अनि आमाले मेरो कौमार्य जाँचिन्

रातोघर

 १३ जेष्ठ २०७६, सोमबार २०:४१  मा प्रकाशित

नाटक समीक्षा

‘आँधीको मनोरम नृत्य’ भन्ने नाटक हेरेपछि हृदयभित्र ठूलो आँधीबेहरी चल्यो।

नाटक सकेपछि काठमाडौंको बत्तीसपुतलीस्थित ‘शिल्पी नाटकघर’ को कम्पाउन्ड बाहिर निस्किएर बेन्चमा थुचुक्क बसेँ।

मानिस हतार हतार घर जाने तर्खर गर्दै थिए। नाटकका कलाकार पनि पहिरन फेरेर निस्किँदै थिए। सबैलाई घर जाने चटारो भए पनि मलाई भने एकछिन नाटकघर छाडेर कतै जान मन लागेन।

म नाटक होइन, आफ्नै भोगाइको मञ्चन हेरेर आएको थिएँ।

त्यो कथा मेरो मात्र अवश्य होइन। मजस्ता लाखौं आमा र छोरीहरूको कथा होला। हजारौं युवायुवतीको व्यथा होला।

घिमिरे युवराज र अमजद प्रवेजद्वारा निर्देशित यो नाटकले दुई पिँढीको पुस्तान्तरणले ल्याउन सक्ने संवादविहीनताको परिस्थिति उजागर गरेको छ। यसले किशोर–किशोरीको यौन मनोविज्ञानलाई आमाबुबा र शिक्षक–शिक्षिकाले बुझ्न तथा स्वीकार्न नसकेको नेपाली समाजको तीतो यथार्थ पनि देखाएको छ।

नाटकको एक दृश्यले मलाई मेरो बाल्यकालमा पुर्याइदियो। त्यस्तो यथार्थ, जसमा मैले बाहिरबाट पाप्रा लगाइसकेको छु। यद्यपि अहिले पनि त्यो घाउ भित्रभित्र पीप पाकिरहेको छ। मलाई बेलाबेला बेस्सरी दुख्छ।

नाटकका एक छोरी पात्र निस्सिमको घरमा उनका बुबाले साथीभाइहरूको सुरसुरा जमघट राखेका हुन्छन्। रक्सीले मात्तिँदै र रात छिपिँदै गएपछि बुबाको एक मित्रले निस्सिमको खोजी गर्छ। बुबाले निस्सिमलाई बोलाउँछन्।

बुबाको साथीको अनुरोधमा निस्सिम ‘क्वीन’ ब्यान्डको ‘वी वील रक यू’ भन्ने गीत गाउँछिन्। गीत सकेपछि ‘आहा कति राम्रो गाएको’ भनेर निस्सिमको नाडी मुसार्न पुग्छ। निस्सिमका बुबा प्रतिक्रियाविहीन भएर देखे–नदेखै बस्छन्।

के गरोस् विचरा! उनको पनि स्वार्थ थियो। सामान्य सरकारी जागिर भएका उनलाई तिनै साथीभाइसँग मिलेर कालो धन कमाउनु थियो। सायद ती बुबा सोच्दा हुन्, आखिर मैले यो सब आफ्नै छोराछोरीलाई खुसी दिन गरिरहेको छु।

यहाँ एउटा अनुत्तरित प्रश्न खडा हुन्छ– धनका लागि श्रीमती र छोरीहरूले भोग्नुपर्ने यौन दुर्व्यवहारको घाउलाई धनले क्षतिपूर्ति देला त?

