चितवन ।
कुञ्जना घिमिरे ‘सुन्तली’ले जतिबेला हातमा एक लाख एक हजार सहयोगको चेक बोकिरहेकी थिइन्, मोबाइलमा खबर पढिन् ,रंगशालाको बार मात्र भत्किएन, सुन्तलीको मन पनि भत्कियो । यो खबरले उनी निकै दुःखी भइन् ।
यो घटनापछि कुञ्जना र उनका श्रीमान सीताराम कट्टेल धुर्मुस–सुन्तली फाउण्डसेनले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । डोजर लगाएको आरोपमा प्रकाश कँडेलसहित १७ जना पक्राउ परेका छन् । नेकपाका नेता रहेका उनीहरुलाई पार्टीले समेत आन्तरिक कारवाही गरेको छ ।
उनीहरुलाई कानूनी कारबाही गरिने स्थानीय प्रशासनले प्रष्ट पारेको छ । तर, रंगशालाको विवाद साम्य हुने भन्दा झनै बढ्ने संकेत देखिएको छ ।
किन चल्यो डोजर ?
धुर्मुस सुन्तली फाउण्डेसनले देश–विदेशमा रहेका नेपालीहरुसँग चन्दा उठाएर भरतपुर महानगरपालिका वडा नम्बर १५ र १६ को सीमानामा रंगशाला बनाउँदैछ । रंगशालाको डीपीआर बन्ने क्रममा रहेकाले काम सुरु भइसकेको छैन । तर, फाउण्डेसनले साइड कार्यालय स्थापना गरेर जग्गा संरक्षणको काम थालेको छ ।
फाउण्डेसनले तीनतिर बार लगाएपछि यसअघि नै पश्चिमतर्फ स्थानीयले अवरोध गरेका थिए । कारण थियो बाटो । रंगशालाको पश्चिमतर्फ अहिले कतै ६ मीटर त कतै ७ मिटरको बाटो छ । बाटोको मुखमा केही घरहरु छन् । तर, भित्र खासै ठूलो बस्ती छैन ।
स्थानीयका अनुसार रंगशाला निर्माणसँगै यो बाटो ३१ मिटरको हुने सक्ने वडाध्यक्षले बताएका छन् । तर, भोलि रंगशाला बनिसकेपछि बाटो विस्तार गर्दा वस्ती उठ्ने त्रास छायो । त्यसैले उनीहरुले माग अघि सारे– विश्वविद्यालयको जग्गातर्फ नै बाटो बनाइयोस् ।
त्यसका लागि विश्वविद्यालय ज्ञापनपत्र बुझाउने, भरतपुर महानगरपालिका र वडा कार्यालयमा जाने र धुर्मुस सुन्तली फाउण्डेशनलाई दबाव दिने जस्ता काम स्थानीयले गरे । फाउण्डेशनले रंगशालाको जग्गा संरक्षण गर्न बार लगाउँदा नै बाटोका लागि जग्गा छोड्नुपर्ने स्थानीयले माग गरे ।
चोकमा घर भएका स्थानीय इन्द्रबहादुर बस्नेत भन्छन्, ‘जनताले रंगशाला नबनोस् भन्ने चाहेको छैन, हामी सहयोग गर्छाैं । तर, बाटो विस्तार नगरी सुख छैन । अहिले नै बाटो दिनुपर्छ भन्ने हाम्रो कुरा हो ।’
पछिल्लोपटक सीताराम कट्टेलल धुर्मस चितवन आएका बेला त्यहाँका स्थानीय टोल विकास संस्थाका अगुवाहरुको बैठक फाउण्डेशनकै कार्यालयमा बसेको थियो । बैठकमा ३० भन्दा बढी स्थानीय अगुवा सहभागी थिए ।
चार महिनादेखि उठेको बाटोको यही विवादका कारण जस्तापाताको बार लगाउन नपाउँदा सामानको सुरक्षामा चुनौती थपिएको सीताराम कट्टेलले स्थानीयसँग बताए । रंगशालाका लागिसमेत बाटो चाहिने भएकाले फाउण्डेशनको तर्फबाट सक्दो सहयोग गर्ने उनले बैठकमा बताएका थिए ।
तर, बाटोका लागि यति मिटर छाड्न सक्छु भनेर अहिल्यै निर्णय दिन नसक्ने कट्टेलको भनाइ थियो । रंगशालाको डीपीआर तयार भएपछि बाटोका लागि कति जग्गा छाड्ने भन्ने टुंगो लाग्ने बताएका थिए ।
रंगशालाको छेउसम्म करीव १० मिटर जमिन बाटोका लागि छाड्न सकिने गरी डीपीआर बनाउने काम भइरहेको जानकारी पनि कट्टेलले गराएका थिए । धुर्मसले बैठकमा भनेका थिए, ‘अहिले ७ मिटरको बाटो छ । हाम्रो साइडबाट कम्तिमा १० मिटर छाड्दा १७ मिटर हुन्छ, यहाँहरुले ३/४ मिटर छाड्नुभयो भने ३१ मिटर हुन्छ ।’
