रवीन्द्र स्मृति प्रतिष्ठान गठन, सरकारले १ करोड दिने प्रधानमन्त्रीको घोषणा

रातोघर

 १८ जेष्ठ २०७६, शनिबार १७:१४  मा प्रकाशित
१७० पाठक संख्या



पोखरा ।

स्व. पर्यटनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा प्रतिष्ठान गठन भएको छ । रवीन्द्र पत्नी विद्या भट्टराईको अध्यक्षतामा रुवीन्द्र स्मृति प्रतिष्ठान गठन भएको हो ।

प्रतिष्ठानले युवा केन्द्रित कार्यक्रम गर्ने छ । अनुसन्धानलाई मुख्य भूमिका बनाउने र तीनै तहको सरकारसँग समन्वय गरेर कार्यक्रम ल्याउने प्रतिष्ठानको योजना छ । ‘युवालाई परिचालन गर्न सकेनौं भने समृद्धि प्राप्त हुँदैन,’ अध्यक्ष विद्याले भनिन्, ‘युवा केन्द्रित कार्यक्रम ल्याएर उद्यमशिलता विकासलाई प्रमुख कायभार बनाउने योजनामा छौं ।’

कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित भएर पर्यटनमन्त्री बनेका अधिकारीले देखेको सपना र हिँडेको बाटोलाई सँगै लिएर जाने काम प्रतिष्ठानले गर्ने विद्याले बताइन् । ‘कसैले कल्पना नगरेको, नसोचेको घटना घट्यो, अब त्यो पीडालाई कसरी सम्बोधन गर्ने भनेर लागि परेका छौं,’ विद्याले भनिन्, ‘समृद्ध नेपाली, सुखी नेपाली निर्माणको नारा लिएर हिँडेका रवीन्द्र अधिकारीको सपना, सोचलाई लिएर हिँड्ने काम प्रतिष्ठानले गर्ने छ । प्रधानमन्त्रीको उद्घोष पूरा गर्न लागिपरेका रवीन्द्रको योजनालाई अगाडि बढाउने छौं ।’

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानलाई सरकारको तर्फबाट एक करोड दिने घोषणा गरेका छन् । ‘यो प्रतिष्ठान राजनीतिक विभागमा प्रवेश गर्ने छैन । अरु प्रतिष्ठानमा जस्तो भाँडभैलो हुनबाट पनि जोगाउनु होला,’ प्रधानमन्त्री ओलीले भने, ‘प्रतिष्ठानलाई सुरुमा नेपाल सरकारका तर्फबबाट १ करोड रुपैयाँ दिने छौं ।’

onlinekhabar

Write your Comment