प्रदेश २ का जनता सन्तुष्ट छैनन्

रातोघर

 ७ जेष्ठ २०७६, मंगलवार २०:०३  मा प्रकाशित
११२२ पाठक संख्या



राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलको संयोजकमा अनिलकुमार झा चयन भएका छन् । प्रदेश २ मा राजपा र फोरमको संयुक्त सरकार छ । तर, सरकारको कामकाजको निकै आलोचना भइरहेको छ । प्रदेश सरकारको कामकाज र पार्टीको आगामी रणनीतिबारे संयोजक झासँग शिलापत्रका लागि सुजीतकुमार झाले गरेको कुराकानी 
……………………………………………………………..
तपाईं राष्ट्रिय जनता पार्टीको संयोजक हुनुभएको छ । अध्यक्षका रुपमा प्राथमिकता के छन् ?
राष्ट्रिय जनता पार्टीले शोषित, पीडित, दलित र जनजातिका लागि सधैं आवाज उठाउँदै आएको छ । यसबाट हामी कहिल्यै पनि तलमाथि हुँदैनौं । संविधान संशोधनको मुद्दा हाम्रो पहिलो प्राथमिकतामा छ ।
पार्टीको महाधिवेशन चाँडै हुनेछ । यसका लागि महन्थ ठाकुरको संयोजकत्वमा महाधिवेशन तयारी समिति गठन गरिएको छ । सो तयारी समितिलाई बल दिने काम पनि हाम्रो प्राथमिकतामा रहनेछ ।
अरू संयोजकभन्दा तपाईंको कार्यकाल फरक देखिनेछ कि ?
पार्टीको नेतृत्व तहमा महन्थ ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा, महेन्द्र यादव, शरद सिंह भण्डारी र राजकिशोर यादव छन् । हामी ६ जनन अध्यक्ष मिलेर पार्टीको नेतृत्व गर्दैछौं । संयोजकको काम संयोजन गर्ने मात्रै हो ।
यो संयोजक चक्रिय प्रणालीअनुसार रहेकाले यसले खासै फरक पर्दैन । राजपाको काम र कर्तव्य सबैलाई थाहा छ । त्यहीअनुसार हामी अगाडि बढ्नेछौं, बढ्दै पनि छौं ।
जनता प्रदेश २ सरकारप्रति निकै असन्तुष्ट छन् नि ?
जनता असन्तुष्ट भएको पार्टीलाई थाहा छ । जनतालाई सन्तुष्ट पार्ने खालका योजना ल्याउन हामीले एक–दुई चरणको बैठक पनि गरिसकेका छौं । विकासका बजेट ठीकसँग परिचालन गर्ने दिशामा हामी सजग छौं ।
जनताको समस्या समाधानतर्फ जनप्रतिनिधिले काम गर्नुपर्छ । प्रदेश सरकारमा रहेका मन्त्री मात्र नभई स्थानीय तहमा रहेका जनप्रतिनिधिले पनि जनतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।
हाम्रो पार्टीको लाइन पनि यही हो । अध्यक्ष मण्डलले यस्तै निर्देशन पनि जारी गरेको छ । यो निर्देशनलाई जुन जनप्रतिनिधिले मान्दैन, उसलाई कारबाही गरिनेछ ।
प्रदेश सरकारका मन्त्रीले पार्टीसँग समन्वय नगरी काम गरेको चर्चा छ नि ?
मलाई यस सम्बन्धमा जानकारी छैन । तर, जनताको काम कसरी सरल ढंगले गर्न र विकास निर्माणका काममा तीव्रता दिन प्रदेश मन्त्रीले काम गर्नुपर्छ ।
कर्मचारीको अभावका कारण समस्या भइरहेको छ । तर, त्यो दोष देखाएर बजेटको दुरुपयोग गर्न मिल्दैन ।
प्रेसमाथि अंकुश लगाउने कार्य प्रदेश र संघबाट भइरहेको छ, राजपाको धारणा के छ ?
प्रेस स्वतन्त्रताको हामी पक्षपाती हौं । प्रजातन्त्रको अक्सिजन नै प्रेस हो । यसलाई कुनै प्रकारले अंकुश लगाउनुहुँदैन । संघीय सरकारले जुन विधेयक संसदमा लगेको छ, त्यसको हामी विरोध नै गर्छौं ।
सेना, प्रेस र मानवअधिकारको सम्बन्धमा दुई दिनअगाडि नै पार्टीको धारणा आएको छ । पार्टीका तर्फबाट संशोधन प्रस्ताव पनि हामीले दर्ता गराएका छौं ।
जहाँसम्म प्रदेश सरकारले संसदमा लगेको सञ्चार विधेयक छ, त्यसमा गल्तीले दण्ड दिने विषय आएको सम्बन्धित मन्त्रीले नै स्वीकार गरिसकेका छन् । त्यो चाँडै सच्याइनेछ ।
राजपा र समाजवादी पार्टीबीचको एकताको कुरो कहाँ पुगेको छ ?
राजपाले अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको संयोजकत्वमा वार्ता समिति गठन गरिसकेको छ । सो समितिले पार्टी एकताका लागि कार्य अगाडि बढाएको छ ।
हामी चाहन्छौं, शोषित पीडितहरुको पक्षमा कार्य गर्नेहरु एक ठाउँमा जम्मा होऔं । एउटा पार्टी बनाऔं । तर, सरकारमा पनि बस्ने एकता पनि गर्ने, यो सम्भव छैन । तर, हामी एकताका लागि अगाडि बढेका छौं ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रदेश २ मा नेकपाको सरकार बन्न सक्ने आशयको अभिव्यक्ति दिदै आएका छन्, तपाईंहरुबीच समन्वयन नभएर नेकपा अघि वढेको चर्चा पनि छ नि?
बहुमत आयो भने सरकार बनिहाल्छ । पहिला बहुमत बनाएर देखाउन सक्नुपर्यो नि । अहिले जुन किसिमले बोल्नुभएको छ, हास्यास्पद नै लाग्छ । हामी फोरमसँग मिलेर सरकार चलाइरहेका छौं ।

-shilakhabar

Write your Comment