संघीयताको सफल कार्यान्वयन प्रदेश २ बाटै सुरू हुन्छ: मन्त्री बाँस्कोटा

रातोघर

 १८ जेष्ठ २०७६, शनिबार १८:५०  मा प्रकाशित
१६७ पाठक संख्या


बर्दिवास ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विकासको नयाँ मोडल प्रदेश नम्बर २ बाट शुरु हुने बताएका छन्।

महोत्तरीको  बर्दिवासमा शनिबार रेडियो नेपालको प्रदेश नम्बर २ को प्रादेशिक प्रसारण सेवा शुभारम्भ तथा भवन शिलान्यास गर्दै उनले संघीय सरकारले प्रदेश नम्बर २ लाई उच्चतम महत्वमा राखेर जनताले अनुभूति गर्ने गरी काम अघि बढाउने बताए।

संघीय सरकारले थालेका प्रयत्नमा प्रदेश सरकार र स्थानीय सरकारको सहयोगी भूमिका हुने मन्त्री बाँस्कोटाको भनाइ थियो। तीनै तहका सरकारको समन्वयमा गरिने काम चाँडै परिणाममुखी हुने उनले बताए। मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र शासन पद्धतिको नयाँ अभ्यास थालिएको र यो पद्धतिको सफल कार्यान्वयनमा प्रदेश–२ को अगुवाइमा हुने उनले जिकिर गरे।

“संघीयताको आवाज विगत आन्दोलनमा यही (प्रदेश–२) बाट उठेको हो”, मन्त्री बाँस्कोटाले भने,“अब यसलाई संस्थागत गर्ने र आम नेपालीको जीवनपद्धतिमा यसलाई ढाल्ने दायित्व पनि यसै प्रदेशले गर्नेछ।” संघीय सरकारले आफ्ना सारा प्रयत्न जनतालाई परिवर्तनको अनुभूति गराउनमा केन्द्रित गरेको उनको भनाइ थियो।

-kathmandu press

Write your Comment