माया भन्ने चिज यस्तै हो

रातोघर

 १८ जेष्ठ २०७६, शनिबार ०९:००  मा प्रकाशित
३२० पाठक संख्या



मिस टिन २०११ की विजेता हुन् अर्चना पन्थी। सानो बेलामा निकै लजालु स्वभावकी थिइन् उनी। थोरै साथी सर्कलमा बोल्ने, आफ्नै तालमा रमाउने खालकी। तर अहिले उनको स्वभाव बदलिएको छ। उनी राजसी गुरुकुलमा अभिनय सिकाउँछिन्।

म्युजिक भिडियोमा अभिनय गर्छिन्। सिरियल खेल्छिन्, नाटकमा दमदार भूमिका निर्वाह गर्छिन्। अभिनयकै लागि उनी संघर्ष गरिरहेकी छन्। एपीवान टेलिभिजनबाट प्रसारण हुने ‘माया भन्ने चिज यस्तै हो’ सिरियलमा उनले आश्विनी पात्रको चरित्र निर्वाह गरेकी थिइन्, जुन पात्रको भर्खरै मात्र ब्रेकअप भएको थियो।

मायामा धोका खाएकी युवतीको भूमिकामा अर्चना थिइन्। सिरियलमा उनले गरेको अभिनयले धेरैको मन जित्यो। रियल जिन्दगीमा पनि ब्रेकअपको अनुभव गरिसकेकी अर्चनालाई उक्त सिरियलको पात्र आफ्नै लागि बनेजस्तो लाग्थ्यो। आश्विनी कतै आफैं त होइन भन्ने लाग्थ्यो। आफंैले भोगेको अनुभवले पनि पात्रलाई न्याय गर्न सकेजस्तो लाग्थ्यो। कोहीसँग प्रेममा पर्नु भनेको पनि जिन्दगीको महत्त्‍वपूर्ण कुरा रहेछ भन्ने सिकिन् उनले।

भन्छिन्, ‘हुन त माया भन्ने चिज नै यस्तै होला, ऊ नै सबैथोक हो जस्तो लाग्ने। बिहान उठ्दा होस् या दिउँसो कतै साथीसँग हुँदा नै किन नहोस्, हरेक पल याद आइरहने। हरेक कुरा जानकारी गराइरहनुपर्ने। अजिबको अनुभव हुने रहेछ।’ लङ डिस्टिन्स रिलेसनसिपमा परेकी थिइन् उनी। बीचमा कुराकानी मिलेन। उनले काम गरेको, नाटक खेलेको मन पराएनन्। जब मायाभन्दा बढी शंका उत्पन्न हुन्छ नि, त्यहाँ प्रेम नरहने रहेछ। प्रेम गर्ने बेलै भएको थिएन जस्तो लाग्छ अहिले उनलाई। सहमतिमा टाढिए उनीहरू। हुन त युवाहरू कुन बेला प्रेममा पर्छन्, कति बेला टाढिन्छन् पत्तै हँुदैन। यस्तै भयो अर्चनाको जीवनमा पनि।

माया भन्ने चिज नै यस्तै होला, ऊ नै सबै थोक हो जस्तो लाग्ने। बिहान उठ्दा होस् या दिउँसो कतै साथीसँग हुँदा नै किन नहोस्, हरेक पल याद आइरहने।

केही वर्षको प्रेम अनुभवले परिपक्व बनाएको छ उनलाई। काममा खट्न उत्प्रेरणा मिलेको छ। अहिले उनको अभिनय मन पराउनेले फलो गरिरहन्छन्। तर उनलाई प्रेमका लागि समय छैन। भन्छिन्, ‘अबको केही समय करिअर निर्माणकै लागि।’ साथीसँग घुम्न जान उनलाई औेधी मन पर्छ। प्राकृतिक रूपमा हरियाली र सुन्दर शान्त ठाउँ उनको रोजाइमा पर्छ। फुर्सद हुनासाथ काठमाडांै नजिकका ठाउँ घुम्न गइरहन्छिन् उनी। क्याफेमा बसेर साथीसँग गफ गर्नु, किताब पढ्नु, त्यसमा पनि आख्यानमा घोत्लिनु उनको दिनचर्या हो। राम्रो दृष्य देखिने ठाउँमा जाने, लाइभ म्युजिक सुन्ने, साथीभाइसँग सपिङ जाने पनि उनको रुचिको विषय हो।

कसैले यो गर्न हुन्न, यो गर भनेर अर्डर गरेको उनलाई मन पर्दैन। युवाहरू हरेक पल सिक्न चाहन्छन्। भन्छिन्, ‘जानेरै मैले गल्ती गरेकी छु भने पनि त्यहाँ सिकाइ छ। पढेरभन्दा आफैंले गरेको कामबाट जिन्दगीमा बढी सिकिन्छ। त्यसैले चाहेको हरेक कुरा गर्न पाउनुपर्छ।’