सो बैठकमा धुर्मुसले सामान सुरक्षाका लागि जस्ताको बार लगाउन दिन अनुरोध गरेका थिए । स्थानीयले जस्ताले बार्न दिने सहमति त दिए तर, त्यसका लागि दुई दिन समय मागे ।
स्थानीयले समय मागेपछि बैठकमा लिखित सहमति भएन । सोमबार दुई दिन कट्यो, थप केही कुरा भएन । त्यसपछि मंगलबार फाउण्डेशनले जस्ताले बार लगाउन थाल्यो । र, बुधबार प्रकाश कँडेलको नेतृत्वमा डोजर लगाएर बार भत्काइयो ।
तर, फाउण्डेशनले लगाएको मात्र होइन, कृषि तथा वनविज्ञान विश्वविद्यालयको तारबार र रुखसमेत ढलाइएको छ । विश्वविद्यालयका अनुसार करीव ५०१ सिमेन्टका पोल लडाइएको छ, जसमध्ये आधा जति फाउण्डेशनले निर्माण गर्न लागेको रंगशालाको क्षेत्रमा पर्छ भने आधा विश्वविद्यालयतिर ।
प्रकाश कँडेल सत्तारुढ नेकपाका स्थानीय नेतासमेत हुन् । उनकै अगुवाइमा डोजर लगाउनुलाई कतिपयले जग्गाको ब्यापारसँग जोडेर हेरे । यो बाटो ३१ मिटर भयो भने त्यस क्षेत्रको जग्गाको भाउ ह्वातै बढ्ने भएकाले अहिले रंगशाला बनेकै बेला उनीहरुले चलखेल गरेको कतिपयको आरोप छ ।
तर, स्थानीयबासी यो आरोप स्वीकार्न तयार छैनन् । उनीहरु यो माग कँडेल वा पक्राउ परेकाहरुको मात्र नभई सिंगो गाउँको भएको बताउँछन् । पटक पटक ध्यानाकर्षण गराउँदा पनि वेवास्ता भएकाले बाध्य भएर दुःखद कदम चाल्नु परेको उनीहरुको भनाइ छ । उनीहरुले पक्राउ परेकाहरुलाई रिहा गरी समस्या समाधान नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएका छन् ।
धुर्मस सुन्तली फाउण्डेशनले रंगशाला निर्माण तत्कालका लागि स्थगित गरेको छ । रंगशाला निर्माणमा असुरक्षा भएको र काम गर्ने वातावरण नभएकाले काम रोकिएको फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले बताएका छन् ।
स्थानीयबासी, राजनीतिक पार्टी र प्रशासनका तर्फबाट काम गर्ने वातावरण तयार भए काममा फर्किने उनले बताएका छन् ।
अबको बाटो के ?
यो विवादमा स्थानीयबासीलाई रंगशाला बनिसक्दा ३१ मिटर बाटोका लागि बस्ती नै छाड्नुपर्ने हो कि भन्ने मनको बाघले खाएको देखिन्छ । तर, उनीहरुले आफ्ना माग पूरा गर्ने नाममा देश विदेशमा बसेका नेपालीहरुले चन्दा दिएर हालिएको बारमा जोडर नै लगाएपछि यो घटना सर्वत्र आलोचनाको विषय बन्न पुगेको छ ।
यो घटनामा भरतपुर महानगरको पनि कमजोरी देखिन्छ । रंगशाला निर्माण सुरु भएसँगै देखिएको सडक विवादलाई समयमै प्रष्ट पार्न नसक्नु महानगरपालिकाको कमजोरी हो ।
अब स्थानीयका माग कति जायज छन्, कति सम्बोधन गर्न सकिन्छ भनेर महानगरले टुंगो नगर्दासम्म रंगशाला निर्माणको काम अघि बढ्न सक्ने देखिँदैन ।
यसमा मेयर रेनु दाहालले समन्वयका लागि प्रयास गरिरहेको प्रतिक्रिया दिएकी छिन् ।
यसका साथै धुर्मुस सुन्तलीले पनि आवेगमा आएर स्थानीयवासीलाई ‘देशद्रोही’ भन्दै वक्तव्यबाजी गर्दाखेरि परिस्थिति थप जटिल बनेको छ । त्यसरी आक्रोश पोख्नुको साटो फाउन्डेसनले बाटोबारे स्थानीय सरकारबाट निर्णय गराउने र स्थानीयबासीलाई विश्वासमा लिएर काम गर्नु नै हितकर हुने देखिन्छ ।
किनकि, स्थानीयबासीको साथ र सहयोग भएन भने रंगशाला निर्माणको सहज वातावरण बन्न सक्दैन । स्थानीयवासीले पनि आफूहरु रंगशाला निर्माणको विरोधी नभएको र सहयोग गर्न तयार रहेको बताउँदै आएका छन् ।
-onlinekhabar
Write your Comment