनन् भने विवाहपछि उतारचढाव आउँछ । हिजो सम्पतिको मालिक पुरुष मात्र थियो । शिक्षाको पहुँच छोराहरुमा मात्र थियो । वंश कुलको मालिक छोराहरु थिए । अब शिक्षा, सम्पति, वंशका हकदार छोरी पनि हुने अभ्यासमा छन ।
तपाईकै भाषामा भन्ने हो भने समाजका आन्तरीक पहलुमा परिवर्तन देखिएको छ । तर, हाम्रो राजनीतिक संस्कार अझै उस्तै देखिन्छ । उदाहरणको लागि, नागरिकतामा महिलामाथि गरिएको विभेद, राजनीतिक दलमा महिला सहमागितामा देखिएको विभेद । यो विरोधाभाष किन सिर्जना भईरहेको छ ?
सबैभन्दा पहिला यहाँका राजनीतिक दलहरुले आफ्नो स्वार्थ पर्ने जस्तो पनि काम गर्छन् । तर त्यसको दुरगामी असर के पर्छ भनेर हेक्का राख्दैनन् ।
अहिले भएका राजनीतिक दल वा वर्तमान सत्तारुढ दल रुढी छन् । सामान्य शिक्षित मान्छेभन्दा पनि यी दलहरु सयौँ गुणा बढी रुढी छन् । एउटा उदाहरण, अस्ति मात्रै यहाँको कानून मन्त्रीले एउटा कार्यक्रममा जाँदा के भने भने, ‘केही त्यस्तो विशेष कार्यक्रम त होईन होला नि महिलाहरुको त हो’ भने ।
महिला यो समाजको मुख्य पाटो हुन भन्ने कुरा अझै पनि दलहरुले स्वीकार गर्न सकेका छैनन् । यो स्वीकार्न नसक्नुको कारण के हो भने उनीहरुसँग दुरदृष्टि छैन् । अहिले बढिरहेका सम्बन्धविच्छेदका संख्यालाई उनीहरुले अध्ययन नै गरेका छैनन् । यसले भोली समाजिक संरचनामा पार्ने असरका विषयमा उनीहरुले सोच्नै सकेका छैनन् । सम्बन्धविच्छेदमा परेका सन्तानको मनोविज्ञानले भोली समाजमा पर्ने असरको विषयमा उनीहरुले आँकलन नै गरेका छैनन् । समाजमा देखिएको यो परिवर्तनको असर दोस्रो वा तेस्रो पुस्तामा देखापर्नेछ ।
अर्कोतर्फ अहिलेका राजनीतिक दलहरुमा महिलाले सत्ता खोस्छन र आफू पाउँदिन भन्ने डर छ । यस्तो डरले महिलामाथि विभेदका जस्तोसुकै हर्कत गर्न पनि दलहरु तयार छन् ।
संसदमा जो महिलाहरु छन्, उनीहरु पनि महिला समानाताको विषयमा कडा भएर बोल्न सक्दैनन् । किनभने पार्टी विरुद्धमा बोल्यो भने अर्को चुनावमा उनीहरुको निगाहबाट टिकट पाइँदैन भन्ने डर छ ।
यो विषयमा सक्रियतासाथ लाग्ला भन्ने आश माओवादीप्रति थियो तर, उनीहरुले महिलाको विषय बीचमै छाडे । झण्डै छत्तिस प्रतिशत महिला योद्धाहरु प्रत्यक्ष युद्धमा होमिएका थिए । सत्तामा पुगेपछि त्यो कुरा बिर्सिए । महिलालाई सत्ता दिन डराउँछन । त्यसैले मलाई लाग्छ यो सरकार नेपाल सरकार होइन पितृसत्तात्मक सरकार हो ।
छिटै नभए पनि लडाई अझैँ केहि समय लड्नपर्ला तर यो सरकारले आमाको नामबाट नागरिकता दिन नमिल्ने बनाए पनि ढिलोचाँडो महिलाले त्यो अधिकार लिन्छन नै । आमाको नामबाट नागरिकता लिनु या दिनु एउटा नागरिकको नैसर्गिक अधिकार हो । त्यो कसैले छेकेर छेकिँदैन ।
तपाईले विभिन्न कार्यक्रममा द्रौपदी जस्तै भएर बदला लिने कुरा पनि गर्नुहुन्छ । यो के भन्न खोज्नुभएको ?
