काठमाडौं ।
विद्यालय शिक्षा विकास कार्यक्रम (एसएसडिपी)का लागि दातृ निकायले नेपाललाई दिन प्रतिबद्धता गरेको चार अर्बभन्दा बढी रकम निकासा रोकिएको छ ।
रकम प्राप्तिका लागि भएको सम्झौताअनुसार विद्यालय शिक्षा विकासका कार्यक्रममा प्रगति नहुँदा र कतिपय कार्यक्रमको स्थानीय तहबाट प्रगति विवरण नै नआउँदा अनुदान रोकिएको हो ।
शिक्षा मन्त्रालयका एक सहसचिवका अनुसार अहिलेसम्म आउनुपर्ने दुई अर्बभन्दा बढी रकम दाताले दिएका छैनन् । साउनसम्म प्रगति अहिलेकै अवस्थामा रहे चार करोड अमेरिकी डलर (चार अर्ब रुपैयाँभन्दा बढी) नआउने जोखिम रहेको उनले बताए ।
‘अहिले सरकारले पाउनुपर्ने रकम ‘रेडजोन’तिर गइरहेको छ,’ ती सहसचिवले भने, ‘काम सकेको भए दुई अर्ब रुपैयाँ आइसक्नुपर्ने थियो, आएको छैन ।’ यो समाचार भवानीश्वर गौतमले लेखेका हुन् ।
विद्यालय शिक्षाको समग्र गुणस्तर सुधार गर्ने योजनासहित शिक्षा मन्त्रालयले सन् २०१६/१७ देखि एसएसडिपी कार्यक्रम सुरु गरेको हो । झन्डै साढे ६ खर्ब लाग्ने पाँचवर्षे कार्यक्रमका लागि वैदेशिक सहायता झन्डै ५० अर्ब रुपैयाँ छ । दाताहरूसँग काम सकेपछि भुक्तानी लिने गरी सम्झौता छ । दाताले ‘बास्केट फन्ड’मा वार्षिक १४ अर्ब हाराहारी दिने प्रतिबद्धता छ ।
आजको नयाँ पत्रिकाबाट
Write your Comment