वृद्ध भत्ता बढेपछि ज्येष्ठ नागरिकमा खुशीयाली

रातोघर

 १८ जेष्ठ २०७६, शनिबार १९:०६  मा प्रकाशित
४५९ पाठक संख्या


सरकारले ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता बढाएपछि यस क्षेत्रका ज्येष्ठ नागरिकमा खुशीयाली छाएको छ ।

आर्थिक वर्ष २०७६l०७७ को बजेटमार्फत ज्येष्ठ नागरिक, एकल महिला, दलित ज्येष्ठ नागरिक, असहाय, अपाङ्गता भएका नागरिकलाई मध्यनजर गर्दै भत्ता वृद्धि गरेपछि उनीहरुमा उत्साह छाएको हो ।

यसभन्दा अगाडि बुझ्दै आएको रकममा उनीहरुको रु एक हजार भत्ता वृद्धि भएको छ । सरकारले भत्ता वृद्धि गरेको सुनेपछि पाल्पा रामपुर नगरपालिका वडा नं ५ बस्ने ९८ वर्षीय नरहरि उपाध्यायले खुशी व्यक्त गरे ।

उनले दुई हजार भत्ता बुझ्ने गरेकोमा अब एक हजार थप भई तीन हजार बुझ्न पाइने भएपछि खुशी लागेको बताए । “हामी जस्ता काम गर्न नसक्ने अशक्त ज्येष्ठ नागरिकलाई सरकारले हेरेर भत्ता बढाएको छ, अरुसँग माग्न परेको छैन, असाध्यै खुशी लागेको छ”, उनले भने ।

उनकी श्रीमती ८८ वर्षीय हरिकला उपाध्यायले पनि ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता बुझ्दै आएकी छन् । “श्रीमान् श्रीमतीले मासिक दुईlदुई हजारका दरले चार हजार भत्ता पाइरहेका थियौँ, अहिले एक हजार बढेको छ रे, अब तीनlतीन हजार गरेर छ हजार घरमै बसी बसी आउनेभो, बुढेसकालको दैनिकी चलाउन सजिलो हुने भो”, उपाध्यायले भने ।

भत्ता बुझेको रकमबाट घर खर्च चलाउन सजिलो परेको छ । सरकारले भत्ता दिन थालेपछि छोरा बुहारीसँग दुई चार पैसाका लागि हात फैलाउन नपरेको उनले सुनाए । उनहरु जस्ता धेरै ज्येष्ठ नागरिकमा अहिले भत्ता वृद्धि भएसँगै उमङ्ग छाएको छ । धेरैले यही सामाजिक सुरक्षा भत्तामार्फत साझ बिहानको जोहो गर्दै आइरहेका छन् । गरीब, असहाय, दलित ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताले जीवनयापन गर्न ठूलो सहयोग पुगेको उनीहरुको अनुभव छ ।

श्रीमानको मृत्युपछि एकल जीवन बिताउदै आएकी रामपुर नगरपालिका ५ बस्ने ५८ वर्षीय टिकाकुमारी दर्जीले भत्ता बढेपछि खुशी व्यक्त गरीन् । “एकल महिला भत्ताबापत मासिक एक हजार बुझेकोमा हजार बढेर दुई हजार भयो भन्ने सुनेको छु, भत्ता बुझेर नुन, तेल घरायसी सामान्य खर्च चलाउँदै आएको छु”, दर्जीले भनिन् । उनले भत्ता बुझ्न थालेको तीन वर्ष भयो । भत्ता बुझ्न थालेपछि अरुसङ्ग दुई चार पैसाका लागि हात फैलाउनु नपरेको उनको भनाइ थियो ।

सरकारले गएको जेठ १५ गते आव २०७६l७७ को बजेटमार्फत वृद्धभत्ता तीन हजार र एकल महिलाको मासिक रु दुई हजार पुर्‍याएको छ । यसअघि वृद्धभत्ता मासिक दुई हजार र एकल महिलालाई एक हजार रुपैयाँ भत्ता दिइँदै आएको थियो । त्यस्तै अशक्त, अपाङ्गता भएका, एकल महिला, लोपोन्मुख आदिवासी र जनजाति समेतलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षा भत्ता पनि एक हजार बढाइएको छ ।

यस्तै ६० वर्ष उमेर पुगेका दलित, कर्णालीका ज्येष्ठ नागरिक एवं पूर्ण तथा आंशिक अपाङ्गता भएका नागरिक उक्त सामाजिक सुरक्षा भत्तामा समेटिने छन् । यसबाट करीब १३ लाख ज्येष्ठ नागरिक प्रत्यक्ष लाभान्वित हुने अनुमान गरिएको छ ।

त्यस्तै अति अशक्त, अपाङ्ता भएका, एकल महिला, लोपोन्मुख आदिवासी जनजाति समेतलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षा भत्तामा मासिक रु एक हजार वृद्धि गरिएको छ । सामाजिक सुरक्षा कार्यक्रमका लागि कूल रु ६४ अर्ब ५० करोड विनियोजन गरिएको छ । यसबाट राज्यको संरक्षण आवश्यक पर्ने करीब नौ लाख व्यक्तिको जीवनयापनमा सहजता आउने अपेक्षा गरिएको छ ।

सरकारले गरीबीको रेखामुनि रहेका परिवार र ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने कार्यक्रमलाई अघि बढाएको छ । सत्तरी वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिकको एक लाखसम्म बीमा रकमको स्वास्थ्य बीमा शुल्क सरकारले ब्यहोर्ने व्यवस्थालाई निरन्तरता दिएर स्वास्थ्य बीमा सेवाको दायरा बढाउन अन्य परिवारमा पनि बीमा रकम दोब्बर गरी एक लाख पुर्‍याउने भएको छ ।

-rasasa

Write your Comment