आजदेखि विश्वकप क्रिकेट, इङ्ल्यान्ड र दक्षिण अफ्रिकाबीच उद्घाटन खेल

रातोघर

 १६ जेष्ठ २०७६, बिहीबार १२:३६  मा प्रकाशित
२२४ पाठक संख्या


काठमाडाैं।

विश्वकप क्रिकेटको १२औं संस्करण बिहीबारदेखि सुरु हुँदैछ। इङ्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा १० वटा टोली सहभागी छन्।

विश्वकप मे ३० तारिखमा सुरु भएर १४ जुलाईसम्म चल्नेछ। विश्वकप अवधिभरमा कुल ४८ खेल हुनेछन्। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्नेछ।

उद्घाटन खेल लन्डनस्थित दी ओभल क्रिकेट मैदानमा खेलिनेछ। विश्वकपका अधिकांश खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ।

सन् २०१५ मा अस्ट्रेलिया र न्युजिल्यान्डमा संयुक्त रूपमा आयोजित ११औं विश्वकपको फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई सात विकेटले हराउँदै उपाधि हात पारेको थियो।

यसपटक विश्वकपको पुरस्कार राशिमा पनि वृद्धि गरिएको छ। आईसीसीले यो विश्वकपमा नगद पुरस्कार लागि कुल १ करोड अमेरिकी डलर छुट्याएकाे छ। विजेता टोलीले ४० लाख अमेरिकी डलर नगद पुरस्कार हात पार्नेछ। उपविजेताले २० लाख डलर प्राप्त गर्नेछ भने सेमिफाइनलमा पराजित हुने दुई टोलीले १६/१६ लाख डलर पाउनेछन्।

यसका अतिरिक्त लिग चरणमा प्रत्येक खेल जितेबापत सहभागी टोलीले छुट्टै ४० हजार डलर पुरस्कार प्राप्त गर्नेछन्। सन् २०१५ को विश्वकपमा भने विजेतालाई ३७ लाख ५० हजार र उपविजेतालाई १७ लाख ५० हजार डलर पुरस्कार प्रदान गरिएको थियो।

प्रतियोगितामा टेस्ट मान्यता प्राप्त राष्ट्र वेस्ट इन्डिज, श्रीलंका, दक्षिण अफ्रिका, पाकिस्तान, न्युजिल्यान्ड, भारत, इङ्ल्यान्ड, बंगलादेश, अस्ट्रेलिया र अफगानिस्तानको सहभागिता रहेको छ।

Write your Comment