केही सेकेन्डको त्यो दृश्य हेर्न मलाई साह्रै गाह्रो भयो। नाटक चल्दाचल्दै हलै थर्किने गरी ‘स्टप’ भनेर कराउन मन लाग्यो।

यो हामीले बारम्बार भोगेको पीडा हो, जुन हामी कसैलाई भन्न सक्दैनौं। कदाचित् आमाबुबाले थाहा पाउनुभयो भने थाहा नपाएजस्तो गर्नुहुन्छ।

मैले बाल्यकालमा दर्जनौंपटक यौन दुर्व्यवहार भोगेको छु। एकपटक मेरी आमाले कसोगरी थाहा पाउनुभयो। उहाँले मलाई बुइँगलमा लगेर सोध्नुभयो। मैले ह्वाँ ह्वाँ रोएर ‘हो’ भन्दै स्वीकारेँ।

उहाँले तुरन्तै अन्डरवेयर फुकाल्न लगाएर मेरो गुप्तांग जाँच्नुभयो। त्यो बेला मैले सोचेँ, घाउ–चोटपटक केही छ कि भनेर जाँच्नुभएको होला। तर, मेरो सोचाइ असत्य रहेछ। उहाँले मेरो गुप्तांगमा घाउ–चोटपटक होइन, मेरो कौमार्य जाँच्नुभएको रहेछ। यो कुरा बुझ्न मलाई तीस वर्ष लाग्यो।

निर्मलाको बलात्कार र हत्यापछि मलाई आफ्नो विगत सम्झेर निकै तनाव भयो। आमाले मेरो कौमार्य जाँचेको सम्झेँ। मलाई यति पीडा भयो, मैले कोठामा झुन्ड्याइरहेको सिसा भुइँमा बजारेर चकनाचूर फुटाइदिएँ। पछि मनोपरामर्शदाताकहाँ गएर ‘आई हेट माई मम, आई हेट माई मम’ भन्दै करिब आधा घन्टा जोडजोडले रोएँ।

मैले यो घटना एक जना साथीलाई सुनाएको थिएँ। उसले भन्दै थिई, ‘आई अल्सो हेट माई मम।’

उसको पनि आफ्नै कथा रहेछ।

ऊ करिब नौ वर्षको हुँदा सामूहिक बलात्कार भएको थियो। त्यो घटनापछि ऊ बेहोस भयो। होसमा आउँदा रगताम्मे थियो। महिनावारी नै नभएको छोरीको कट्टुमा रगतको टाटा देखेपछि कपडा धुँदा आमाको मनमा शंका आएन होला त? तर, उसकी आमाले कहिल्यै त्यसबारे सोधपुछ गर्नु भएन।

यो निर्ममता स्वीकार्न हरेक छोरीलाई गाह्रो हुन्छ। म र मेरा साथी प्रतिनिधि पात्र मात्र हौं। लगभग हरेक घरमा कसै न कसैले यौन दुर्व्यवहार भोगेको छ।

कुनै पनि दुर्घटना एकपटक भएपछि सच्याउन मिल्दैन। विशेषगरी बाल्यकालमा हुने यौन दुर्व्यवहारका घटना। त्यो गहिरो घाउका रूपमा बस्छ। त्यसको असर वयस्क जीवनसम्म हुन्छ, विशेषगरी पुरुषहरूसँगको रोमान्टिक सम्बन्धमा।

मलाई अझैसम्म अरूले आफ्नो शरीर छुँदा असहज महशुस हुन्छ। हरेक यौन सम्बन्धपछि मलाई मेरो शरीर प्रयोग भएजस्तो लाग्छ। बाल्यकालका ती दुर्घटनाले फुल्न नै नपाइकन मेरो वैंश छिनेको छ, जसको मूल्य म आजसम्म तिरिरहेको छु।

मलाई लाग्छ, कहीँ कतैबाट केही गरे पनि यसको क्षतिपूर्ति हुने छैन। मेरो वैंशको बीउ यौन पिपासुहरूका लागि यौन साधनजस्तो मात्र भयो। धर्म र संस्कृतिका नाममा मेरो वैंश काटियो, छाँटियो, दबाइयो र निमोठियो। मेरो यौवनको आँधीले नृत्यको रूप लिन पाएन, जुन यस नाटकमा नाटककारले परिकल्पना गरेका छन्। मेरो भोगाइ आउँदो पुस्ताका छोरीहरूले भोग्न नपरोस्, पलपल म यही कामना गरिरहेको हुन्छु।

