सन्दर्भः विश्व दूग्ध दिवस, भूलेर पनि दूधसँगै यी चिज नखानुहोस् !

रातोघर

 १८ जेष्ठ २०७६, शनिबार १८:१३  मा प्रकाशित
२९० पाठक संख्या



हरेक वर्ष जुन १ तारिख विश्व दूग्ध दिवस मनाइन्छ । नेपालमा पनि यो दिवस मनाइ रहँदा दूध सेवनबाट हुने फाइदा र दूधसँगै खान नहुने केही खाद्यवस्तुबारे जानकारी राखौँ । दूधलाई पौष्टिक आहारको रुपमा लिइन्छ । तर यसलाई मिलाएर खान नजाने स्वास्थ्यमा हानी पनि पुर्‍याउँछ । दूधको सेवन सही तरिकाबाट नहुँदा स्वास्थ्यमा हानी पनि पुग्न सक्छ ।

दूधसँगै भूलेर पनि माछा नखानु होला । माछाको प्रभाव गरम हुन्छ भने दूधको प्रभाव चिसो हुन्छ । यसैले दुवै खाद्यवस्तुलाई एक साथ खाएमा स्वास्थ्यलाई हानी गर्न सक्छ । यसले पेटमा ग्यास बढाउनुका साथै एलर्जी तथा छालासम्बन्धी समस्या हुन सक्छ ।

यसैगरी कागती वा अन्य अमिलो खानेकुरासँगै दूध पनि सेवन गर्नु हुँदैन । यदि तपाईंले कुनै अमिलो खानेकुरा खानु भएको छ भने त्यसको केही समयपछि मात्रै दूध पिउनु होला । दुवै खाद्यवस्तु एक साथ खाएमा तपाईंमा एसिडिटीको समस्या देखिन सक्छ ।
यस्तै, दूधसँगै नुनिलो खाद्यवस्तु पनि नखानु उचित हुन्छ । नुनिलो चिप्स, दालमोठलगायतका खाद्यवस्तु दूधसँग खाएको खण्डमा छालासँग सम्बन्धित समस्या देखिन सक्छ । नूनका कारण दूधमा रहेको प्रोटिनको गुण घट्न जान्छ ।

यसैगरी, प्याज र खुर्सानी पनि दूधसँग खानु स्वास्थ्यका लागि हानी हुनेछ । दूध र प्याज एकसाथ खाएमा दाद, छाला चिलाउने जस्ता समस्या देखिन्छ । दूध र खुर्सानी पनि सँगै खाएमा पेटमा समस्या हुनुका साथै एसिडिटी तथा बान्ता हुन सक्ने सम्भावना बढी हुन्छ ।

-एजेन्सी

Write your Comment