मैले त्यसो भनेको हैन । एकजनाले तपाईलाई मन पर्ने पौराणिक पात्र को हो भनेर सोधेका थिए । मैले द्रौपदी मलाई मन पर्ने पात्र हो भनेकी थिएँ । द्रौपदीमाथि अनेकन अन्याय हुन्छन् । तर उनी त्यो अन्याय चुपचाप सहन्नन् । प्रतिकार गर्छिन् । समाजले हामी सबैमाथि अन्याय गरेको हुन्छ । तर हामी ती अन्याय कि लुकाउँछौँ । कि सहन्छौँ । अब त्यस्ता अन्याय सहने, लुकाउने हैन । प्रतिकार गर्नुपर्छ भन्ने विचार हो मेरो । त्यहि भएर मलाई द्रौपदी मनपर्छ भनेको हो ।
द्रौपदीलाई समाजले ५ वटा लोग्नेको स्वास्नी ‘चरित्रहीन’को रुपमा पोट्रेट गर्यो । सीतालाई अहिले पनि आदर्श नारी भनिन्छ, राष्ट्रिय विभूति मानिन्छ । तर, द्रौपदीलाई किन मानिदैन् राष्ट्रिय विभूति ।
सीता आगोमा होमिइन्, गर्भवती सीतालाई जंगलमा छोडियो, उनले जंगलमा छोराहरु हुकाइन् र अन्तमा रामको अगाडी लगेर छोरा बुझाएर आत्महत्या गरिन् । अहिले पनि हाम्रो समाजले, श्रीमानले स्वास्नीमा सीताको जस्तै त्याग खोज्छ । श्रीमानको लागि श्रीमती मर्न पनि तयार हुनुपर्छ भन्ने सोच राख्छ । द्रौपदीलेजस्तो लोग्नेसँग प्रश्नप्रतिप्रश्न गरेको मन पराउँदैन ।
सीता जत्तिकै शक्तिशाली र पवित्र द्रौपदी पनि थिइन । संसारमा कँही पनि एउटा लोग्नेका धेरै श्रीमती मिलेर बसेका छैनन् । तर, द्रौपदीले ५ वटा श्रीमान अर्थात् जारलाई मिलाएर राखिन् । द्रौपदीका कारणले पाण्डबबीचमा कहिल्यै झगडा भएन । त्यसरी श्रीमानलाई मिलाएर राख्नु द्रौपदीको क्षमता हो । त्यो उनको कुशलता हो । त्यस्ता पाँच वीरहरुलाई नमिलाएको भए के हुन्थ्यो ? हामी त्यसरी सोच्दैनौँ । उसका पाँच पति थिए । ऊ बेश्याजस्ती हो मात्र भन्छौँ । तर फेरि शास्त्रले द्रौपदीलाई पञ्चकन्याको रुपमा सम्मान गरेको पनि छ है ।
उनी यति शक्तिशालि छिन् तैपनि उनलाई चरित्रहीन’ भन्छन् । यो समाजले महिलालाई आफ्नो उपभोगको साधनका रुपमा मात्रै लिन्छ । त्यो भन्दा बाहिर गयो भने चैँ चरित्रहीनको रुपमा अथ्र्याउँछन् । द्रौपदीको हकमा पनि यही भएको हो ।
महाभारतको त्यति ठूलो संघर्षमा उनले एक ठाउँमा पनि हार खाईनन् । चीरहरण हुँदा कुरुसभा र पुरुषलाई ललकार्दै तिमीहरु काँतर हौँ भनिन् । पाण्डवसमेत डराउने दुर्योधनलाई उनले ललकारिन् ।
स्वर्ग जाँदा द्रौपदीको मृत्यु सबैभन्दा पहिले हुन्छ । अनि उनका श्रीमानले भन्छन्, अर्जुनलाई धेरै माया गरेका कारण उनी पहिले मरिन भनिन्छ । यसलै देखाउँछ, पुरुष कति स्वार्थी हुन्छन् भन्ने कुरा ।
द्रौपदीले ५ वटा श्रीमानबाहेक अरुसँग विवाह गरिनन् । सम्बन्ध गाँसिनन् । तर, भीम, अर्जुन, युधिष्ठीर, नहकुल र सहदेवका सबैका द्रोपदीबाहेक अरु पनि श्रीमती थिए । पाण्डहरुसँग द्रौपदीबाहेक अरु श्रीमतीछन् तर, द्रौपदीको पाण्डव बाहेक अरु कोही छैन ।
कुनै पनि महिला द्रौपदीजस्तो शक्तिशाली होउन, कसैसँग हार नमानुन् । सीता जस्तो सहु धर्ति बनेर सहनुपर्छ भन्ने मन पर्दैन् । सीता जस्तै बनेर हाम्रा आमा, हजुआमा यहाँसम्म आए । त्यसैले सहँदा सहँदा हाम्रो आमा र हजुआमाको युग डिप्रेसमा बित्यो । सीताका जसरी सहनशील हुनुपर्छ र हार्नुपर्छ भन्ने मलाई लाग्दैन् ।
तर, मैले द्रौपदी मनपर्छ भन्दा उसका ५ वटा पति थिए र उनको त्यो यौनिक प्रवृति मनपर्छ भन्ने बुझ्छन् आममान्छे । यहि बुझाईले नै आमसमाजले हामीलाई कसरी हेर्छ भन्ने छ्यांग हुन्छ ।
पितृसत्तात्मक सोचलाई विस्तार गर्न पुरुष मात्रै होईन महिला पनि उत्तिकै जिम्मेवार छन् भनिन्छ । पितृसत्तात्मक सोच बोकी हिड्ने महिलाहरु महिला मुक्तिका लागि कति बाधक छन् ?
