काठमाडौं ।
पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा सोमबार मध्यराति भएको विभत्स हत्याको घटना पारिवारिक खटपटका कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख नायब उपरीक्षक (डीएसपी) नरेन्द्र कुँवरले घटनामा दुई परिवारका नौ जनाको हत्या भएको र प्रारम्भिक अनुसन्धानले पारिवारिक सम्बन्धमा खटपटका कारण हत्या भएको देखाएको जनाएका हुन् । उनका अनुसार घटनामा एक परिवारका पाँच र अर्को परिवारका चार गरी नौ जनाको हत्या भएको हो ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले धारिलो हतियारको प्रयोग भएको पाइएको जनाए । उनले समेत घटनाको प्रारम्भिक अनुसन्धानले हत्यामा पारिवारिक कारण देखाएको जनाए ।
‘घटनामा दुई परिवारका गरी नौ जनाको हत्या भएको हो, हत्या अत्यन्तै विभत्स र क्रुर तरिकाबाट भएको छ, प्रारम्भिक अनुसन्धानले हत्यामा पारिवारिक कारण देखाएको छ,’ प्रमुख जिल्ला अधिकारी वस्तीले राजधानीसँग भने, ‘अन्य थप अनुसन्धान विशेषज्ञ टोलीबाट हुँदै छ ।’हत्या हुनेहरूमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज सेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा सेर्मा, १३ वर्षीया योवना सेर्मा, आठ वर्षीया मुना सेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, पुर्सीमाया फियाक र १२ वर्षीया आशिका खजुम लिम्बू छन् ।
घटनामा भागेर बाँच्न सफल भएकी १२ वर्षीया सीता खजुम
घटनामा भागेर बाँच्न सफल भएकी १२ वर्षीया सीता खजुमले घटनामा मुकुन्डोधारी व्यक्तिले अन्धाधुन्ध धारिलो हतियार प्रयोग गरी विभत्स हत्या गराएको बयान प्रहरीलाई दिएकी छन् । उनको हात भाँचिएको छ । उनी भागेर मकैबारीमा पुगेपछि बाँच्न सफल भएको प्रहरीले बताएको हो ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी वस्तीले घटनाको थप अनुसन्धानका लागि प्रदेशबाट १५ जनाको विशेषज्ञ टोली घटनास्थल पुगेको र थप अनुसन्धान गरिरहेको जनाए । उक्त टोली तालिम प्राप्त कुकुरसहित घटना स्थल पुगेको हो ।
सीआईबी पनि अनुसन्धानमा
यस्तै, केन्द्रबाट घटनाको छानबिन गर्न भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीसमेत त्यसतर्फ गएको छ । हत्या प्रकरणमा शंका गरिएका व्यक्तिसमेत झुन्डिएको अवस्थामा भेटिएपछि प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका एसपी उमाप्रसाद चतुर्वेदीको नेतृत्वमा अनुसन्धान टोली पाँचथर पठाएको हो । यस्तै, प्रदेश १ का डीआईजी केदार रिजालसमेत घटनास्थल गएका छन् ।
घटनामा दुई परिवारका गरी नौ जनाको हत्या भएको छ, हत्या अत्यन्तै विभत्स र क्रुर तरिकाबाट भएको छ, प्रारम्भिक अनुसन्धानले हत्यामा पारिवारिक कारण देखाएको छ
मुरारी वस्ती
प्रमुख जिल्ला अधिकारी, पाँचथर
शंकास्पद व्यक्तिले पनि गरे आत्महत्या
प्रहरीले हत्यामा बमबहादुर याकका कान्छा ज्वाइँ मानबहादुर माखिम संलग्न भएको हुन सक्ने बताएको छ । हत्या अनुसन्धानका क्रममा उनले लगाएको कपडा रगतले लतपतिएको अवस्थामा भेटिएपछि उनैमाथि हत्याको आशंका गरिएको हो । ससुरालीले छोरीसँग सम्बन्धविच्छेद गराइदिन खोजेपछि मानबहादुर केही समयदेखि ससुरालीसँग असन्तुष्ट रहँदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सोही कारण उनले विभत्स रूपमा घटना घटाएको हुन सक्ने प्रहरीले जनाएको हो ।
तर, हत्यामा संलग्न भएको आशंकामा रहेका ज्वाइँ मानबहादुरसमेत झुन्डिएको अवस्थामा मृत भेटिएपछि प्रहरीले हत्याको अन्य कारण भने पत्ता लगाउन सकेको छैन ।
प्रहरीले शंकाको घेरामा राखेका मानबहादुर नौ जनाको हत्या घटनालगत्तै आफ्नै गाउँ मिक्लाजुङ–७ लिम्बाको बुधबारेमा झुन्डिएको अवस्थामा भेटिएका थिए । उनले बमबहादुरकी कान्छी छोरी मनकुमारीसँग बिहे गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी नरेन्द्र कुवँरका अनुसार मानबहादुरसँग झगडा परेपछि उनकी श्रीमती मनकुमारी आरुबोटेस्थित माइतीमा बस्दै आएकी थिइन् ।
-rajadhani daily
Write your Comment