आज म मेरा आँखाअगाडि मेरा छोरीहरू देखिरहेको छु, जसको वैंश गुलाबको कोपिलाझैं कोमल, नाजुक र सुन्दर भएर धपक्क बलिरहेको छ। उनीहरूको वैंश डन्डीफोरका रूपमा मुहारभरि भुर्रर उब्रिएको छ। उनीहरू ऐना हेरेर आफैं मुस्कुराइरहन्छन्। कानमा एअरफोन कोचेर संगीत सुन्दै मस्त नाचिरहन्छन्। मलाई भने चौबीसै घन्टा डर छ, अनपेक्षित रूपमा आउन सक्ने आँधीबेहरीले ती कोपिलाको प्राण नलुटोस्।

नाटक हेरुञ्जेल मैले आफ्ना छोरीहरूलाई झलझल्ती सम्झिरहेँ। सानी छोरीलाई बिहानैदेखि मामाघर छाडेर काममा निस्केको थिएँ। नाटक हेर्दै गर्दा मलाई चिन्ता लागिरहेको थियो, त्यहाँ मेरो बच्चा सुरक्षित छ कि छैन?

धेरैलाई लाग्न सक्छ, माइती छोडेको बच्चाको पनि के पीर गर्नु? तर कटु यथार्थ यही हो, यहाँ चिनेकै मान्छे र आफ्नै मान्छेबाट बढी यौन दुर्व्यवहार र बलात्कार हुन्छ। जो जति नजिक छ, ऊ त्यति नै खतरनाक हुन सक्छ।

नेपाली समाजमा यस्तो विडम्बना छ, यहाँ बलात्कार, हत्या, यौन दुर्व्यवहार, छेडछाड खुलेआम हुन्छ, तर प्रेम लुकाउनुपर्ने बाध्यता छ। आफ्नी प्रेयसीको हात समाउनु, अंकमाल र चुम्बन गर्नु अपराधजस्तो छ। नाटकमा पनि यो देख्न सकिन्छ।

हामीले विवाहपूर्वको यौन सम्बन्धलाई सामाजिक र सांस्कृतिक रूपमा मान्यता नदिए पनि आखिर यौवन त आँधीजस्तै हो। प्राकृतिक हो। यो त हुन्छ, हुन्छ। यौनलाई जति दबाए पनि त्यो कुनै न कुनै रूपबाट निस्किन्छ।

यौवनलाई कसरी परिभाषित गर्ने भन्ने आ–आफ्नै धार्मिक, सामाजिक, सांस्कृतिक र व्यक्तिगत परिभाषा होलान्। तर, यौवन त यौवन हो। यो सुन्दर हुन्छ।

नाटककारले यौवनलाई आँधीको संगीतसँग दाँजेर एउटा सुमधुर ऊर्जाका रूपमा व्याख्या गरेका छन्। त्यो यौवनको ऊर्जालाई मनोरम नृत्यका रूपमा लिएर सबैले सकारात्मक ठान्नुपर्छ भन्ने नाटकको अपिल छ।

हामीले यौवनको आँधीमा कुन्ठाको बाँध हाल्न खोज्यौं भने यसले विध्वंशको रूप लिन सक्छ। फलस्वरूप बलात्कार र किशोरावस्थामा हुने अनपेक्षित गर्भ, यौनरोग, पोर्नोग्राफीजस्ता कुराले प्रश्रय पाउँदै जान्छन्।

प्राय: आमाबाबु आफ्ना नानीबाबुले नाम कमाओस्, दाम कमाओस्, ठूलो मान्छे बनोस् भन्ने सपना देख्छन्। युवाहरूको आफ्नै सपना र बिपना हुन सक्छ। पढाइको तनाव, साथीभाइ र परिवारको अपेक्षाका साथै उनीहरूलाई आफ्नो यौन भावना संयमित राख्नुपर्ने चुनौती पनि हुन्छ।

