म्याग्दीमा व्यावसायिक एभोकाडो खेती शुरू

रातोघर

 ६ जेष्ठ २०७६, सोमबार १७:२७  मा प्रकाशित
६९३ पाठक संख्या



म्याग्दी ।

पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकामा पहिलोपटक एभोकाडोको व्यावसायिक खेती शुरू भएको छ । थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना रहेको र स्वास्थ्यका दृष्टिले निकै लाभदायक मानिने एभोकाडोको खेतीमा किसानलाई आर्कषित गर्ने उद्देश्यले गाउँपालिकाको आर्थिक तथा मञ्जुश्री नर्सरी हाउसको व्यवस्थापनमा बाबियाचौरमा तीन दिने एभोकाडाखेती सम्बन्धी तालीमपछि किसानले यसको खेती शुरू गरेका हुन् ।

किसानलाई गाउँपालिकाले एभोकाडाका एक हजार बिरुवा निःशुल्क वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले तरकारी तथा फलफूल खेतीबाट छोटो समयमै मनग्य आम्दानी गर्न सकिने भएकाले तालीम अनुसार व्यावसायिक खेतीमा सक्रिय हुनेलाई अनुदान समेत दिइने बताए ।

यहाँको हावापानीमा एभोकाडाखेती सम्भव छ,फलफुल खेतीमा गाउँपालिकालाई पकेटक्षेत्र बनाउने लक्ष्य छ,’ रोकाले भने । गाउँपालिकाभित्रका सबै बस्तीको माटो परीक्षण गरी अनुकूल अनुसारका फलफूल खेती गर्नका लागि किसानलाई गाउँपालिकाले अनुरोध गरेको छ ।

गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयले समेत प्राथमिकता दिएकाले आगामी वर्ष तालिमसहित अनुदानमा बिरुवा वितरण गरिने अध्यक्ष रोकाले बताए । विज्ञ जीवनप्रसाद राईले पछिल्लो समयमा एभोकाडो फलप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको बताए ।

उनले केही जिल्लामा व्यावसायिक खेती शुरु भएको पनि जानकारी दिए । ‘उष्ण र समशितोष्ण हावापानीमा एभोकाडाको खेती गर्न सकिन्छ, बिक्री गर्न बजारमा जानै पदैन्, घरदैलोमै खोसाखोस हुन्छ,’ एभोकाडोखेती सम्बन्धी तालिमका प्रशिक्षक समेत रहेका राईले भने।

समुद्री सतहबाट दुई हजार ५०० मिटरसम्म यसको खेती गर्न सकिन्छ । बिरुवा रोपेको चार देखि ६ वर्षभित्रै उत्पादन दिने भएकाले पनि पाखोबारी, कान्ला र खोला छेउमा एभोकाडो रोपेर नियमित आम्दानीको स्रोत बनाउन मञ्जुश्री नर्सरी हाउसले गाउँपालिकासँग सहकार्य गरेको अध्यक्ष रोकाले जानकारी दिए ।

नेपालीमा एभोकाडोलाई ‘घिउ’ फल भनेर चिनिने गरेको राईले बताए । यसले फल दिन थालेपछि ५० वर्षसम्म एउटै बिरुवाले फल दिइरहने उनको भनाइ थियो । प्रशस्त भिटामिन, प्रोटिन र चिल्लो पदार्थ पाइने भएकाले एभोकाडाको माग र उपभोक्ता दिनदिनै बढ्दै गएका छन् ।

Write your Comment