सुर्ती सेवनबाट नेपालमा प्रत्येक वर्ष २५ हजारको मृत्यु

विश्वमा बर्सेनि ७० लाख मानिसको मृत्यु हुने गरेको तथ्यांक

रातोघर

 २०७६ जेष्ठ १८, शनिबार  मा प्रकाशित
४१६ पाठक संख्या


सुर्ती सेवनबाट नेपालमा बर्सेनि २५ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति तथा योजना शाखाका प्रमुख डा. विकास देवकोटाले सुर्ती सेवनको असर डरलाग्दो बनिरहेको बताए ।  मन्त्रालयले शुक्रबार राजधानीमा आयोजना गरेको विश्व सुर्तीजन्य पदार्थरहित दिवस एवं स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार वितरण कार्यक्रममा डा. देवकोटाले यसलाई नियन्त्रण गर्न सबै जिम्मेवार हुनुपर्ने बताए । डा. देवकोटाले प्रत्येक वर्ष २५ हजार नेपालीले सुर्ती सेवनकै कारण ज्यान गुमाउनुपरेको बताए । त्यस क्रममा उनले सुर्ती सेवनका कारण विश्वमा प्रत्येक पाँच सेकेन्डमा एकजनाको मृत्यु हुने गरेको जानकारी दिए । सुर्ती सेवनबाट प्रत्येक वर्ष ७० लाख मानिसको मृत्यु हुने गरेको पनि उनले बताए ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले सुर्तीजन्य पदार्थको सेवन रोक्न सके मृत्युदर स्वतः घट्ने बताए । उनले गुड्खाको प्रयोग व्यापक मात्रामा बढेकाले यसलाई रोक्न पनि आग्रह गरे । ‘विश्वका ठूला सहरहरू गुड्खाकै कारणले फोहोर छन् । भारतमा त यसको खोलले ढल जाम भएको अवस्था छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘नेपालमा पनि गुड्खाको खोलले ढल जाम हुने अवस्था देखिएको छ ।’ सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रणसम्बन्धी कानुन बने पनि कार्यान्वयनमा आउन नसकेको अधिकारीहरूले बताएका छन् ।

नेपालमा ९० लाख अम्मली
स्वास्थ्य मन्त्रालयका कानुन उपसचिव पुष्करराज नेपालले सुर्ती सेवन गर्नेहरू गरिब परिवारका बढी भएको बताए । उनका अनुसार नेपालमा ४८ प्रतिशत पुरुष र १४ प्रतिशत महिलाले चुरोट सेवन गर्छन् । नेपालमा ९० लाख मानिसले चुरोट सेवन गर्छन् । नेपालका अनुसार यस क्षेत्रमा राज्यको लगानी वर्षमा एक अर्ब हुने गरेको छ । हुक्का सिसाको प्रयोग रोक्न पनि नेपालले आग्रह गरे । युवाको आकर्षण त्यसको प्रयोगमा बढ्दै गएकाले बारहरूमा प्रयोग गरिने हुक्का सिसा रोक्न माग गरे ।

चेतनाको अभावले  समस्या : स्वास्थ्यमन्त्री
उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले समाजमा चेतनाको कमीले समस्या बढ्दै गएको बताए । ‘संसारकै उत्कृष्ट कानुन बनेको छ, तर पालना कहीँबाट हुँदैन,’ चिकित्सक नै सुर्ती सेवनबाट रोग लाग्छ भन्छन्, तर दायाँबायाँ लागेपछि आफैँ सेवन गर्छन् । यस्तो संस्कारले अगाडि बढ्न दिँदैन,’ मन्त्री यादवले भने । समाज सचेत नहुँदासम्म यसको प्रयोग रोक्न नसकिने उनले बताए ।

सुर्ती सेवनविरुद्ध विद्यार्थीको -याली
भरतपुर÷ चितवनको बोस्टन इन्टरनेसनल कलेज र लिटिल स्टार बोर्डिङ स्कुलले शुक्रबार विश्व धूम्रपान तथा सुर्तीरहित दिवस मनाएका छन्  । धूम्रपानका कारण हुने क्षति न्यूनीकरण गर्न तथा सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण गर्न सन्देश दिने उद्देश्यले दिवस मनाएको लिटिल स्टारका व्यवस्थापन समितिका अध्यक्ष आनन्दबहादुर चन्दले बताए ।

दिवस मनाउने क्रममा विद्यार्थीले सुर्तीजन्य पदार्थ त्यागौँ, स्वस्थ र खुसीयाली जीवन बिताऔँ, धूम्रपानले निम्त्याउँछ प्राणघातक रोग, जसले दिन्छ परिवारमा दुःख र शोकजस्ता नारा लेखिएका प्लेकार्डसहित भरतपुरका विभिन्न क्षेत्रमा -याली निकालेको जानकारी दिए । ¥यालीमा लिटिल स्टारको स्काउट टिम पनि सहभागी थियो । विश्व स्वास्थ्य संगठनको आह्वानमा ३१ मेमा संसारभर यो दिवस मनाउने गरिन्छ ।

नयाँ पत्रिकालाई सम्मान
सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनमा जनस्वास्थ्यमा उल्लेख्य काम गरेको भन्दै नयाँ पत्रिका दैनिकलाई ५० हजार रुपैयाँ राशिसहित सम्मान गरिएको छ । त्यस्तै, गण्डकी प्रदेश, पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारी, गृह मन्त्रालयका रामकृष्ण सुवेदी, स्वास्थ्य पत्रकार मञ्च नेपाल, गोरखापत्र संस्थानका पत्रकार सरोज ढुंगेललाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

-nayapatrika

Write your Comment