हामीले किशोर–किशोरीलाई एक उचित स्थान दिन सकिरहेका छैनौं, जहाँ उनीहरूको ऊर्जाले नृत्यको रूप लिन सकोस्। हामी आफ्ना अपेक्षा उनीहरूमाथि थोपरिदिन्छौं। उनीहरूको हृदयको आवाज सुन्ने प्रयास गर्दैनौं।

यौवनको आँधी कसरी सम्हाल्ने र यसलाई नृत्यको मनोरम स्वरुपमा कसरी ढाल्ने भन्ने जवाफ अझै हामीसँग छैन। यो नाटकले दर्शकदिर्घामा धेरै प्रश्न जस्ताको तस्तै छाडिदिएको छ। अर्थात्, नाटक द्वन्द्वमै टुंगिन्छ। यसमा उजागर गरिएका समस्याको कुनै ठोस समाधान पनि छैन।

यो नाटकले हामीमाझ एक नैतिक प्रश्न खडा गरिदिएको छ। वयस्कहरू बालबालिका र युवाहरूलाई पथप्रदर्शन गर्न खोज्छन्, तर के बालबालिका र युवायुवतीलाई नैतिकताको पाठ सिकाउन वयस्कका रूपमा हामी योग्य छौं त?

नाटकमा नैतिक पाठ सिकाउने बुबा पात्र र शिक्षक पात्रहरूलाई भ्रष्ट, झूटो बोल्ने, जाँडरक्सी खाने, काम ठग्ने प्रवृत्तिको देखाइएको छ, जो आफ्ना बालबालिकालाई पढ्ने, लेख्ने, इमानदार हुने, जाँडरक्सी र चुरोट नखाने सल्लाह दिन्छन्।

त्यस्तै, वयस्क महिला पात्रहरू यहाँ आफैं प्रताडित छन्। समग्रमा परिवारले बालबालिकालाई सुरक्षा दिन नसकेको लाचारीपन नाटकले प्रस्टै देखाइदिएको छ।

अहिलेको मध्यमवर्गीय समाजमा प्रायः मातापिता धन र पदका पछि लागिरहेका छन् भने छोराछोरी मोबाइल, ट्याब्लेट, सोसियल मिडिया र इन्टरनेट दुरुपयोगको शिकार भइरहेका छन्। हामीले नचाहँदा नचाहँदै बालबालिका र युवाहरू महमा झिंगा भन्किएझैं चौबीसै घन्टा विद्युतीय उपकरणमा झुम्मिरहेका हुन्छन्।

बाहिरबाट हेर्दा राम्रो देखिए पनि परिवारभित्रको अन्तरंग सम्बन्ध विस्तारै छिन्नभिन्न हुन थालेको छ। यसको मुख्य शिकार युवा पुस्ता भइरहेको छ। युवा पुस्तालाई वयस्क पुस्ताले बुझ्न खोजेको छैन, सकेको पनि छैन।

मलाई लाग्छ, यो नाटक कक्षा पाँचमाथिका सम्पूर्ण बालबालिकाले हेर्नुपर्छ। सबै शिक्षक–शिक्षिका र अभिभावकले हेर्नुपर्छ। बालबालिका र युवाहरूसँग सरोकार राख्ने स्वास्थ्य तथा शिक्षाका नीति निर्माताहरूले पनि हेर्नुपर्छ।

नाटक हेरेपछि हामीले युवाको ऊर्जालाई विध्वंशका रूपमा होइन, मनोरम नृत्यका रूपमा ‘कोरियोग्राफ’ गर्न सक्छौं भन्ने सकारात्मक उत्साह दिन्छ। अब हाम्रो जिम्मेवारी भनेको कसरी यी युवाहरूको यौवनको आँधीमा संगीत भर्न सक्छौं भन्नेमा बहस गर्नु हो।

-setopati

Write your Comment