हुलाकी सडक बन्द, स्थानीय युवाद्वारा प्रदर्शन

रातोघर

 ८ जेष्ठ २०७६, बुधबार ०६:५६  मा प्रकाशित
२६५ पाठक संख्या


जनकपुर ।

जनकपुरदेखि धनुषाको सघारासम्म जाने हुलाकी सडकखण्ड सुधारको माग राख्दै स्थानीय युवाले  प्रदर्शन गरेका छन् ।

सडक धुलाम्य भएको हुँदा आवत–जावतमा सास्ती भएको भन्दै स्थानीयले चक्काजाम गरी सडक बन्द गरेका हुन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १८ भोइलमा स्थानीय युवाहरुले हुलाकी सडक बन्द गर्दै स्थानीय सरकार , प्रदेश सरकार , केन्द्र सरकार र ठेकेदारविरुद्ध चर्को नारावाजी गरेका छन् ।

सम्बन्धित निकायलाई पटक–पटक आग्रह गर्दा पनि सडकको अवस्था सुधार नभएपछि अहिले उक्त सडकखण्डमा चारचक्के गाडी बाहेक मोटरसाईकल, पैदल वा साईकल यात्रीलाई आवत-जावतमा कठिनाई भएको स्थानीयको गुनासो छ।

सडकमा धुलो नै धुलो भएको र सर्वसाधारणको स्वास्थ्यमा गम्भिर असर पारेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षणका लागि चक्काजाम गर्न बाध्य भएको युवाहरुको आक्रोश छ । उनीहरु बीच बाटोमै बसेर नाराबाजी गरिरहेका छन् ।

सोमबार मात्र धनुषाको देउरी परवाहामा समेत धुलाम्य भएको भन्दै स्थानीयले सडकमा मुडा, टेबल, कुर्ची राखेर बाटो जाम गरेका थिए ।

Write your Comment