काठमाडाैं ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले संसदमा प्रस्तुत मिडिया काउन्सिल विधेयक फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । आन्दोलनकै क्रममा विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष आचार्यले महासंघको आन्दोलनलाई विभाजित गर्ने षडयन्त्र भैरहेको भन्दै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । ‘प्रेस स्वतन्त्रताको पक्षमा हुने आन्दोलन हारिने आन्दोलन होइन,’ उनले सम्पादकहरुलाई आग्रह गर्दै भने, ‘तपाईंहरुले पनि सशक्त ढंगले आन्दोलनलाई सहयोग गरिदिनुपर्यो ।’
अन्तरक्रियाका क्रममा सरकार एकपक्षीय रुपमा विधेयक पारित गराउन लागे अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउने तथा पत्रकारहरुले आप्mनै समानान्तर प्रेस काउन्सिल गठन गर्ने विकल्पबारे समेत छलफल भयो ।
छलफलका क्रममा मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता गर्ने वा परिमार्जन गरी पारित हुँदा सहमति जनाउने भन्नेमा विषयमा सम्पादकहरु विभाजित देखिए ।
लामो समयदेखि प्रेस काउन्सिललाई समय अनुकुल परिमार्जन गर्नुपर्ने माग पत्रकार महासंघले गर्दै आएकाले वर्तमान विषयलाई आफूअनुकुल परिमार्जन गरेर पारित गराउने विकल्प खुला राख्नुपर्ने पत्रकार महासंघको भनाइ छ ।
प्रस्तावित विधेयक परिमार्जन गरी स्वतन्त्र पत्रकारितको मर्म अनुकुल बनाउन महासंघका पदाधिकारी, केही सम्पादक तथा महासंघका पूर्वअध्यक्षहरुसहितको वार्ता टोली गठन गर्ने विषयमा पनि छलफल भएको छ ।
समाजिक सञ्जाललाई समेत पत्रकारिताको रुपमा हेर्ने वर्तमान मिडिया काउन्सिल विधेयक त्रुटिपूर्ण रहेको भन्नेमा सबै सम्पादक एकमत देखिए । विधेयकमा रहेको दण्डको प्रावधान र काउन्सिलमा नियुक्तिको प्रकृयासमेत त्रुटिपूर्ण रहेको सम्पादकहरुको बुझाइ थियो ।
प्रधानमन्त्रीले नै पत्रकारहरुलाई अमर्यादित व्यवहार गर्ने गरेको र पत्रकारिताका सम्बन्धमा अवान्छित टिप्पणी गर्ने गरेको भन्दै भेलाले आपत्तिसमेत जनाएको छ ।
-shalapatra
Write your Comment