जनकपुरधाम ।
जनकपुरधाम विमानस्थलमा रात्रीकालीन विमान सेवा सुरु गरिने भएको छ । यसका लागि विमानस्थल आसपासका झण्डै चार सय रुख काटिएको छ । आवश्यक तयारी पूरा भएपछि जनकपुर विमानस्थलमा जेठभित्र रात्रीकालीन सेवा सुरु हुने विमानस्थलका अधिकारीहरुले बताएका छन् ।
रात्रीकालीन सेवाका लागि अन्य प्राविधिक कार्य यसअघि नै पूरा भइसके पनि आसापाका रुख समस्याको रुपमा देखिएको थियो । जनकपुरधाम विमानस्थलका प्रमुख सन्तोष ढकालले रात्रीकालीन सेवाको लागि बाधक देखिएपछि आसपासका रुख काटिएको बताए ।
विमानस्थल वरिपरी अग्ला हुने प्रजातिका झण्डै चार सय रुख काटिएकोले रात्रीकालीन उडानमा अब कुनै समस्या नरेको उनले बताए । ‘रात्रीकालीन सेवाको लागि लगभग सबै तयारी पूरा भइसकेको छ,’ विमानस्थल प्रमुख ढकालले भने, ‘प्रधानमन्त्रीबाट रात्रीकालीन सेवाको उद्घाटन हुनेमा हामी विश्वस्त छौं ।’
अनुगमनका लागि विभागको ‘भ्यालिडेसन टीम’ लाई पत्राचार गरिसकेको उनले जानकारी दिए । ढकालले भने, ‘भ्यालिडेसन टीम’ आएर अनुगमन गरेलगत्तै हामी ‘टेस्ट फ्लाइट’ गर्ने तयारीमा छौं ।’
परीक्षण उडानपछि के–कस्तो सुझाव आउँछ त्यहिअनुसार अगाडि बढिने उनले बताए । रात्रीकालीन सेवाको लागि रनवेलगायत अन्य तयारीको विषयमा सर्वेक्षण गर्न एक–दुई दिनभित्रै ‘भ्यालिडेसन टीम’ जनकपुरधाम आउन लागेको ढकालले जानकारी दिए ।
ढकालले रात्रीकालीन सेवा सुरु गर्न आवश्यक रहेको ‘रनवे लाइट’ र ‘आइएफआर’ जडान भएर जाँचसमेत भइसेको बताए । घरेलुका साथै बैंकक, भारतको पटना, लखनउजस्ता स्थानमा उडान गर्नेगरी जनकपुरधाम विमानस्थल तयार पारिएको उनको भनाइ छ । यद्यपि, यस विषयमा माथिल्लो निकायले मात्र निर्णय गर्नसक्ने ढकालले बताए ।
बुद्ध एयरका जनकपुर प्रमुख विजयप्रसाद सिंहले आफूहरु रात्रीकालीन सेवाको लागि परीक्षण उडानको तयारीमा रहेको बताए । जनकपुर विमानस्थलबाट रात्रीकालीन सेवा सुरु भइसकेपछि काठमाडौं–जनकपुर आवतजावत गर्ने यात्रुलाई सहज हुने उनको भनाइ छ ।
हवाइसेवा थप भएपछि भाडा दरसमेत घट्ने बताउँदै सिंहले रात्रीकालीन सेवा सुरु हुँदा सानोतिनो काम भएकाहरु सोहि दिन काम गरेर फर्कन सक्ने उल्लेख गरे ।
अहिले दैनिक दुईवटा उडान भइरहेको अवस्थामा रात्रीकालीन सेवा सुरु भएलगत्तै बुद्ध एयरले दैनिक तीनवटा उडान गर्ने योजना बनाएको उनको भनाइ छ ।
जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहले रात्रिकालिन विमान शुरु भएपछि जनकपुरधाममा पर्यटक पनि बढ्ने विश्वास व्यक्त गरे । व्यवसायीहरु रात्रिकालीन विमान शुरु हुने भएपछि उत्साहित बनेको उनले बताए ।
जनकपुर विमानस्थल वि.सं. २०२४ सालदेखि सञ्चालमा आएको थियो ।
-shilapatra
Write your Comment