यो एकदैम खतरनाक छ । यस्तो सोचाईको चपेटामा परेका महिलाहरुलाई थाहा नै हुँदैन कि आफु बाधक बनेको कुरा ।
महिलाहरुको हकमा अहिले पनि भन्ने गरिन्छ, खुट्टा फारेर बस्नु हुँदैन । ठूलो स्वरले हाँस्नु हुँदैन्, साँझमा हिड्नुहुँदैन । यी सामान्य भनिने तर महिलामाथि नियन्त्रण जमाउने स–सना कुरा महिलाहरुले बच्चैदेखि सिकेका हुन्छन् ।
आमा हजुर आमाले निरन्तर पुस्ता दर पुस्ता यही कुरा सिकाउँदै आएकाछन् । आफुले सिकेको कुरा गलत हो या सहि हो भनेर उनीहरु प्रश्नै गर्दैनन् । छुट्याउनै सक्दैनन् । त्यसकारण जानी नजारी ठूलो संख्यामा महिलाहरु पितृसत्ताको फलोअर छन् ।
हामीले हेर्दा महिलाहरुले पितृसत्तात्मक सोच बोकी हिड्नु महिला मुक्तिका लागि बाधक हो । तर उनीहरुका लागि भने यो सहज हो । पितृसत्ताम्क सोच बोकेकै कारण उनीहरुको जीवन सहज बनिरहेको हुन्छ ।
मेरो आमा पढ्न लेख्न प्रेरणा दिनुहुन्छ । तर, मैले बिहे गरेपछि सिन्दुर नलाएको देख्दा मेरो आमा सिन्दुर लगा, पोते लगा, चुरा लगा भन्नुहुन्छ । मैले लगाईन भने छरछिमेकीले के भन्लान भनेर चिन्ता गर्नुहुन्छ । तर, यही विषय बुबाले भन्नुहुन्न किनभने बुबालाई सिन्दुर, पोते, नलगाउँदा के हुन्छ कस्तो प्रतिक्रिया आउँछ थाहै हुँदैन ।
पितृसत्ताले यस्ता कुराको संवाहक महिलालाई नै बनाएको छ । त्यसकारण महिलाहरु यस्ता कुरा बोकी हिड्छन् । यस्ता कुराले आम छोरी मान्छेलाई सजिलो हुन्छ । धेरै मान्छे त आमजीवन बाँच्छन, विशेष जीवन त थोरै मान्छेले बाँच्नेगर्छन् ।
अन्तमा साहित्यसँगको प्रश्न । पछिल्लो समय लेखिरहेको साहित्य कस्तो लागिरहेको छ तपाईलाई ?
पछिल्लो समयको साहित्य उर्वर छ । अघिल्लो पुस्ताले यो पुस्ताको लेखनलाई राम्रो छैन भने पनि अहिले वर्षको ३ देखि ४ सय पुस्तक छापिएकाछन् । यी मध्ये सय वटा पुस्तक मात्रै राम्रो आएभने पनि २० वर्षपछि कति हुन्छ सोच्नुहोस त । यसकारण साहित्यका लागि यो उर्वर समम हो । आश लाग्दो समय हो ।
लेखेर बाँच्छु, केही भएन भने पनि लेखेर खाजा खान्छु भन्ने आँट लेखकमा आउन थालेको छ । हामी अझै शसक्त ढंगले हामी लेखेरै बाँच्ने सक्ने हुन्छौ । साहित्य उर्वर बनाउँछौ भन्ने लाग्छ ।
-shilapatra
Write your Comment