मान्छेहरू ससाना कुरामा खुसी हुन्छन् तर आफूसँगै भएको खुसी नदेखेर ठूलो प्राप्तिका लागि दौडिरहने साथी पनि उनले देखेकी छन्। आफूलाई नै चिन्नु ठूलो खुसी हो भन्ने उनलाई लाग्छ। साथीहरू मिलेर कहिलेकाहीँ क्लब पनि गएकी छन् उनी। तर त्यहाँ रमाउन नै सकिनन्। आफू शान्त वातावरणमा नै रमाउन सक्ने रहेछु भन्ने थाहा पाइन्। डाँडापाखा, खोँच, पहरा, छहराका दृश्यले उनलाई ऊर्जा दिन्छ। भन्छिन्, ‘मान्छेको स्वभावअनुसार खुसी हुने चिज पनि फरक हुने रहेछ।’

साथीहरूले चुरोट तानेको देख्दा उनलाई पनि खान मन पथ्र्यो। तर हिम्मत गर्न सकेकी थिइनन्। सडक नाटकमा अभिनय गर्ने अभिनयकै सिलसिलामा एक सर्को तानिन्। उनलाई चुरोटको धुवाँ मन परेन, खसखस लागिरह्यो। पछि त चुरोटप्रति मन नै म¥यो। यस्तै छ उनको पहिलोपटक रक्सी पिउँदाको अनुभव पनि। फिल्म हेर्दा होस् या साथीसँग पार्टीमा जाँदा, रक्सी पिएर मन्दमन्द मातेका मानिस देख्दा आनन्द लाग्थ्यो उनलाई।

स्कुल पढ्दा उनका पाँचजना साथी थिए। घरमा कोही नभएको मौका पारी अर्चनाले पाँचैजना साथीलाई बोलाइन् र उनीहरूले रातभर बियर खाए। उनी सम्झन्छिन्, ‘खाइन्जेल त खुब मजा लाग्यो। कोही गफ गरेको ग¥यै गर्न थाले, कोही हाँसिरहने, तर म भने दुःखी भएर रोइरहेकी थिएँ रे। सम्झँदा नि बडो अजिब लाग्छ।’ अर्को दिन पाँचैजनालाई खुब गाह्रो भयो। टाउको दुखिरह्यो। ह्याङ भएको थियो। त्यसपछि कहिल्यै पनि ड्रिङ्स गर्न मन लागेन रे उनलाई।

घरमा झुटो बोलेर साथीसँग नगरकोट घुम्न गएको पल उनलाई अहिलेसम्मकै बेस्ट लाग्छ। अति रमाइलो भएको थियो। घरमा साथीको घरमा जन्मदिनको पार्टी छ भनेर नगरकोट गएका थिए उनीहरू। बीच बाटोमा ट्याक्सी बिग्रेर निकै हैरानी भयो। लिफ्ट मागेर अरूको कारमा छिरेका थिए उनीहरू। यस्तो बदमासी सम्झँदा अहिले पनि उनलाई हाँसो उठ्छ। लिफ्ट दिने मान्छे गलत भएको भए हामीलाई जहाँ पनि लैजान सक्थ्यो। भन्छिन्, ‘जिन्दगी यस्तै ससाना घटनाको अनुभव रहेछ। पैसा बढी चाहिँदा स्कुलको बिलमा धेरै लेखेर फोटोकपी गर्थे उनीहरू। जसरी पनि खुसी जो हुनु थियो।’

गुल्मीको धुर्कोटबस्तुमा जन्मिएकी अर्चनाले गत वर्ष मात्रै सेन्ट जेभियर्स कलेजबाट सोसियल वर्क विषयमा ब्याचलर्स सकाएकी हुन्। कलेज पढ्दै गर्दा ‘माधवी’ नाटकमा अभिनय गर्ने मौका पाइन्। उनलाई अभिनय गर्ने खासै रहर लागेको थिएन तर ड्रामा टिचरको जोडबलले ‘माधवी’ खेल्न तयार भइन्। उक्त नाटकमा गरेको अभिनयले उनलाई छुट्टै नाम दियो। आफूमा अभिनय क्षमता रहेछ भन्ने थाहा पाइन्। अहिले त अभिनयभन्दा बाहिरको संसार सोच्नै सक्दिनन्। त्यसपछि ‘ययाती’, ‘दयालु रूख’, ‘प्राइभेट इज पोलिटिकल’ जस्ता चर्चित नाटकमा पनि उनले अभिनय गरिन्।

‘लाटीको छोरो’ नाटकमा सहायक निर्देशक भएर काम गरिसकेकी छन्। यसले उनलाई नाटक निर्देशनको गहन जिम्मेवारीबारे बुझ्ने मौका दियो। विभिन्न सडक नाटकमा पनि अर्चनाको अभिनय देख्न सकिन्छ। अहिले उनी म्युजिक भिडियोमा पनि देखिन थालेकी छन्। सुसन श्रेष्ठको ‘तिम्रो र मेरो सम्बन्ध’, भरत सिटौलाको ‘सलल…’ बोलको गीतमा उनको अभिनय देख्न सकिन्छ।

Write your Comment