उपमेयर नै भूमाफियासँग मिलेको आरोप

रातोघर

 २०७६ जेष्ठ ७, मंगलबार  मा प्रकाशित
२३९ पाठक संख्या


भूमाफियाको चलखेलमा इटहरी उपमहानगरपालिकाकी उपमेयरले वडा कार्यालयलाई बाइपास गर्दै सिँचाइको स्रोत रहेको सिमसारलाई मास्नेगरी प्लटिङको जग्गा जोड्ने पुल बनाउन सिफारिस दिएको स्थानीयले आरोप लगाएका छन् । इटहरी–३ क्षेत्रभरिका लागि भुलभुले सिमसार सिँचाइको स्रोतका रूपमा रहेको छ । सोही सिमसारलाई प्रत्यक्ष असर गर्नेगरी प्लटिङको जग्गा जोड्न पुल बनाउन उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले सिफारिस दिएकी थिइन् ।

बीच भागमा रहेको सिमसार क्षेत्रमा कंक्रिट पुल बनाउन प्लटिङवालाले स्थानीय केही व्यक्तिलाई अघि सारेर उपमहानगरबाट सिफारिस लिएका छन् । वडा नम्बर ३ को कार्यालयले सिँचाइ मासिने भन्दै पुल बनाउन सिफारिस दिन रोकेको थियो । तर, वडा कार्यालयलाई नै बाइपास गर्दै उपमेयर गौतमले पुल बनाउन सिफारिस दिएको स्थानीय किसानले आरोप लगाएका छन् । स्थानीय कर्णबहादुर अधिकारीसहितको निवेदनका आधारमा उपमहानगरपालिकाले सिफारिस दिएको हो । वडा कार्यालयले सिफारिस दिन नमानेपछि प्लटिङवाला केही व्यक्तिको धनीपूर्जा समेत देखाई सिफारिस लिएका छन् ।

वडा कार्यालय, पैनी समिति र स्थानीयसँग छलफल नै नगरी एकैपटक उपमहानगरपालिकाले मनोमानी ढंगले सिफारिस दिएको स्थानीय किसान खगेन्द्र सुवेदीले बताए । भुलभुले पानी उम्रने सिमसार करिब १ किलोमिटरमाथि जंगलसम्म जोडिएको छ । यहाँका किसानले २०१२÷१३ सालदेखि सोही सिमसारको पानी सिँचाइका रूपमा प्रयोग गर्दै आएका छन् ।

करिब १ हजार ३ सय बिघा क्षेत्रमा सिँचाइलाई पानी जाने गरेको स्थानीय तथा बुढी पटेरुवा जलउपभोक्ता समितिका अध्यक्ष कमलबहादुर महतले जानकारी दिए । पुल बनाए ढुंगा, गिट्टीलगायतका कंक्रिटले सिमसार मासिने भन्दै त्यो बन्न नदिने अध्यक्ष महतले बताए । सोही पानीको सिँचाइले यहाँ दुई बाली धान खेती, मकै, गहुँलगायतका बाली किसानले लगाउँदै आएका छन् । तर, सिँचाइको मुटु रहेको सिमसारलाई नै मास्न षड्यन्त्र भइरहेको जलउपभोक्ता समितिका सचिव कालिबहादुर लिम्बुको भनाइ छ । पैनी समितिले पुल बनाउन नदिने भर्खरै निर्णय गरेको उनले जनाए ।

-shilapatra

Write your Comment